राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’: कम्पनीले नै ट्याक्सी किनेर चालकलाई दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 05:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने राइड सेयरिङ एप्स ‘ई–ड्राइभ नेपाल’ बजारमा आएको छ । कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई किस्ताबन्दीमा उपलब्ध गराउने गरी अनलाइन प्लेटफर्म ई–ड्राइभ नेपालले बिहिबारबाट औपचारिक रुपमा ई–ड्राइभ नेपाल नामक एप्सबाट सेवा आरम्भ गर्ने भएको हो ।

कम्पनीले इलेक्ट्रिक ट्याक्सी मात्रै चलाउने छ । यसका लागि पहिलो चरणमा ४० वटा ट्याक्सीमार्फत सेवा दिइने कम्पनीका अध्यक्ष राजेश मास्केले जानकारी दिए । यसका लागि कम्पनीले सिप्रदी ट्रेडिङमार्फत ‘एक्सप्रेस–टी’ मोडलका २० वटा ट्याक्सी कम्पनीले लिइसकेको छ । यीमध्ये ६ वटा ट्याक्सी चालकहरुलाई दिइसकिएको छ भने २ वटा बिहिबार दिइनेछ । बाँकी १० वटा पनि चालकले अर्डर गरिसकेको अध्यक्ष मास्केले जानकारी दिए । 

अध्यक्ष मास्केका अनुसार बजारमा ३७ लाख मूल्य पर्ने इलेक्ट्रिक ट्याक्सी, तिनमा नम्बर प्लेट राख्न २० वर्ष पूराना ट्याक्सीको नम्बर प्लेट लिन ५ लाख र बीमा तथा अन्य शुल्कसहित थप १ लाख गरी एउटा ट्याक्सीको मूल्य ४३ लाख पर्छ । यो मूल्य तिरेर कम्पनी आफैँले ट्याक्सी किनेर चालकलाई उपलब्ध गराउनेछ । यसरी ट्याक्सी लिन चाहने चालकले सुरुमा ७ लाख रुपैयाँ तिर्नुपर्छ । महिला चालक भएमा ५ लाख मात्रै तिरे पुग्छ । यसपछि मासिक ७० हजार रुपैयाँको हाराहारीका दरले किस्ता बुझाउनुपर्छ ।

‘चालकले आफैँ बजारबाट इलेक्ट्रिक ट्याक्सी किन्दा सुरुमा डाउनपेमेन्ट नै १४/१५ लाख गर्नुपर्दो रहेछ, तर हाम्रो कम्पनीले गाडी किनेर मासिक किस्ताबन्दी बुझाउने गरी चालकलाई दिन्छ, यसरी हामीमार्फत गाडी लिँदा चालकले सुरुमा ७ लाख रुपैयाँ बुझाउनुपर्छ, महिला चालक भए ५ लाख मात्रै बुझाए हुन्छ’ अध्यक्ष मास्केले बिजपाटीसँग भने, ‘यसपछि चालकले मासिक किस्ताबन्दी बुझाएर गाडी आफ्नो बनाउन सक्नुहुन्छ । हाम्रो हिसाबमा चालकले मासिक ७० हजारको हाराहारीमा किस्ता बुझाउनुपर्छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सविन भट्टराईका अनुसार दैनिक १५० किलोमिटर ट्याक्सी गुडाउँदा जम्मा २ सय रुपैयाँ मात्रै खर्च हुन्छ । अहिले कम्पनीले कुनै कमिशनबापत शुल्क पनि लिँदैन ।

साथै, कम्पनीले आफ्ना ट्याक्सी चार्ज गर्न काठमाडौँका दुइ ठाउँ सीतापाइला र एकान्तकुनामा चार्जिङ स्टेशन पनि बनाएको छ । सीईओ भट्टराईले काठमाडौँमा मात्रै १० स्थानमा डीसी फास्ट चार्जरसहितको चार्जिङ स्टेशन बनाउने लक्ष्यमा कम्पनी रहेको बताएका छन् । 

साथै, कम्पनीले चालक र सेवाग्राहीको छुट्टै ७ लाखको बीमा पनि गराएको छ । कम्पनीले गत वर्षको असोजबाट एप्स बनाउन थालेको बताएको छ । एक वर्ष लगाएर नेपाली सफ्टवेयर इन्जिनियरबाट एप्स बनाइएको अध्यक्ष मास्के बताउँछन् ।

अहिले कम्पनीले ५ करोड लगानी गरिसकेको छ । सेवा आरम्भसँगै अन्य काम सक्दा चुक्ता पूँजी १५ करोड पुग्ने बताइएको छ । भविष्यमा कम्पनी आफैँ ‘सस्टेन’ हुने मोडलमा लैजान कम्पनीलाई पब्लिक लिमिटेड कम्पनी बनाउने लक्ष्यमा पनि सञ्चालकहरु देखिएका छन् ।

‘हाम्रो कम्पनीको नाम ई–ड्राइभ नेपाल कम्पनी प्रा.लि. हो, हाम्रो लक्ष्य भनेको नेपालमा वातावरणमैत्री इलेक्ट्रिक सवारी साधनको प्रोत्साहन गर्ने र यसलाई आफैँ सस्टेन गराउने हो’ सीईओ भट्टराईले थपे, ‘भविष्यमा हामी पब्लिक कम्पनी मोडलमा जान्छौँ र सर्वसाधारणलाई समेत सेयर जारी गर्छौँ ।’

कम्पनीका सञ्चालक शन्तोष अर्यालका अनुसार पहिलो चरणमा काठमाडौँभित्र (बनेपासम्म) इलेक्ट्रिक ट्याक्सीमार्फत सेवा दिइने र निकट भविष्यमा चार्जिङ स्टेशन लगायतका आवश्यक पूर्वाधार बनाउँदै देशब्यापी सेवा विस्तारको योजनामा कम्पनी छ । 

‘क्लिन सिटी र ग्रिन सिटीको कन्सेप्टमा हामी काम गर्न चाहिरेका छौँ’, उनले भने, ‘साथै, नेपालले इन्धनको आयातमार्फत ब्यहोरिरहेको ब्यापार घाटा केही मात्रामा भएपनि कम गर्न सकिने हामीले हिसाब नै गरेका छौँ ।’

अध्यक्ष मास्केका अनुसार काठमाडौँमा अहिले १६ हजार ट्याक्सी दर्ता छन् । यीमध्ये १२ हजार ट्याक्सी मात्रै दैनिक १५० किलोमिटरका दरले गुड्दा हरेक दिन ३ करोड ६ लाख रुपैयाँको पेट्रोल  खपत हुने उनको भनाई छ ।

‘यो एक दिनको तथ्यांक हो, हाम्रो ब्यापार घाटाको प्रमुख कारण नै डिजेल पेट्रोलको आयात हो’ अध्यक्ष मास्के भन्छन्, ‘आफ्नै देशमा प्रशस्त बिजुली छ, यसको खपत बढाउनुपर्छ भनेर हामीले ई ड्राइभ सुरु गरेका हौँ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved