सरकारी खर्च जुटाउन आफ्नै विमान बेच्ने राष्ट्रपतिको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 12:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफूले प्रयोग गर्दै आएको विमान बेच्ने घोषणा गरेका छन् । उनले उक्त विमान बेचेर त्यसबाट आउने नाफा गैरकानुनी आप्रवासन नियन्त्रणमा खर्च गर्ने घोषणा गरेका हुन् । 

अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सहमति गरेको छ । वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडोरले विमान बिक्रीबाट उठ्ने रकम गरिब जनतालाई सहयोग गर्न उपयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनी चढ्दै आएको बोइङ ड्रीमलाइनर ७८७ विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ । सन् २०१८ मा राष्ट्रपतीय निर्वाचन अभियानमा ओब्राडोरले उक्त विमान बेच्ने प्रतिबद्धता जनाएका थिए । झन्डै २२ करोड अमेरिकी डलर तिरेर मेक्सिकोले सन् २०१६ मा उक्त विमान किनेको थियो ।

ओब्राडोरले राष्ट्रपतिको पदभार ग्रहण गर्दा आफू सार्वजनिक विमान चढ्ने घोषणा गरेका थिए । सात महिनादेखि बिक्रीमा राखिएको विमान हाल क्यालिफोर्नियामा छ । यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिक्पटर पनि बिक्री गर्न खोजिरहेको छ ।

मेक्सिकोका नागरिकहरूले भने सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध गरेका छन् । जनताको करबाट किनेको विमान बेचेर अन्य देशका आप्रवासीहरूमा खर्च गर्ने घोषणाको आलोचना गरेका छन् । 

अन्य केही प्रयोगकर्ताहरूले भने छ महिनामा खरिदकर्ता नभेटेको विमानले ४५ दिनमा भेट्ने सम्भावना न्यून रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । मेक्सिकोले ४५ दिनभित्र अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्ने सहमति अमेरिकासँग गरेको छ ।

(बिबिसी) 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved