ब्याजदरमा निक्षेपकर्तालाई फाइदा ऋणीलाई राहत, बैंकको आम्दानी प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 06:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अघिल्लो आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकहरुले निक्षेपमा दिने ब्याजको दरमा सामान्य वृद्धि देखिएको छ। यसले बैंक वित्तीय संस्थाको लागत बढ्ने भएपनि निक्षेपकर्तालाई भने फाइदा देखिएको छ। गत आर्थिक बर्षको तुलनामा ६।४ प्रतिशत रहेको निक्षेपको ब्याजदर अहिले ६।७७ प्रतिशत पुगेको छ। 

अर्को तर्फ कर्जाको ब्याजदर घटेको छ। यसले ऋणीहरुलाई केहि राहत देखिएको छ भने बैंकहरुको आम्दानीमा संकुचन आउने देखिन्छ। नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तरमा कडाइ गरेसंगै बैंकहरुको नाफा प्रभावित हुन पुगेको हो। यस अवधिमा कर्जाको औषत ब्याजदर १२।४७ प्रतिशतबाट १२।०८ प्रतिशतमा झरेको छ।

चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप घट्दा पनि कर्जा भने बढाएका छन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन मसान्तसम्मको तथ्याङक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले घटेको छ भने नीजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.५ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले नै कमि आउँदा कर्जा प्रवाह भने ०.७ प्रतिशतले बढाएका छन् । वार्षिक विन्दुगत आधारमा भने निक्षेप १७.९ प्रतिशत र नीजी क्षेत्रको कर्जा  १९.२ प्रतिशतले वृद्धि भएको छ । 

बैंकहरुले संकलन गरेको कुल निक्षेपमध्ये संस्थागत निक्षेप ४५.२ प्रतिशत रहेको छ । कुल निक्षेमा मुद्धति निक्षेप ४८ प्रतिशत, बचत ३२ प्रतिशत, चल्ती ७.९ र कल तथा अन्य ११.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुमा मुद्धति निक्षेप ४६.४ प्रतिशत, बचत ३४.५ प्रतिशत, चल्ति ७.८ र कल तथा अन्य निक्षेपको अंश ११.३ प्रतिशत रहेको थियो । 

कर्जा तर्फ कृषि कर्जा चालु आर्थिक वर्षको पहिलो महिनामा ०.२ प्रतिशतले वृद्धि भएर १ खर्ब ९३ अर्ब ७६ करोड पुगेको छ । आवधिक कर्जा २.३, ट्रष्ट रिसिट (आयात) कर्जा ५.१, हायर पर्चेज कर्जा १.४ र रियल स्टेट कर्जा १ प्रतिशले वृद्धि भई क्रमशः ५ खर्ब ७५ अर्ब ५८ करोड, १ खर्ब ३३ अर्ब ७४ करोड, १ खर्ब ८३ अर्ब ४१ करोड, १ खर्ब ४७ अर्ब २० करोड पुगेको छ ।  

आवासीय घर कर्जामा भने कुनै परिवर्तन भएको छैन । घर कर्जा २ खर्ब ३७ अर्ब ९३ करोड रहेको छ । ओभरड्राफ्ट कर्जा भने १.९ प्रतिशतले घटेर ४ खर्ब ४७ अर्ब २३ करोड,  डिमान्ड तथा चालु पूँजी कर्जा ०.३ ले घटेर ६ खर्ब १३ अर्ब ८० करोड, मार्जिन प्रकृति कर्जा १.१ प्रतिशतले घटेर ४५ अर्ब ४१ करोड र विपन्न वर्ग कर्जा ०.१ प्रतिशतले घटेर १ खर्ब ७७ अर्ब १३ करोड कायम भएको छ ।

गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा यो वर्ष बैंकहरुको अधार ब्याजदर पनि घटेको छ । गत वर्ष १०.१२ प्रतिशत रहेको बैंकहरुको आधार ब्याजदर चालु आर्थिक वर्षको साउन मसान्त सम्ममा घटेर ९.४५ प्रतिशत कायम भएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved