Announcement IPO Result Cricket Worldcup



निरोज कुमार थापा     Mar 07, 2019 | 10:05:59 AM



shivam cement

आन्दोलनका स्वरुपहरु धेरै हुन्छन् । शान्तिपूर्ण, शसस्त्र, सत्याग्रह यी सबै आन्दोलनका प्रकार हुन् । यी बाहेक पनि आन्दोलन गर्ने धेरै तरिका छन् । नेपालमा आन्दोलन सस्तो र मर्यादा प्रतिकुल बनेको छ । धेरै संगठनहरु आफ्ना माग राखेर कहिले सडक बन्द गराउँदै, कहिले जिन्दावाद मुर्दावादको नारा घन्काउँदै आन्दोलन गर्छन् । गत भदौ १ गतेबाट लागु भएको नयाँ मुलुकी ऐनको विरोधमा कहिले डाक्टर त कहिले पत्रकार  सडकमा ओर्लिए । उनीहरुको मागको अन्तिम रुप एउटै हो ‘हामीले गल्ती गरेपनि कारबाही हुनुहुँदैन ।’

यस्ता कानुन र नियम विरोधी नारा र माग राखेर दुई/चार शब्द चिच्याउनुलाई सडक संघर्षको रुप दिईनु दुखद हो । जो कोही पनि कानुन र नियमद्धारा अधिनस्थ हुन्छ नै । हामीलाई चाँही कानुन लाग्नु हुँदैन, हामीले जे गर्दा पनि छुट दिईनुपर्छ, हामीलाई जे लेख्न पनि छुट हुनुपर्छ भन्ने संकोचित मानसिकताको धरातलबाट उब्जेका दिवा सपनाहरुलाई आफ्नो मुद्दा बनाउने संगठनहरुप्रति सहानुभूति बाहेक केही देखाउन सकिदैन ।

चिकित्सकहरु बिरामी जाँच्न छाडेर र पत्रकारहरु समाचार लेख्न छोडर सडकमा आए। त्यसपछि अहिले पालो आएको छ शिक्षकहरुको। अहिले दुई प्रकारका शिक्षकहरु आन्दोलित छन। राहत तथा बालविकास शिक्षकहरु परिक्षामा सामेल नभई सिधै स्थायी हुनुपर्ने माग राखेर आन्दोलित छन भने अर्को 'अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपाल' समुहका शिक्षकहरु २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने भन्दै आन्दोलित छन। 

दुवै शिक्षक समुहले आफ्नो माग पुरा नभएको नभन्दै अहिले सडक तताईरहेका छन भने सामुदायिक बिद्यालय बन्द गर्नेदेखि लिएर नजिकिदै गरेको बार्षिक परिक्षा र एसईई परिक्षा अवरोध गर्ने चेतावनी दिएका छन। 

भनिन्छ, एउटा डाक्टरको गल्तिले एउटा बिरामीलाई मात्र असर पर्छ भने एउटा शिक्षकको गल्तिले एउटा पुस्तालाइ नै असर पार्छ। यसले पनि शिक्षकहरुको महत्त्व र जिम्मेवारी झल्काउछ। तथापि यति ठूलो सम्मान पाएको र समाजको ऐना मानिने शिक्षक समुदाय यतिसम्म कमजोर देखिएर आफूलाई स्वतः स्थायी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्नु लज्जास्पद विषय हो । 

देशभर करिब ४० हजार अस्थायी शिक्षक छन् । संघिय शिक्षा ऐन जारी हुने अन्तिम चरणमा छ । प्रस्तावित शिक्षा ऐनमा ८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाद्धारा पदपूर्ती गर्ने प्रावधान छ । तर ऐन जारी हुने अन्तिम तयारीमा रहेको अवस्थामा ऐन विपरीत नै आन्दोलन हुनुलाई स्वीकार्न सकिँदैन । 

हिजो जागिर नपाउँदा पाए जे पनि काम गर्थे भन्ने यी शिक्षकहरुलाई नियुक्तिको बेलामा नै ‘तिमी जति बेला पनि निकालिन सक्छौ, हामीले पढाउ भनुन्जेल पढाउ, पढाउन छोड भनेको दिन घर जाउ’ भनेका थिए। तर त्यतिबेला नै यति स्पष्ट कुरा भनेपछि मेरो जागिर खुकुरीको धारमा छ, जतिबेला पनि रेटिन सक्छ भन्ने हेक्का राखेर अन्य कुनै वैकल्पिक तयारी गर्नुपर्ने थियो । 

अस्थायी शिक्षकहरु आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढ्न पठाएर आफू सामुदायीक विद्यालयको ताला बन्द गरेर आन्दोलनमा आउँदा समस्यामा पर्ने भनेको गरिब नागरिकको त्यही बबुरो नै हो । मागलाई सम्बोधन गर्ने मामिलामा गलत नजिर स्थापीत नहोस् । सरकारलाई सुझाव । 

आन्देलन भन्दै गर्दा कुनै समय जापानमा सवारी व्यवसायीले आफूहरुको व्यवसाय धाराशायी बनेको भन्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरे । भाडादर वृद्धिको माग राखेर गरिएको आन्दोलनको स्वरुप निकै पृथक थियो । उनीहरुले एक दिन पूरै सित्तैमा मानिसलाई सेवा दिएर आन्दोलन गरे ।

हो, पछिल्लो समय आन्दोलनको शैलीलाई हेर्ने हो भने बुद्दिजिबि बर्गमा पारिएका शिक्षक, डाक्टर पत्रकार र बिद्यार्थीभन्दा श्रमजीबी मानिने ट्याक्सी व्यवसायी बढी मर्यादित र अनुशाशित देखिन्छन। 

ट्याक्सी व्यवसायीहरुको पनि राम्रा नराम्रा कुराहरु छन। तर उनीहरुले पछिल्लो समय देखाएको बिरोधको शैलीले धेरैको मन छोएको छ। ट्याक्सी चालकहरुको पनि आफ्नै पिडा छ। २०७५ सालको मुल्यमा बस्तु तथा सेवा किनिरहेका छन भने सेवा दिंदा २०६९ सालको मुल्यमा दिईरहेका छन। यो पक्कैपनि ट्याक्सी व्यवसायीहरुप्रति राज्यको विभेद नै हो। त्यहि पनि ट्याक्सी चालकहरु हामीलाई अन्याय भयो अत्याचार भयो भनेर माइतीघर घेर्ने, सडक जाम गर्ने, प्रहरीसंग मुडभेड गर्ने, नाराबाजी गर्ने, टायर बाल्ने जस्ता अपाच्य काम गरेका छैनन।

कतिसम्म छ भने बिरोधका नाममा शिक्षकले बिद्यालय बन्द गर्ने, बिद्यार्थीले पनि बिद्यालय बन्द गरेर सडकमा टायर बाल्ने, डाक्टरले अस्पताल बन्द गर्ने, पत्रकारले लेख्न छाडेर कुनै पार्टी इतरका स्वार्थ बोकेर सडकमा आन्दोलित हुने जस्ता कामहरु भैरहेका छन।  

बरु सबैको ध्यान तान्नेगरि आफुले चलाउने ट्याक्सीको अघिपछि आफ्नो माग र आफ्नो पिडालाई ब्यानर बनाएर टाँसेका छन। जसले गर्दा उनीहरुको माग के हो पिडा के हो भन्ने कुरा आम मानिसलाई जान्न सहज भएको छ भने उनीहरुको आफ्नो बिरोधपनि निरन्तर चलेको छ। असन्तुष्टि पोख्दा अरुको अधिकारको पनि हेक्का हुनुपर्छ भन्ने कुरा बुद्धिजीबी बर्गले भन्दा श्रमजीबी भनेर चिनाइएका ट्याक्सी व्यवसायीहरुले राम्रोसंग बुझेको भान हुन्छ।   

आन्दोलनका यस्ता निकै सहज उपाय हुदाहुँदै पनि सडकमा टायर बाल्ने, आवतजावत नै प्रभावित हुने गरी नारा जुलुस लगाउने परिपाटी कत्तिपनि उपर्युक्त होईन । समाजको शिक्षित र दिग्गज मानिने चिकित्सक, शिक्षक पत्रकार र विद्यार्थी नेताहरुले सामान्य ट्याक्सी ड्राइभरबाट आन्दोलनको स्वरुप सिक्ने कि ?

Share your thoughts!

निरोज कुमार थापा

Reporter









Close in 7