दोलखाको भीमेश्वर मन्दिरको शीलामा आज बिहिबार पसिना आएको छ । शीलामा पसिना आएको आज १७ औँ पटक हो । बिहीबार बिहान ६ः३० बजेदेखि भीमेश्वरको शीलामा पसिना आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।
पसिना आउँदा के गरिन्छ ?
दोलखा भीमेश्वरलाई ‘पसिना’ आउँदा मूलुकको उच्च पदमा आशिन व्यक्तिलाई अशुभ हुन्छ भन्ने मान्यता छ । भीमेश्वरको शीलामा पसिना आउँदा मूलुकमा अनिष्ट, अशुभ हुन्छ भन्ने मान्यता छ ।
शीलामा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने चलन छ । राष्ट्रपतिको व्यवस्था हुनुपूर्व राजाले क्षमा पूजा गर्ने चलन थियो । अहिले राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन छ । यसअघि पनि पटक पटक पसिना आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजाको समग्री पठाएकी थिइन् ।
त्यसअघि डा. रामवरण यादव राष्ट्रपति हुँदा पनि पसिना आएको थियो । त्यतिबेला पनि राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले क्षमा पूजा गर्न पूजा समग्री पठाएका थिए ।
कसरी आउँछ पसिना ?
शीलाको टुप्पामा पानीको थोपा देखिनुलाई भीमेश्वरलाई पसिना आएको भन्ने गरिन्छ । पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार शीलाको टुप्पामा देखिएको पानी बगिरहेको छ । यसैलाई पसिना आएको भन्ने गरिन्छ ।
क्षमा पूजा नगरेसम्म शीलामा आएको पसिना रोकिँदैन । शीलामा पसिना आएपछि अहिले दर्शनार्थी एवम् भक्तजनको घुईचो लागेको छ ।
यसअघि कहिले कहिले आएका थियो पसिना ?
यसअघि पनि विभिन्न समयमा दोलखा भीमेश्वरलाई पसिना आएको थियो । त्यस समयमा मूलुकले निकै ठूलो क्षति समेत ब्यहोरेको इतिहास छ ।
राजा वीरेन्द्रको वंशनाश हुनुअघि २०५९ सालमा पनि भीमेश्वरको शीलामा पसिना आएको थियो । त्यससँगै २०६२/०६३ सालको जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा वहाल रहेकै अवस्थामा गतवर्ष रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुनुपूर्व पनि पसिना आएको चर्चा थियो ।
भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयले क्षमा पूजाको सामग्री पठाउने तयारी गरेको छ ।