कोरोनाको उपचारमा रेमडिसिभर औषधि कसरी पाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 02:58:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभर औषधिको क्लिनिकल ट्रायल सकिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना संक्रमितको उपचार भईरहेका अस्पतालमा गरेको परीक्षणका विभिन्न चरणको रिपोर्ट आउने क्रम जारी रहेको बताएको छ ।

अहिले गरिएका परीक्षणबाट रेमडिसिभरले संक्रमितमा कुनै खालको असर नगरेको रिपोर्ट आएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीको भनाई छ ।

‘यसले कुनै गलत प्रभाव गरेको देखिएको छैन’ डा. ज्ञवालीले भने, ‘ठिकै छ भन्ने खालको रिपोर्ट आएको छ, विभिन्न चरणका रिपोर्टहरु आउने क्रम जारी छ, सबै रिपोर्ट आईसकेको छैन ।’

६ हजार भाइल ल्याउने भनिएको र थप गरेर करिब १२ हजार भाइलमा परीक्षणमा प्रयोग भएको परिषद्ले बताएको छ । १२ हजारमध्ये ५ हजार भाइल बंगलादेश र २ हजार भाइल भारतले निशुल्क दिएको थियो भने ६ हजार भाइल खरिद गरिएको थियो।

अब रेमडिसिभर कसरी पाउने ?

कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभर औषधि बिरामी आफैँले खरिद गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले बताईसकेको छ । यसअघि निशुल्क उपलब्ध हुँदै आएको यो औषधि अब भने संक्रमितले नै खरिद गर्नुपर्ने भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण पुष्टि भईसकेपछि रेमडिसिभिर औषधि दिँदै आईएको र सो औषधि अब संक्रमित आफैँले खरिद गर्नुपर्ने बताएका छन् । मन्त्रालयले यो औषधि नेपालमा आयात गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड र भारतको हटेरो ल्याब्स् लिमिटेडले रेमडिसिभर आयात र बिक्रीको अनुमति पाएका छन् । यी कम्पनीले ल्याएका औषधि कोभिड अस्पतालको सिफारिसमा बिरामीले किन्न पाउने छन् । रेमडिसिभर औषधिको एमआरपी मूल्य ६ हजार ३ सय तोकिएको छ ।

‘बिरामीको जबरजस्तीले त हुँदैन, कोभिड अस्पतालले सिफारिस गरेको खण्डमा अस्पतालकै फार्मेसीबाट किन्नुपर्ने गरी कार्यविधि बनेको छ’ स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भने, ‘अन्यबाट किन्न पाईदैन, यसको रेकर्ड एनएचआरसीमा राख्नुपर्ने भएकाले अस्पतालको सिफारिस अनिवार्य छ । शुल्क आफैँले तिर्ने वा सरकारले तिरिदिने भन्ने कुरा हामीले बोल्ने कुरा भएन ।’

हाल नेपालका १२६ अस्पताललाई कोभिड अस्पतालका रुपमा सुचिकृत गरिएको छ ।

सबै देशका भ्याक्सिन ल्याउने तयारी

कोभिड संक्रमण सुरु भएको करिब ९ महिना हुन लागिसकेको छ । विश्वका विभिन्न देश भ्याक्सिन उत्पादनमा लागि परेका छन् । आफूले भ्याक्सिन तयार पारेको दाबी गरेका देश र ती देशका सम्बन्धित कम्पनीले नेपालमा भ्याक्सिनको परीक्षण गर्न चाहे ल्याउन दिने तयारी नेपालले गरेको छ ।

‘विश्वका विभिन्न देशले आफूले भ्याक्सिन बनाएको दाबी गरिरहेका छन्’ एनएचआरसीका सदस्य सचिव डा. ज्ञवालीले भने, ‘अहिले केही देशका कम्पनीहरु आउन इच्छुक देखिएका छन्, तर सिमित देशको मात्रै परीक्षण गर्दा प्रश्न उठ्न सक्ने भएकाले भ्याक्सिन बनाएँ भन्ने सबै देश (जो इच्छुक छन्) लाई ल्याएर परीक्षण गराउने तयारी छ ।’

उनले परीक्षणका लागि आउने कम्पनी आफैँले स्पोन्सर गर्ने भएकाले अहिले स्पोन्सर भेटि नसकेको बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved