बैंकिंङ प्रणालीमा बिग र फोर्सफुल मर्जरको बिषय चर्चामा छ। बैंक तथा वित्तीय संस्थाका नियामकले मर्जरको कुरा चलाईरहंदा मर्ज कति आवश्यक छ भनेर बजारमा चर्चा र बहस जारि छ। केहिले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै मर्ज आवश्यक रहेको बताएका छन भने केहिले खुला अर्थतन्त्र भएको मुलुकमा फोर्स मर्जर पाच्य नभएको प्रतिकृया दिएका छन।
त्यसो त बैंक तथा वित्तीय संस्थाका संचालक, सीईओ र उच्च पदस्थ कर्मचारी वृत्तमा मर्जरलाई लिएर आ आफ्नै दृष्टिकोण रहेको छ। सबै सरोकारवालाको स्वार्थ नमिल्दा सम्म मर्जर सम्भब नहुने उनीहरुको तर्क छ।
बैंकहरुबीच बिग मर्जरको बिषय चल्दैगर्दा बिकास बैंक के हुने भन्ने चाँसो सबैमा बढेको छ। त्यसमा पनि पछिल्लो पटक सरकारको नीति विकास बैंकलाई पेलेर नै अघि बढ्न लागेको जस्तो देखिन्छ। स्थापना कालदेखि नै गाउँका दुरदराज पुगेर न्यून तथा मध्यम बर्गका परिवारका सदस्यलाई बैंकिंङ सेवा प्रदान गर्दै आएका बिकास बैंकलाई सरकारले नीति नै बनाएर स्थानीय सरकारको खाता संचालनमै रोक लगाएको छ।
गत शुक्रबार बैशाख २७ गते मात्रै विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति पाएको छ। जसमा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाललाई नै एसोसियसनको अध्यक्षको जिम्मेवारी दिईएको छ। बिकास बैंकको अहिलेको अवस्था, अवसर र चुनौतीबारे बिजपाटी डटकमका मोहम्मद अज्मत अलिले ढकालसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
विकास बैंकलाई मर्जर आवश्यक छ ?
नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई बिकास बैकंले अनुसरण गरेका छन। बिगतमा ८९ वटा रहेकोमा अहिले ३३ वटामा झरेका छन। यो संख्या २०-२५ मा सिमित हुने सम्भावना धेरै छ।
बिकास बैंकको हकमा मर्ज अब आवश्यक छैन। ११ वटा राष्ट्रिय स्तरको र अन्य क्षेत्रीय बिकास बैंक जो जुन क्षेत्रमा छन त्यहीं बसेर राम्रोसंग काम गरिरहेका छन। बैंकिङ सेवा नपाउने र न्यून तथा मध्यम बर्गका नेपाली जनतालाई विकास बैंकले सेवा दिइरहेका छन। त्यसमा पनि बिकास बैंक साना साना कर्जा र निक्षेपमा केन्द्रित भएको र विकास बैंकले एसएमई प्रोडक्टलाई प्राथमिकता दिएकोले अहिले विकास बैंकको माग बढेको छ। बजारमा टिक्नलाई विकास बैंकलाई गाह्रो छैन, त्यसैले पनि विकास बैंक मर्ज भन्दा पनि आफैं बलियो भएर अघि बढ्नुपर्छ। मर्ज नै भएर अघि जानुपर्छ भन्ने छैन।
भनेपछि हिजो जुन हिसाबले ४ गुणाले चुक्तापुंजी बढ्यो अब त्यहिअनुसार बिजनेश बढाएर अघि बढ्ने रणनीति हो ?
पक्कै पनि हिजो मात्रै चार गुणाले पुंजी बढेको छ। अहिले बढेको पुंजीअनुसार व्यवसाय बिस्तार गर्ने बेला हो। मर्जलाई पुंजी वृद्धि भएको पक्कै होइन।
विकास बैंकले दिने प्रतिफल पहिलेको तुलनामा कम हुँदै गएको छ, पहिलेको जस्तो लाभांश फेरी कहिले पाउँछन सेयरधनीले ?
सेयरधनीले प्रतिफल पाउनुपर्छ भन्नेमा हामि सबै सचेत हुनुपर्छ। हिजो ३० प्रतिशतसम्म लाभांश दिएको अवस्था हो, अहिले आएर १५ को हाराहारीमा लाभांश दिएका छौ।
एकै पटक ४ गुणाले पुंजीबढ्यो त्यहिअनुसार ४ गुणाले व्यवसाय बढ्ने अवस्था थिएन। यो कुरालाई लगानीकर्ताले पनि बुझ्नुपर्छ र बुझ्नुभएको छ भन्ने हाम्रो बिश्वास छ। केहि एक दुई बर्ष कम प्रतिफलमा धैर्य गर्नुभयो भने भोलि एक दुई बर्षपछि त्यो क्यापिटललाई उचित रिटर्न दिन सक्ने गरि व्यसाय बिस्तार गर्छन र एकाध बर्षपछि विकास बैंकले २५-३० प्रतिशतले लाभांश दिन सक्ने अवस्था आउँछ। अहिलेको अवस्थामा बैंकको भन्दा बिकास बैंकको ग्रोथ बढी छ। डिपोजिट, कर्जा परिचालन र व्यवसाय बिस्तारमा विकास बैंकहरु बाणिज्य बैंक भन्दा राम्रा देखिएका छन।
माथि हेर्यो बाणिज्य बैंक तल हेर्यो फाइनान्स र सहकारी, प्रतिस्पर्धा कसरि गर्दै छन विकास बैंकले ?
बिकास बैंकको व्यवसाय कस्तो छ भने निक्षेपमा सहकारीसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ भने लगानीको लागि बाणिज्य बैंकसंग प्रतिस्पधा गर्नुपर्ने अवस्था छ। फाइनान्स त त्यसपछिको कुरा हो।
यति हुँदाहुँदै विकास बैंकले निक्षेप र कर्जा परिचालनको सन्तुलन मिलाइरहेका छन। बिकास बैंकले आफुलाई अव्वल साबित गरेका छन। बैंकिङ प्रणालीले बिगत ३ बर्षदेखि तरलता अभाब भोगीरहंदा यसको प्रभाब बाणिज्य बैंकमा बढी देखियो तर यो ३ बर्षमा विकास बैंकले आफुलाई सफल छन भनेर साबित गरेका छन।
स्थानीय तहको खाता पनि चलाउन नपाउने, एलसी पनि चलाउन नपाउने, झट्ट हेर्दा सरकार र ब्यवसायीले विकास बैंकलाई बिश्वास गर्न नसकेको देखिन्छ, यस्तो अवस्थामा व्यवसाय गर्न कति सहज छ ?
अप्ठ्यारो छ तर अप्ठ्यारो नहोस भनेर करोड र अर्बका ठुला ठुला परियोजनामा नभई साना साना ५ लाख ३ लाख, ४०-५० लाखको मध्यम बर्गको लोनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ। नीति र अन्य कारणले जुन बर्ग बैंकमा जान नसक्ने अवस्थामा छन उनीहरु हाम्रो प्राथमिकतामा छन।
विकास बैंकमा अहिले निक्षेपमा समस्या परेको छ। ब्याजदरमा हामीबीच भएको सहमतिको कारणले हामि समस्यामा परेका छौँ। हामिबीचको सहमतिले विकास बैंकको निक्षेप सहकारीमा जम्मा हुने अवस्था सृजना भएको छ।
समस्या पर्दा पर्दैपनि बिकास बैंकको शाखा बिस्तार, सेवा बिस्तारले गर्दा जति अप्ठ्यारो पर्नु पर्ने हो त्यो परेको छैन। अहिले विकास बैंक कमर्शियल बैंकको लागि चुनौती भएको हामीले महसुस गरेका छौँ। व्यवसाय, निक्षेप संकलन तथा कर्जा बिस्तारको ग्रोथलाई हेर्दा विकास बैंक अब कमर्शियल बैंक किन नहुने भन्ने देखिएको छ। अब हाम्रो प्रतिस्पर्धी बाणिज्य बैंकसंग हो भन्ने भावना बढेर गएको छ।
विकास बैंकलाई पेल्ने किसिमले आएको नीतिले विकास बैंक केहि अप्ठ्यारोमा परेका छन। त्यहि पनि केहि नीति नियम संसोधन गर्नलाई हामीले मिहिनेत गरेका छौँ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा सबै कुरा स्पष्ट छ। बाफियामा बैंक तथा बित्तिय संस्था भन्ने कुरा स्पष्ट छ।
यो पनि: विकास बैंक मध्ये अधिकांश सूचकमा गरिमा अगाडी, कुनमा लगानी बढी प्रतिफलमुलक ? (रिपोर्ट) |
विकास बैंक खुल्नु भन्दा अघि बनेको नीति नियम पछि समय अनुकुल संसोधन नहुँदा केहि अप्ठ्यारो परेको हो। हामीले पुर्व गभर्नर समेत रहेका वर्तमान अर्थमन्त्रीलाई यो बिषयमा जानकारी गराएका छौँ। यसले गर्दा प्रदेश स्थानीय सरकारमा विकास बैंकबाट काम गर्नुपर्छ र खाता संचालन गर्न पाउनुपर्छ भन्ने माग बढेको छ। तर केन्द्रले त्यहि अनुसार कानुनि बाटो नखोलीदिंदा बाधा पुगेको छ। विकास बैंक केहि अप्ठ्यारोमा परेका छन। तर बिभिन्न माध्यमले त्यो पैसा विकास बैंकमा नै आएकोले केहि सहज भएको छ।
त्यस्तै सरकारले नपत्याएको हो कि भन्ने संदेश जनतामा पुगेर केहि अप्ठ्यारो पार्छ कि भन्नेमा हामि चिन्तित छौं। प्रत्येक कुरामा एलसी खोल्ने कुरा, क्रेडिट कार्ड जस्ता बिषयमा हामीले सरोकारवालालाई जानकारी गराएका छौँ सम्भवत अबको मौद्रिक नीतिले यस बारे केहि सम्बोधन गर्छ भन्ने बिश्वास लिएका छौँ।
त्यसो त मर्जरको बिषय संचालक र बोर्डको हो, त्यैपनि गरिमाको मर्जरको चर्चा कहिलेकाहीं हुने गर्छ, गरिमा के गर्छ ?
तपाइँले भनेजस्तो पहिलो कुरा मर्ज भन्ने बिषय सीईओसंग सम्बन्धित होइन। चिया गफमा बोर्डका मान्छेहरुले गरेका कुराहरु मिडियामा आउँदा फैलिने तरंगले कहिले काहीं अप्ठ्यारो परेको छ। बिगतमा गरिमाको बारे पनि मर्जका कुरा यसरि नै आएको हुन सक्छ भन्ने मेरो अनुमान हो। तर कुनै बैंकले औपचारिक रुपमा निर्णय नगर्दा सम्म मर्जको बारे कुरागर्नु अर्थ छैन।
गरिमा विकास बैंक मर्जरमा जाने भए अहिले पनि थप १५ वटा शाखा बिस्तार किन गर्थ्यो ? यो हिसाबले गरिमा मर्जमा जाने मनशाय देख्दिन तर भोलि कहीं कुनै कमर्शियल बैंकबाट उचित र आकर्षक प्रस्ताब आयो भने बोर्डले त्यो पनि निर्णय गर्न सक्छ।
यो बर्ष गरिमाले लाभांश कति दिन्छ ?
पोहोर शतप्रतिशत हकप्रद दिएर आएको हो। पोहोर पनि १० प्रतिशत स्टक लाभांश दिएको हो। अहिलेसम्मको प्रगतिलाई प्रक्षेपण गर्दा यो बर्ष १७-१८ प्रतिशत रिटर्न दिन सक्ने अवस्थामा छ र आगामी बर्ष २० प्रतिशत भन्दा माथिनै लाभांश दिन सक्ने अवस्थामा पुग्छौं।
पोखरा बेश बैंक राम्रो ठहरिएका छन त्यसको कारण के होला ?
पोखरा बेश बिकास बैंकहरु सबै बलिया र राम्रा देखिएका छन। संस्था राम्रो हुनलाई सबैभन्दा सीईओंले संस्थागत सुशासन कायम गर्नुपर्छ। बोर्डले गरेका निर्णयलाई सहि रुपमा कार्यन्वयन गर्ने काम सीईओ को नै हो। जागिर बचाउनलाई जे पनि स्वीकार गरेर अघि बढ्यो भने बैंक जान्छ। पोखरा बेशका विकास बैंकले संस्थागत सुशासनलाई ख्याल गरेका छन। जसले गर्दा पबिलकबाट बिश्वास कमाएका छन।
दोस्रो कुरा, पोखरा पेरिफेरीका क्षेत्रमा बैंकिंङ साक्षरता अन्यमा भन्दा राम्रो देखिन्छ। त्यहाँ रेमिट्यान्सको ठुलो हिस्सा छ र बैंकिंङ प्रणाली मार्फत नै धेरै कारोबार हुन्छ जसले गर्दा निक्षेप निक्षेप राम्रो छ।
तेश्रो मैले देखेको त्यस क्षेत्रमा आबद्द विकास बैंकका संस्थापक सेयरधनीहरुमा बैंक हाम्रो हो भन्ने भावना छ। मनै देखि बैंकलाई सहयोग गर्ने भएकाले पोखरा केन्द्रित विकास बैंकमा निक्षेप वृद्धि भएको हो। बिश्वास, प्रतिफल, व्यवसाय बिस्तार, बैंकिंङ बातावरण जस्ता बिषयले विकास बैंकले त्यस क्षेत्रको बिश्वास जितेका छन। जसको रिजल्ट हामि माझ छ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति पाएको छ, यहाँ कार्यबाहक बाट कार्यकारी अध्यक्ष बन्नु भएको छ, बिकास बैंकको अबको रणनीति कस्तो हुन्छ ?
नयाँ कार्यसमिति बनेको छ तर पहिलो बैठक बस्न बाँकी नै छ। पहिलो बैठकबाट बार्षिक तालिका बनाउने तयारि गरेका छौँ। कुन कुन र कस्ता कुरामा लबिंङ गर्ने, हाम्रा कर्मचारीलाई अझैं राम्रो बनाउन कस्तो तालिम दिने, एक अर्कालाई कसरि कुन क्षेत्रमा सहयोग गर्ने जस्ता बिषयमा छलफलबाट टुंगो लगाउछौं।
हामि संख्याको हिसाबले थोरै हुँदै गएका छौँ। कतै कतै चेपमा परेको हो कि भन्ने अनुभूति पनि भएको छ। यी सबै चुनौतीलाई चिर्नलाई हामि सबै मिलेर योजना बनाएर अघि बढ्नेगरि कार्यतालिका बनाउछौं र त्यहिअनुसार जिम्मेवारी पनि बाँडफाँड गर्छौं।