क्लोज आउटबाट पाएको रकमलाई सरकारले 'उपहार' बुझ्यो, साउन १ देखि २५ प्रतिशत लाभकरको भार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 16, 2018 | 02:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारका लगानीकर्ताले साउन १ देखि क्लोज आउटमा पाउने रकमबाट सरकारलाई २५ प्रतिशत तिर्नुपर्ने भएको छ। यस अघि क्लोज आउटबाट प्राप्त रकममा कुनै लाभकर नलागेपनि सरकारले नयाँ आर्थिक बर्षको पहिलो दिन देखि नै २५ प्रतिशत आकस्मिक लाभकर उठाउने भएको हो।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सोमबार सम्पूर्ण राफसाफ सदस्यलाई परिपत्र गर्दे साउन १ देखि क्लोज आउट रकममा आकस्मिक लाभकर उठाउन निर्देशन दिएकाे सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रसाद गुप्ताले जानकारी दिएका छन। 

धितोपत्र राफसाफ तथा फछ्र्यौट नियमावलि २०६९ संशोधित को विनियम २१ को उपविनियम २ बमोजिम धितोपत्र राफसाफ तथा फछ्र्योट गर्दा धितोपत्र नपुग भइ लाग्ने क्लोज आउट भएको रकममा आयकर ऐन २०५८ बमोजिम २५ प्रतिशत आकस्मिक लाभकर लाग्ने व्यवस्था भएको सिडिएससीले जनाएको छ। 

सिडिएससीका सीईओ गुप्ताले महालेखापरीक्षकको कार्यालयको निर्देशन बमोजिम क्लोज आउटमा आकस्मिक कर लगाईएको बताए। क्लोज आउट भएमा शेयरबिक्रेताले क्रेतालाई जरिवाना स्वरुप २० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था छ। त्यही क्रेताले 'उपहार' स्वरूप पाएको सोच राख्दै क्लोज आउटको रकममा समेत आकस्मिक लाभकर उठाउने लागेको हो।सिडिएससीका अनुसार क्लोज आउट परे बापत लगानीकर्ताले दैनिक न्युनतम डेढ सय रुपैयाँदेखि दुई करोडसम्म जरीवाना तिर्दै आएका छन।  

के हो क्लोज आउट ?

लगानीकर्ताले आफुले बेचेको शेयर तीन दिन भित्र राफसाफ गरि सक्नु पर्ने हुन्छ। तर यदि बेचेको शेयर तीन दिन भित्र राफसाफ गर्न नसकेको अवस्थामा शेयर बिक्रेताले सम्बन्धित शेयर खरिदकर्तालाई खरिद गर्न चाहेको शेयर रकमको २० प्रतिशत रकम जरिवाना स्वरूप तिर्नुपर्ने हुन्छ। 

यसरि जरिवाना स्वरूप तिर्नुपर्ने भयो भने क्लोज आउट मा परेको भनिछ। क्लोज आउटमा पर्ने शेयर बिक्रेताबाट खरीदकर्ताले पाएको २० प्रतिशत जरीवाना बापतको रकमलाई सरकारले उपहार या सित्तैमा पाएको सोचेकाले साउन १ देखि यसमा २५ प्रतिशत आकस्मिक कर लगाउने निर्णय गरेको हो। 

यदी तपाइँले कुनै कम्पनीको १०० कित्ता शेयर बिक्रिको आदेश दिनु भएको थियो तर कुनै कारणबस राफसाफ गरि सक्नु पर्ने ३ दिन भित्र तपाईले उक्त शेयर खरिदकर्तालाई दिन सक्नुभएन भने १०० कित्ता शेयर बापतको २० प्रतिशत रकम जरीवाना स्वरूप खरिदकर्तालाई तिर्नुपर्ने हुन्छ। क्लोज आउटबाट पाएको रकमबाट बिभिन्न शुल्क कटाएर पाएको बाँकी रकमबाट अब खरिदकर्ताले २५ प्रतिशत आकष्मिक लाभकर राज्यलाई बुझाउनुपर्ने हुन्छ। 

माथिको उदाहरणमा यदि १०० कित्ता शेयरको बिक्रि मुल्य एक लाख हुन्थ्यो भने बिक्रेताले २० हजार क्लोज आउट बापत जरीवाना तिर्नुपर्ने हुन्थ्यो। उक्त २० हजारबाट कारोबार, ब्रोकर, सीडीएस लगायतको शुल्क तिरेर बाँकी रहेको रकमबाट बिक्रेताले राज्यलाई २५ प्रतिशत आकष्मिक लाभकर तिर्नुपर्ने हुन्छ।     

क्लोज आउटमा पर्ने कारणहरु

बिभिन्न कारणले शेयर बिक्रेता क्लोज आउटमा पर्ने गर्दछन। कहिले काही जानी जानी क्लोज आउटमा पर्ने (बिशेष गरि बढेको बजारमा) भएपनि अधिकांश समय लगानीकर्ताको स-साना गल्तिकै कारण उनीहरु क्लोज आउटमा पर्ने गर्छन। 

डिम्याट खातामा नआइ सकेको शेयर बेच्ने हतार गर्दा, बैंकमा रोक्का भएको शेयर फुकुवा नगरी बेच्न हतारिदा, आफुसंग भएको भन्दा बढी परिमाणमा शेयर बिक्रि गर्दा, आफुसंग नभएको कम्पनीको शेयर बिक्रि आदेश दिंदा, एउटा कम्पनीको बेच्नुपर्ने तर अर्कै कम्पनीको शेयर बिक्रिको आदेश दिंदा जस्ता कारणले लगानीकर्ता क्लोज आउटमा पर्ने गर्छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved