रारा ताल : स्वगर्की अप्सरा (यात्रा संस्मरण)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 09, 2018 | 04:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा विभिन्न पेशा व्यवसाय गरेर बस्नेहरुलाई फुर्सदको समयमा फुत्त कतै घुम्न जाउँ भन्ने सोच पक्कै आउँछ । राजधानीको धुँवा र धुलोले सताईएका नागरिक मध्ये म पनि एउटा हुँ । फुर्सद खासै नभएपनि मौका मिल्नासाथ राजधानी बाहिर निस्कने बानी परेको छ । यसपटक भने निक्कै अगाडीदेखी जान चाहेको मुगुको रारा ताल घुम्न जाने वाताबरण मिल्यो । आर्ट समिट ट्राभल एण्ड टुर्सले यसको अवसर मिलाईदियो ।
६ रात ७ दिनको भ्रमण योजना र तालिका तय भएपछि काठमाडौँबाट मंसिर १४ गते बिहान २० जनाको टोली मुगुको हुटुमा पर्ने राराताल जान बा४ख ७१०९ नम्बरको अरनिको बस चढेर अगाडी निस्कियो ।
कसरी पुगिन्छ रारा ?
विशेष गरी रारा जाने मार्ग भनेको हवाई मार्ग हो । काठमाडौँबाट नेपालगञ्ज, नेपालगञ्जबाट मुगुको ताल्चा एअरपोर्ट फ्लाइट गरेपछि रारा पुगिन्छ । ताल्चा एअरपोर्टबाट करिब ३ घण्टा पैदलयात्रा पछि तालमा पुगिन्छ । तर हामी स्थल मार्ग हुँदै रारा जाँदै थियौ । एउटा जीप र एउटा बस हाम्रा सवारी थिए ।
अहिले हवाइ मार्गभन्दा पनि स्थलमार्ग धेरै चल्तीमा आइसकेको छ । रिजर्भ बस मात्रै नभई  मोटरसाइकल लगायतका निजि सवारीबाट रारा पुग्नेको संख्या अत्याधिक बढेको छ ।
तालको इतिहास
वि. स. २०२० मा स्व. राजा महेन्द्र जुम्ला गएका बेला हिँडेर मुगुको राराताल अवलोकन गरेका रहेछन् । त्यसभन्दा अगाडीसम्म यसको बारेमा थाहा नैथिएन । राजा महेन्द्रले अवलोकन गरेपछि यसको धेरैप्रचार भयो । त्यसपछि २०३२ सालमा यो क्षेत्र लाई निकुन्ज (रारा रास्ट्रिय निकुन्ज) का रुपमा सिमसार क्षेत्र घोषणा गरिएको रहेछ ।
रारा क्षेत्रलाई राष्ट्रिय निकुञ्ज बनाईपछि तालको किनारमा रहेका छाप्रु र रारा दुइ गाउँलाई नेपालगञ्जमा सारिएकोरहेछ । त्यसको ३ वर्षपछि नेपाली सेनाको दुर्गा भंजन गुल्मले निकुञ्जको रेखदेख गर्दैआएको छ । अहिले पनि निकुञ्ज सेनाले नै संरक्षण गर्दैै आएको छ । राजा महेन्द्रले भ्रमण गरेपछि देश विदेशमा चिनिएको भन्दै त्यस क्षेत्र र आसपासका गाउँमा रारालाई महेन्द्र ताल पनि भन्दा रहेछन् । तीनै राजा महेन्द्रले लेखेको कविताको एक अंश अझैपनि शिलालेखमा देख्न सकिन्छ । उनले रारालाई तालहरुकी रानी भनेका छन् ।

राराताल नेपालको ठुलो र गहिरो ताल हो । निलो समुन्द्र जस्तो देखिने ताल १ सय ६७ मिटर गहिरो छ । २ हजार ९ सय ९० मिटरको उचाईमा अवस्थित यो तलाउले दिन मा ३ देखि ४ पटक पानीको रङ्ग परिवर्तन गरेको पनि देख्न सकिन्छ । आकाशमा लागेको घामका आधारमा तालको रङ्ग फेरिन्छ । बिहान छुट्टै, दिउँसो छुट्टदै, मध्यान्हमा छुट्टै र साँझ छुट्टै रङ्ग देखिन्छ । विश्वमै लोप हुने अवस्थामा रहेको असला जातको माछा पनि यो तालमा पाईने निकुञ्जले हामीलाई जानकारी दियो ।

काठमाडौँबाट पहिलो दिन (मुग्लिन–चितवन–बुटवल–कोहलपुर)
रारा जाने पक्का हुनासाथ शरीरमा एक किसिमको उमङ्ग थियो । आर्ट समिटका प्रवन्ध निर्देशक सोम बहादुर तामाङसँग भेटमा कुनै कुरा खासै भएको थिएन । रमाइलो गर्ने त कुरै छोडौँ । तर पनि बाटोमा पेट मिचिमिच हसाए । आँखामा आँशु आउन्जेल हाँसियो ।
हाम्रा गाडीका चालक रत्न थिए । उनी खासै बोल्दैनथे । तर सोम बहादुरले हँसाइहाल्थे । उनी पनि नहाँसि बस्नै सक्दैनथे । चालक रत्नको बुढो अनुहारमा सोमबहादुर कहिले चश्मा लगाईदिन्थे, कहिले के गर्थे कहिले के गर्थे । निकै रमाइला रहेछन् सोम बहादुर । उनीसँगको यो यात्र पहिलो पनि थियो ।
ए साँच्ची अर्को कुरा, सोम बहादुर तामाङ केवल हामीलाई लिएर मात्रै रारा हिडेका थिएनन् । उनी रारा पदमार्गको सरसफाई गर्न भनेर काठमाडौँबाट फोहोर हाल्ने बाल्टिन (डस्टबिन), औषधी, पञ्जा, माक्स लगायतका समान बोकेर हिडेका थिए ।
पहिलो दिन हामी काठमाडौँबाट बाँकेको कोहलपुर पुग्यौ । यात्राको पहिलो दिन, हामी सबै उत्सुक थियौँ । त्यहाँ खाना सकेर रमाइलो र परिचय गर्यौ । पोखराबाट पनि साथी थपिनु भएको थियो । उहाँहरुसँग परिचय भयो । हामी त्यो दिन त्यही बास बस्यौ ।
दोस्रो दिन (सुर्खेत–गुँरासे–पालेतडा हुँदै मान्म कालिकोट)
भोलिपल्ट सबेरै उठेर बिहानको नास्ता लिएपछि हामी हाम्रो गन्तव्यमा हिड्यौ । गाडीमा रमाइलो गर्दै हामी पालेतडामा पुगेर बिहानको खाना खायौ । पालेतडा पुग्दा दिउँसोको ३ बजेको हुँदो हो, त्यतिबेला हामीले बिहानको खाना खायौँ । एकछिन त पेट पनि दङ्ग पर्यो ।
त्यसपछि बेलुका कालिकोटको मान्म बजार पुगियो । त्यहाँ होटल हिलसाईड हाम्रै पर्खाइमा थियो । होटल हिल साईड रारा पदमार्ग सरसफाईको सारथी पनि थियो । नाच्यौँ, गायौ अनि बास बस्यौ ।
तेस्रो दिन (मान्म–ताडीबजार–सेरबाड़ाबजार–नाग्म–गोठिजिउला–सिंजा उपत्यका–सल्लेरी हुँदै हुटु, रारा)
हामी रारा पुग्ने उदेश्यका सथ अगाडी बढ्यौ । बाटोमा नास्ता सक्यौ । १० वर्ष अघि कर्णालीको सडक नेपाली सेनाले विस्तार गरेको रहेछ । भिर अनि साँघुरो चट्टान फोरेर सेनाले बनाएको सडक हुँदै हामीले गोठिजिउला पुगेर खाना खायौ ।
हाम्रो यात्रा निरन्तर अगाडी बढिरह्यो । जुम्लामा खस भाषाको उद्गमस्थल, (सिंजा उपत्यका) पनि देखियो । नाग्मबाट अगाडी कच्ची सडक भएकाले बसले उफार्दै मुगुको पिना भन्ने ठाउँबाट अगाडी सल्लेरी सम्म र्पुयायो । हामी रारा पदमार्ग सरसफाइको अभियान्ता पनि भएकालेसेनाले हामीलाई मिलि चौरसम्म जान दियो । मिलिचौर हुँदै करिब २ घण्टा पैदल राराको किनारै किनार हिँडेर हामी बास बस्ने ठाउँमा पुग्यौ ।
अघिल्लो दिन आइपुग्दा रात परिसकेको थियो । जता हेरेनि सम्म परेको चौर जस्तो देखिएको थियो रारा । त्यसैले उज्यालोको पर्खाइमा रात बिताईयो ।
जब उज्यालो भयो, अनि त केचाहियो र ?
वाह ! रारा ! साँच्चैकी अप्सरा । मनमा धमिलो भएर गडिएको अप्सराको याद आयो । प्रकृतिको एक अपार उपहार, राराताल आफ्नो अगाडी देख्दा साँच्चै स्वर्गीय आनन्दको अनूभुति भयो । वरिपरि वनजंगल, नजिकै हिमाल अनि बीचमा रारा लम्पसार परेको देख्दा ३ दिनको थकान एकाएक विलिन भयो ।
मौसम अलि चिसोचिसो भएकाले न्यानो लुगा लगाएर हामी निकुन्ज परिसर हुँदै तलाउ किनारमा पुग्यौँ र त्यहाँबाट सुर्योदय अवलोकन गर्यौँ । ताल किनारमा आन्तरिक पर्यटक बढी  देखिन्थे । धेरैजसो तस्बिर लिन र कतिपय फोटोमा कैद हुनमा ब्यस्त थिए ।  
दिनको १२ बजेपछि अलि बढी हावा चल्दो रहेछ । त्यसैदिन सरसफाई अभियान पनि भएकाले हामी सबै विभिन्न काममा व्यस्त थियौ । कोही फोटो खिच्न, कोही गफ गर्न, कोही फोटो खिचाउन ।

कर्णाली प्रदेशका वन, वाताबरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले सरसफाईको उद्घाटन गरे ।

विजपाटी डटकम पनि सरसफाई अभियानको मिडिया सारथी थियो । त्यसलगत्तै हामी  ढिला नगरी डुंगा सयर गर्न तर्फ लाग्यौँ । सिस्ने र कान्जिरोवा हिमालको छाँयाले राराको सौन्दर्यमा सुगन्ध थपिदिएको थियो ।
छिनछिनमै राराले आफ्नोरुप बदलिरहन्थिन । किनारका मैदानमा घोडाहरु चर्दै थिए ।
रारा तालको किनारबाट ३ घण्टाको पैदल यात्रापछि मुर्मा टप पुगिदोरहेछ । ३ हजार ५ सय मिटरको उचाई रहेको मुर्मा जाँदा त्यही ठाउँको एकजना भाईको घोडामार्फत गईयो । उनले बाटामा धेरै कुरा गरे । मुर्माबाट तालको पुरा रुप देख्न सकिन्थ्यो । छिमेकमा पर्ने जिल्लाहरु (हुम्ला, जुम्ला, कालिकोट, बाजुरा)का सिमानाहरु पनि देखिन्थे ।
वरीपरि जंगल र अग्ला पहाड अनि फेदीमा सुतेकी रारा साँच्चै नै स्वर्गकी अप्सरा भन्दा कम थिइनन् ।
फर्किदा सिँजा उपत्यका, पाण्डु गुफा, कर्णली नदी र सुर्खेतको काक्रेबिहार पनि घुमियो ।  
रारा कहिले जाँदा राम्रो ?
रारा जाने उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिना हो । डिसेम्बरदेखि मार्चसम्म धेरैहिउँ पर्छ । हिउ जमेपछि तापक्रम शुन्य भन्दा पनि तल झर्छ। त्यसैले यस समयलाई रारा घुम्ने उपयुक्र्त समय मानिदैन । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।
जेठदेखि आसोजसम्म बिभिन्न फूलहरुलेसजएकी रारा देख्न सकिन्छ । अझ त्यसमा पनि रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका छन् ।
अन्त्यमा कर्णाली आफैँमा समृद्ध छ । प्रकृतिले अनेकौ उपहारहरु खन्याएको छ । तीनको सही सदुपयोग गर्न सकियो भने कर्णाली बासीलाई सरकारको चामल चाहिदैन । उल्टै नेपाल भरीलाई पाल्न सक्छ ।
कर्णालीको विकट अवस्था र त्यहाँका नागरिकको राज्यप्रतिको गुनासो धेरै छ । यसलाई सरकारले बेलैमा सम्मान र सम्बोधन गर्नुपर्छ । राराको किनारमा गएर २/३ घण्टा भाषण ठोक्दैमा त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्न ।
रारा घुम्दाका बखत त्यहाँको जीवनशैली, त्यस क्षेत्रका बासिन्दाको दैनिकी, बोलिको लवज, खेतीपाती आदि जान्न र देख्न पाएँ । त्यस क्षेत्रका बासीको धेरै गुनासो छ । वर्षमा एक बाली मात्रै खेती हुँदोरहेछ, चिसोको कारणले । फपर, सिमी मनग्य फल्ने भएपनि जंगली जनावरले दिनु दुख दिएको रहेछ । ‘एउटा बालक ९/१० महिनामा जन्मिन्छ, तर हाम्रो तिर अन्न बाली पाक्न १ वर्ष लाग्छ’ रारा किनारमा घोडा डोहोयौउँदै गरेका जन्मजय रोकायले भने ।
अन्ततः रारा घुम्ने चाहाना पुरा गरिदिनु भएकोमा आर्ट समिट ट्राभल एण्ड टुर्स, यसका एमडी सोमबहादुर तामाङलाई विशेष धन्यवाद । काठमाडौँदेखी रारा पुर्याएर फेरि काठमाडौँसम्म सुरक्षित यात्रा गराउनु हुने गुरुबाट रत्न, गाडी धनी यादब काकालाई पनि धन्यवाद । सरसफाई अभियानमा साथ दिने कर्णाली प्रदेश सरकार, माननीय पर्यटन मन्त्री नन्दसिंह बुढा, राष्ट्रिय निकुञ्ज, नेपाली सेना, पत्रकार साथीहरु लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु  । राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, नयाँ पत्रिकाका विरेन्द्र ओली, संवाद डबलीकी देबकी तिमल्सीना, पारु सर, दिपक, प्रकाश, सुबिना, रिदिमा लगायत सबै सहयात्री साथीहरुमा मिठो सम्झना ।

थप तस्बिरहरु:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved