राष्ट्र बैंकको निर्देशनले महँगी बढ्ने, ‘चोर बाटो’बाट सामान आयातको खतरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 12:30:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबार एउटा सर्कुलर जारी गर्दै बस्तुको आयातमा कडाई गरेको छ । ऋणको ठूलो हिस्सा आयातमा प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेको भन्दै राष्ट्र बैंकले बस्तुको आयातमा कडाई गरेको हो । 

राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन तथा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको छ । अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यवस्था गर्नु पर्नेछ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।

‘महँगी बढ्छ’

राष्ट्र बैंकको निर्देशनले बजारमा सामान अभाव हुने र महँगी बढ्ने व्यवसायीको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ उक्त निर्देशनले बजारमा सप्लाई कम हुने र बस्तुको मूल्य बढ्ने बताउँछन् । 

‘सप्लाई कम भएपछि मूल्य त बढिहाल्छ’ उनले भने, ‘अहिले भईरहेको सप्लाई चेन ब्रेक हुने बितिक्कै यसको प्रत्यक्ष मार उपभोक्तालाई नै पर्छ ।’

बस्तु तोकेरै सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने ब्यवस्था गरेको राष्ट्र बैंकले यस्तो ब्यवस्था कति समयका लागि हो भनेर नतोक्दा व्यवसायीहरु पलायन हुने खतरा रहेको उनको भनाई छ ।

यो पनिः
यी हुन् राष्ट बैंकले आयातमा कडाई गरेका वस्तु, गाडी, कस्मेटिक सामान, रक्सिदेखि पानीसम्म

‘कि ती समान नेपालमै उत्पादन हुनुपर्यो, कि ती बस्तु प्रयोग नै नगर्ने राष्ट्रिय नीति हुनुपर्यो’ श्रेष्ठले भने, ‘यो त सरासर व्यवसायीलाई काम नगर भन्या हो नि, काम नगरी कसरी रोजिरोटी चल्छ ?’

उनले बजारमा सामान अभाव भएपछि सिमित व्यवसायीको मनोमानी हुने र गलत बाटोबाट सामान आउने खतरा रहेको पनि बताए । यदि चोर बाटोबाट सामान आयो भने कमजोर गुणस्तरसँगै आम्दानी हुने राजस्व पनि गुम्ने खतरा छ ।

बिना अध्ययनको निर्देशन

बस्तु किटान गरेर ५० देखि सय प्रतिशतसम्म क्यास मार्जिन राख्न बनेको राष्ट्र बैंकले अध्ययन नै नगरेको आरोप उपाध्यक्ष श्रेष्ठको छ । 

‘बस्तु छनोट गर्दा अध्ययन गरेको देखिएन, के प्रभाव पर्छ भनेर कुनै अध्ययन नै नगरी निर्देशन दिने काम भएको छ’ उनले थपे, ‘व्यवसायीले पनि त कर तिरेर व्यवसाय गरेको हो नि, त्यसै त बसेको छैन । अब उसले बस्तु ल्याउँदा लागत बराबरको नगद मार्जिन राख्न नसेपछि उसले व्यवसाय गर्न सक्दैन, यस्तो अवस्थामा राज्यले के दिन्छ ? काम नगर भनेपछि खान पुग्ने त केही दिनुपर्यो ।’

उनले नेपालमा आवश्यक र खपत हुने बस्तुको आयातमा कडाई गर्ने निर्णय हचुवाका भरमा गरिएको निर्णय भएको दाबी गर्दै अबिलम्ब फिर्ता लिनुपर्ने बताए ।

यसअघिः
राष्ट्र बैंकको निर्देशनले बजारको ‘चेन’ बिग्रने डर, पूरानो उधारो नउठ्ने जोखिम

‘यो निर्णय तरलतालाई सहयोग गर्दैन’

बैंकमा तरलता अभावको समस्यालाई कही हदसम्म समाधान गर्न भन्दै राष्ट्र बैंकले आयातमा कडाई गरिएको ‘लजिक’ पेश गरेपनि व्यवसायी यो लजिक स्वीकार गर्न तयार छैनन् । बैंकहरुले तरलता अभाव देखाएर साना मझौला व्यवसायीलाई तर्साउने काम गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले तोकेका बस्तुको आयातमा संकुचन आउँदा राष्ट्र बैंकले भनेजस्तो तरलतामा सहयोग नपुग्ने बताउँछन् ।

‘कति सहयोग गर्छ तरलतालाई ? यसको केही हिसाब छैन, खाली मुखले भन्दिएको छ’ उनले भने, ‘ठ्याक्कै भन्नुपर्यो नि, यति समयमा यति सहयोग गर्छ भनेर । राष्ट्र बैंक जस्तो संस्थाले तथ्यांकमा बोल्नुको सट्टा पूरा हुनै नसक्ने लजिक दिनु गलत हो, राष्ट्र बैंकको त्यो तर्कको कुनै औचित्य छैन।’

उनले यो निर्देशनले राजस्वमा समस्या पार्ने र रोजगारी समेत घट्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए । 

बैंकहरुलाई कारबाहीको सट्टा व्यवसायीलाई ठण्डा

नियामक निकाय भएर पनि राष्ट्र बैंकले बैंकहरुलाई नियमन गर्न नसकेको आरोप श्रेष्ठको छ । राष्ट्र बैंकले बैंकहरुलाई नियमन तथा कारबाही गर्नुको सट्टा व्यवसायीमाथि ठण्डा चलाएको उनको बुझाई छ ।

‘बैंकहरुले ब्याज बढाउँदा पनि बचत घटेको छ, डिपोजिटमा बढी ब्याज दिएर पनि निक्षेप बढ्दैन भने ब्याज बढाउनुको अर्थ के ?’ उनले भने, ‘ब्याज बढाउँदा पनि बचत घट्छ भने बैंकहरुलाई राष्ट्र बैंकले कारबाही किन नगर्ने ? आफूले नियमन गर्नुपर्ने बैंकहरुलाई छाडा छोडेर व्यवसायीलाई समस्या पार्ने काम राष्ट्र बैंकबाट भएको छ, यो तुरुन्त फिर्ता हुनुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved