
मंगलवार अपराह्न अर्थमन्त्री विष्णु
पौडेललाई भेटेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व र वर्तमान
पदाधिकारीको टोलीको अनुहार हसिलो देखिन्थ्यो । अर्थमन्त्रालयको भवनबाहिर उनीहरूले
एक आपसमा कुरा गर्दै 'अब केही हुन्छ कि !' भनिरहेका थिए ।
पूर्व अध्यक्ष भवानी राणाले बिजपाटीलाई
संक्षिप्त प्रतिकृया दिँदै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री पौडेललाई भेटेपछि निजी क्षेत्रमा नयाँ
आशाको सञ्चार भएको बताइन् ।
प्रचण्ड नेतृत्वको नयाँ सरकार र विशेष
गरी अर्थमन्त्री पौडेलसँग निजी क्षेत्रले धेरै अपेक्षा राखेको छ । कोभिडको महामारीपछि
अर्थतन्त्रमा 'पोस्ट कोभिड सिन्ड्रोम' देखिएको थियो भने यसअघिका अर्थमन्त्री
जनार्दन शर्मा केही बिचौलियाको आडमा अर्थतन्त्रलाई थप ध्वस्त पार्ने खेलमा लागेका
थिए । पूर्वअर्थमन्त्री शर्माका धेरै कर्तुतहरू बिजपाटीले उजागर गरेको थियो ।
पौडेल अर्थमन्त्री भएको दुई दिनमै
पूँजीबजारमा पनि नयाँ उत्साह आएको छ । सबैभन्दा बढी थलिएको पूँजीबजारमा लगानीकर्ताहरू
आकर्षित हुनुले समग्र अर्थतन्त्रमै नयाँ आशाको सञ्चार थपेको छ ।
राजनीतिक करिअरको शुरुवातमा अर्थमन्त्री
पौडेल आर्थिक क्षेत्रका ज्ञाता थिएनन् । समयक्रममा उनले अर्थतन्त्रबारे लिएका
राजनीतिक 'मुभ'हरूले पौडेललाई आर्थिक क्षेत्रले विश्वास गर्न सक्ने वातावरण
सिर्जना भएको हो । समग्र अर्थतन्त्रलाई जनताको आवश्यकतासँग जोडिएका आयामहरूमा
विभक्त गरेर हेर्ने पौडेलको क्षमताका कारण उनलाई निजी क्षेत्रले विश्वास गर्ने
आधार बनेको हुनसक्छ ।
अर्थतन्त्रका कतिपय सूचकहरू यतिबेला
नकारात्मक अवस्थामा छन् । तरलता अभाव पूर्ण रूपमा हटिसकेको छैन । बैंक र निजी
क्षेत्रबीच सामन्जस्यताको अभाव छ । आयातमा गरिएको कडाइका कारण उठ्नुपर्ने राजश्व उठेको
छैन भने चालू आर्थिक वर्षको अहिलेसम्मको खर्च दयनीय छ ।
यसअघि सरकार र राष्ट्र बैंकबीच
तालमेल नहुँदा त्यसको समग्र मार अर्थतन्त्रमाथि परेको थियो । नेपाल श्रीलंका हुने
भयबाट अझै पनि माथि उठ्न सकेको छैन । आर्थिक क्रियाकलापहरू घट्दै गइरहेको छ, तर मूल्यवृद्धिले भने आकाश चुमेको अवस्था छ ।
यी चुनौतीलाई चिरेर अघि बढ्न
अर्थमन्त्री पौडेललाई पक्कै पनि सहज छैन । उनले चारैतिरबाट आफूलाई सहयोग हुनुपर्ने
बताउन थालेका छन् । राजनीतिक सामन्जस्यता मिलाउने खुबी भएका पौडेलले अर्थतन्त्रसँग
जोडिएका क्षेत्रलाई कसरी विश्वासमा लिएर अहिलेको संकट हल गर्छन्, त्यो अबका दिनहरूमा देखिनेछ ।
यसअघि दुई पटक अर्थमन्त्री भइसकेका
पौडेल अहिलेको संकट समाधानका लागि आत्मविश्वासी देखिन्छन् । उनको आत्मविश्वास र
सम्बन्धित क्षेत्रको सहयोगको संयोजनले संकुचनमा रहेको अर्थतन्त्रले बिस्तारै लय
समात्ने लक्षण देखिएको बिजपाटीको ठम्याइ छ ।