आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 05:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियास्थित लिंकन युनिभर्सिटी कलेजले नेपालमा सम्बन्धनका नाममा १२ वटा शिक्षण संस्थामार्फत शैक्षिक माफिया सञ्जाल चलाउने गरेको छ । काठमाडौँमा लिंकन युनिभर्सिटी कलेज नेपाल च्याप्टर नामको संस्था नै खोलेर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा रहेका शिक्षण संस्था चलाउने गरेको तथ्य फेला परेको हो।

 २०११ मा मात्र मलेसियन सरकारले विश्वविद्यालय चलाउने अनुमति दिएको लिंकन युनिभर्सिटी कलेजको नाममा त्यसअगावै गैर-कानूनी रूपमा सम्बन्धनका भन्दै विभिन्न शिक्षण संस्थाहरू खुलेका थिए।

लिंकनले काठमाडौँमा खोलेको नेपाल च्याप्टर कानूनी रूपमा दर्ता नभएको र शिक्षा मन्त्रालयबाट स्वीकृति पनि नपाएको मन्त्रालय स्रोत बताउँछ । 

'यहाँ मिनी युनिभर्सिटी चलाएको भन्ने सूचनासम्म आएको छ, के रहेछ हामी बुझ्ने प्रक्रियामा छौं,' मन्त्रालयका एक उच्च अधिकारीले बताए । लिंकन युनिभर्सिटीका नाममा नेपालमा 'लिंकन युनिभर्सिटी कलेज एसोसियसन अफ नेपाल' नाममा एक अर्को संस्था पनि खोलिएको छ । संगठनको कानूनी हैसियत पनि अवैध रहेको मन्त्रालय स्रोत बताउँछ। 

लिंकन युनिभर्सिटीको नेपाल च्याप्टरले यहाँ सबै शिक्षण संस्था र विद्यार्थीको व्यवस्थापनको जिम्मा लिएको छ । दिक्षान्त समारोह लगायतका विभिन्न कार्यक्रमहरू त्यही च्याप्टरले गर्ने गरेको छ । स्रोतका अनुसार युनिभर्सिटीले विद्यार्थीलाई दिने प्रमाणपत्रसमेत नेपाल हेर्ने त्यही च्याप्टरले नेपालमै छापेर बाँड्ने गरेको छ। यसका अध्यक्ष के एफ ए नामको अर्को कलेजका संचालक रेस्ता झा हुन्। 

आफूलाई नेपालको सबै भन्दा ठूलो विदेशी शिक्षण संस्थाको सञ्जाल भएको बताउने नेपाल च्याप्टरले १२ वटै शिक्षण संस्थामा एक एक प्रतिनिधि खटाएको छ । सबै प्रतिनिधिहरूले शिक्षण संस्था चलाउन अह्रन खटन गर्ने गर्दछन् । कतिपय शिक्षण संस्थाहरूले शिक्षा मन्त्रालयबाट स्वीकृति नै नलिई विभिन्न कार्यक्रमहरू चलाउने गरेका छन् ।

 लिंकनको सम्बन्धन प्राप्त भएका मात्र होइन नेपालमा संचालित सबै ८६ वटा शिक्षण संस्थाहरूको नवीकरण समेत भएको छैन । शिक्षा ऐनका अनुसार नवीकरण नभएका संस्थाहरू स्वतः गैर-कानूनी हुन्छन् । कानूनी हैसियत प्राप्त नगरेका यी कलेजहरूले आकर्षक विज्ञापन देखाएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै आएका छन्।

 यिनीहरूको नवीकरण, स्थानान्तरण र कार्यक्रम थपघटका लागि भन्दै मन्त्रालयको उच्च शिक्षा महाशाखाले ४ सदस्यीय एक उपसमिति गठन गरेको छ । उक्त उपसमितिले करीब ४२ शिक्षण संस्थाहरूको अनुगमन गरिसकेको छ । अनुगमन भएकामध्ये लिंकनसँग सम्बन्धन लिएकालगायत अधिकांश शिक्षण संस्थाहरूले निर्देशिकाको पालना नगरेको पाइएको छ। 

प्राप्त जानकारीअनुसार लिंकनबाट सम्बन्धन प्राप्त संस्थाहरूले सरकारलाई बुझाउनुपर्ने १५ प्रतिशत राजश्व अहिलेसम्म बुझाएका छैनन् भने विद्यार्थीहरूको संख्या अद्यावधिक गरेका छैनन् । विदेशको विश्वविद्यालयबाट विद्यार्थीकै नाममा आउनुपर्ने सक्कली इन्भ्वाइसलाई यहाँस्थित नेपाल च्याप्टरले विद्यार्थीको नाम हटाएर किर्ते गर्ने गरेको छ।

 लिंकनको नेपाल च्याप्टर भन्ने अवैध संस्थाले विदेशी मुद्रासमेत अपचलन गरिरहेको स्रोतको दाबी छ । विद्यार्थीको यकिन विवरणबिना नै सेटिङका आधारमा राष्ट्रबैंकबाट सटही लिएर गैर-कानूनी रूपमा पैसा विदेश पठाउने गरेको भेटिएको छ । कुन विद्यार्थीका नाममा कति पैसा गयो भन्ने विवरण राष्ट्रबैंकसँग नै छैन । 

मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई आर्थिक प्रलोभन दिएर लिंकनले गैरकानूनी धन्दा चलाएको हो । मन्त्रालयका तत्कालीन शिक्षासचिव मधुप्रसाद रेग्मी, उच्च शिक्षा महाशाखाका तत्कालीन सहसचिव सूर्य गौतम, तत्कालीन उपसचिवहरू केशव अधिकारी र लक्ष्मीकुमार खड्कालाई मोटो रकम दिएर लिंकन कानूनी कारवाहीबाट बच्दै आइरहेको स्रोतको दाबी छ । 

लिंकनको नेपालस्थित च्याप्टर थापाथली र बानेश्वरबीच कहीं गोप्य स्थानमा संचालित छ । सार्वजनिक रूपमा उपलब्ध गराइएको ल्याण्डलाइन नम्बर ०१-४३७२४२० फोन नलाग्ने बनाइएको छ। सम्बन्धन प्राप्त भनिएका कतिपय शिक्षण संस्थाको रिसेप्सनमा फोन गरेर नेपाल च्याप्टरको कुनै प्रतिनिधिको फोन नम्बर माग्दा उनीहरूले 'दिन नमिल्ने' भन्दै फोन राख्ने गरेका छन् ।   

यी हुन् लिंकनले नेपालमा अवैध रूपमा चलाएका शिक्षण संस्थाहरू 

सेन्टर फर लिडरशिप एण्ड आन्टरप्रेनरशीप प्राइभेट लिमिटेड ललितपुर 

पोखरा लिंकल इन्टरनेसनल कलेज पोखरा 

फोनिक्स कलेज अफ म्यानेजमेन्ट काठमाडौँ 

नेपाल बिजनेश कलेज बिराटनगर

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क काठमाडौँ 

वेस्टर्न मेगा कलेज बुटवल 

लिंकन इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट काठमाडौँ 

इलाइट इन्स्टिच्युट अफ फाइनान्स एण्ड एकाउन्टेन्सी काठमाडौँ 

नेसनल कलेज अफ म्यानेजमेन्ट, टेक्निकल साइन्स काठमाडौँ 

ग्रीन पीस लिंकन कलेज इटहरी 

बाल्मिकी लिंकन कलेज झापा 

पाल्पा इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट पाल्पा 

यस अघि:

विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका 'अवैध' कलेजमाथि कारबाहीको सिफारिस ?

विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’

विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

नेपाल मै बसेर विदेशी शिक्षा मोह: सम्बन्धन कै नाममा बाहिरियो डेढ अर्ब विदेशी मुद्रा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved