उपभोक्ताकै कारण ग्यास र चामलको अभाव हुने संकेत

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 29, 2021 | 01:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको लहर तीव्र गतिमा फैलिएपछि सरकारले पुनः लकडाउन गरेको छ । आजदेखि सुरु भएको लकडाउन अब १५ दिनसम्म कायम रहनेछ । तर, कोरोनाको अहिलेको ‘चेन ब्रेक’ नभएको खण्डमा यो अवधि थपिन पनि सक्नेछ ।

लकडाउन सुरु भएपछि दैनिक उपभोग्य बस्तु भने अभाव हुने क्रम सुरु भएको छ । खाना पकाउने एलसी ग्यास र अक्सिजन अहिले मानिसले आवश्यकता भन्दा बढी थुपार्न थालेपछि बजारमा सिलिण्डरकै अभाव हुन थालेको हो ।

अनावश्यक सामान थुपार्ने बढे

खाद्यान्न पनि अभाव हुने डरले मानिसले आवश्यकता भन्दा धेरै किन्न थालेका छन् । लकडाउन सुरु हुनु अघिल्लो दिन बैशाख १५ गते चामल र ग्यास खरिद गर्ने उपभोक्ताको संख्या अत्याधिक देखिएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

‘सामान्यतया, ४ जनाको परिवारलाई एउटा सिलिण्डर ग्यासले ४५ दिन धान्छ । तर, यहाँ एउटै परिवारले ३ वटासम्म ग्यास थुपारेका छन्’ एकजना ग्यास बिक्रेता भन्छन्, ‘सबै नियमित ग्राहक हुन्छन्, मगाएपछि दिनै पर्यो, पहिला पहिला २ वटा सिलिण्डर लैजानेले अहिले ५÷६ वटा लगेका छन् ।’

खाद्यान्न पसलेहरुका अनुसार एक परिवारले अहिले आधा दर्जन बोरा (६ बोरा) चामल लगेका छन् । 

‘होलसेलबाट दाल, चामल, तेल किन्नेहरु यति बढेका छन् कि, कुरै नगरुम्’ बसुन्धरास्थित एक होलसेल व्यापारी भन्छन्, ‘हिजोसम्म त मान्छेहरु आफैँ किन्न आउँथे, हामीले थेग्नै मुस्किल थियो, आजबाट भने फोन गरेर अर्डर गर्नेहरु बढेका छन् ।’

उपभोक्ताकै कारण समस्या

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना उपभोक्ताकै कारण बजारमा बस्तुको अभाव हुने खतरा देखिएको बताउँछन् । उपभोक्ताहरुले आफूलाई आवश्यक पर्नेभन्दा बढी बस्तु बजारबाट उठाउँदा भोली अति आवश्यक पर्ने व्यक्तिले नपाउन सक्ने भन्दै उपभोक्ताहरु नै सचेत बन्नुपर्ने उनको भनाई छ ।

उपभोक्ताले अनावश्यक रुपमा बस्तु खरिद गर्न नपाउने गरी नियम बन्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ । बजारका बिक्रेताहरुले पनि उपभोक्तालाई जथाभावी बस्तु बिक्रि गर्न नहुने उनी बताउँछन् ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता सिवराज सेँढाईका अनुसार बजारमा कुनै पनि बस्तुको अभाव अहिलेसम्म देखिएको छैन । बजारमा अत्यावश्यक बस्तुको आपुर्ति सहज ढंगबाटै भईरहेकाले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव नरहेको उनको भनाई छ ।

विभागले बजार अनुगमन पनि गर्ने काम सुरु गरिसकेको प्रवक्ता सेँढाईले बताए ।

उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सिलिण्डर ग्यास, चामलका बोरा, किलोका किलो दाल र लिटरका लिटर खाने तेल उठाउँदा बजारमा अभाव सिर्जना भएको व्यवसायीहरु नै बताउँछन् । खाना पकाउने ग्यासको अभाव नभएपनि ग्यास भर्ने सिलिण्डरको भने अभाव सुरु भईसकेको व्यवसायीहरुको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved