प्रहरीको नाममा हतियार खरिदमा १ अर्ब ११ करोड कमिशनको सेटिङ, कसको भागमा कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 13, 2022 | 10:11:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका लागि हतियार खरिदको विषय अहिले पेचिलो बनेको छ । बजार मूल्यभन्दा ३ सय प्रतिशत बढी तिर्नेगरी गरिएको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार संसदमै आपत्ति जनायो । एमालेका तर्फबाट सांसद नवराज सिलवालले यस विषयमा आपत्ति जनाए ।

८४ करोड रुपैयाँ रकमान्तर गरे नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने बन्दोबस्त जनार्दन शर्माले अर्थमन्त्री हुँदा नै मिलाएका थिए । इटालीको बेर्रेटा कम्पनीले उत्पादन गर्ने ११ सय ५० थान फोल्डिङ सर्ट गन, १ हजार थान पेस्तोल, १० लाख प्लाष्टिकका गोली र २५ हजार थान सेल (अश्रुग्याँस) खरिदका लागि भनेर ८४ करोड बजेट रकमान्तर गरिएको थियो । 

सार्वजनिक भए अनुसार प्रहरीले प्रतिगोटा सर्टगनको २१ सय डलर र ६ एमएमको पेस्तोलका लागि प्रतिगोटा ६९९ डलर खर्च गर्ने भएको छ ।

नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई फसाउने र बजार भाउ भन्दा ३ गुणा बढी पैसा खर्च भएको देखाएर अर्ब रुपैयाँ कमिशन खाने दाउमा हतियार किन्ने प्रपञ्च रचिएको दाबी स्रोतले गरेको छ । 

अहिले खरिद प्रस्ताव गरिएको भनिएका सम्पूर्ण हतियारको मूल्य जम्मा २४ करोड मात्रै पर्ने र बाँकी रकम कमिशनका रुपमा हत्याउने दाउमा शक्ति केन्द्र नजिकको गिरोह रहेको दाबी स्रोतको छ । उक्त गिरोह अरु कोही नभएर विचौलिया व्यापारी दीपक भट्ट रहेको बताइन्छ । 

कार्यविधि लत्याएर ‘एजेन्ट’ राखियो 

हातहतियार तथा खरखजाना खरिदको लागि छुट्टै कार्यविधि हुन्छ । हतियार किन्ने कार्यविधिमा ‘जी टू जी’ (सरकारदेखि सरकार) विधिबाट हातहतियार खरिद गर्ने व्यवस्था छ । तर, यो कार्यविधि विपरित एजेन्ट उभ्याएर हतियार खरिद गर्न लागिएको छ ।

इटालियन हतियार उत्पादक कम्पनी ‘बेर्रेटा’को नेपालका लागि एजेन्ट उनै दीपक भट्ट नै रहेको स्रोतले दाबी गरेको छ । जसले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा जनार्दन शर्मालाई मोटो रकम थमाएर करका दरहरु हेरफेर गराएका थिए ।

१ अर्ब कमिशनः कसको भागमा कति ?

प्रहरीका लागि भनेर हतियार खरिद गर्दा १ अर्ब कमिशन आउने सेटिङ पनि उनै दीपक भट्टले नै मिलाएका हुन् भन्ने दाबी स्रोतको छ । ‘इन्फिनिटी होल्डिङ्स’ नामक कम्पनीको ‘चेयर म्यान’ पनि भट्ट नै हुन् । भट्टको यहीँ कम्पनीमार्फत इटालियन हतियार उत्पादक कम्पनी ‘बेर्रेटा’ले उत्पादन गर्ने हतियार खरिद गर्न लागिएको छ ।

बेर्रेटा कम्पनीबाट उत्पादित एउटा हतियारको मूल्य ७ सयदेखि ८ सय युरो पर्ने भएपनि ३२ सय युरोमा बुक गरिएको छ । 

रकमान्तर गरिएको ८४ करोड र थप ५१ करोड गरी कुल १ अर्ब ३५ करोडको हतियार किन्न लागिएको भएपनि यसमा न कार्यविधिको जी टू जी विधि अपनाईएको छ, न ग्लोबल टेन्डर नै आह्वान गरिएको छ । इटालीको बिएस कार्गो एसईले कोरियन एयरलाइन्समार्फत बुक गरिएका हतियार नेपाल ल्याईदिने बताईएको छ । 

रकमान्तर गरिएको ८४ करोड मध्येबाट खर्च हुने रकम जम्मा २४ करोड मात्रै भएको र बाँकी ६० करोड रुपैयाँ कमिशनमा जाने छ । त्यस्तै थपिएको ५१ करोड त सबै नै कमिशनमा जाने गरी सेटिङ गरिएको छ ।

यसरी १ अर्ब ११ करोड रुपैयाँ कमिशन प्रधानमन्त्रीदेखि गृहमन्त्री र हालै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मासहित सत्तारुढ दलका ठूला नेताको हातमा पुग्ने स्रोतले बताएको छ । कसले कति पाउने भन्ने चाँजोपाँचो सबै दीपक भट्टले नै मिलाएका छन् ।

यसमा नेपाल प्रहरीको नेतृत्व र उच्च अधिकारीलाई पनि कमिशन र बढुवाको प्रलोभनमा पारी बाहिरै तयार पारिएको फाइललाई सदर गराउन लगाईएको दाबी स्रोतले गरेको छ । तर, प्रहरीको नेतृत्व नै हतियार खरिद गर्न तयार छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved