नेपाल ग्रामिण विकास बैंकले निष्काशन गरेको एफपीओमा अत्यधिक आबेदन परेको छ। भदौ २७ देखि ३१ गतेसम्म बिक्री खुला गरिएको नेपाल ग्रामिणको एफपीओमा २९ गुणा बढीले आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
नेपाल ग्रामिणले प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता एफपीओमा २ लाख ५४ हजार बढी आवेदकबाट २ अर्ब ७४ करोड रुपैयाँ बराबरको आबेदन परेको जनाइएको छ।
प्रभु क्यापिटलका अनुसार नेपाल ग्रामिणको एफपीओमा कुल २ लाख ५४ हजार ८५२ आबेदकबाट २ अर्ब ७४ करोडको आबेदन परेको छ। जसमा ९७ हजार ५ सयले मात्र १० नेपाल ग्रामिणको १० कित्ता पाउनेछन।
यस आधारमा करिब ३ जना आवेदक मध्ये एक जनाले मात्र गोलाप्रथाबाट नेपाल ग्रामिणको १० कित्ता एफपीओ पाउनेछन। आवेदकको संख्या २ देखि ३ लाख भएकाले एफपीओ बाँडफाँड ४० दिन भित्र सम्पन्न हुने क्यापिटलले जनाएको छ।
लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार ८ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। २०७१ मा ५ माइक्रोफाइनान्स कम्पनी मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ।
माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गर्न लागेको हो। एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।
हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ।