नेपालको पर्यटन : दुहुन नजानिएको लैनो गाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 02:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

देशको आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र हो। मूलुकलाई आर्थिक रुपमा सबल बनाउन पर्यटन उद्योगको विकास गरि पर्यटकीय गन्तव्यको व्यापक प्रचार गर्नुपर्छ। हामीसँग पर्यटकका लागी देखाउन सक्ने धेरै ठाउँ, चिज बस्तु र सम्पदाहरु छन् । प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता एकै ठाउँमा मिसिएको छ । संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथादेखि विश्व शान्तिका अग्रदुत गौतम बुद्धको देशले पर्यटनबाट खासै लाभ उठाउन सकेको छैन । प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता मिश्रणको अर्को नाम हो ‘नेपाल’ । 

नेपालको पर्यटन क्षेत्र विकासको इतिहास 

नेपालको पर्यटन क्षेत्र विकासको इतिहास त्यति लामो छैन। २००७ सालसम्म नेपाल एउटा बन्द समाज जस्तो थियो। राणाकालमा बन्द समाज निर्माण गरिएकाले न त नेपाली समाजको बाहिरी दुनियाँसँग सम्पर्क हुन सक्यो न त बाहिरी दुनियाँको नेपाली समाजसँग । राणा शासनको अन्त्य भएको २ वर्षपछि सन १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरे । एडमन्ड हिलारी र तेन्जिङको सफल सगरमाथा आरोहण पश्चात् नेपाल पनि पर्यटकीय गन्तव्य हो भन्ने कुरा विश्व समुदायलाई थाहा भयो। 

सन् १९५० को दशकबाट नेपालमा पर्यटन उद्योगको सुरुवात् भएको मानिन्छ । त्यसपछि सन् १९६० र ७० को दशक नेपाली पर्यटकको विषयमा विश्वव्यापी प्रचार भयो ।  सन् २०१० देखी २०३० सम्म पर्यटकका आवतजावत वार्षिक ३.३५ ले बृद्धि भएर १ अर्ब ८० करोड पुग्ने अनुमान विश्व पर्यटन संगठनले गरेको छ । विश्वभर पर्यटन अर्थतन्त्रको आकार १७४ खर्ब  (१५ खर्ब अमेरिकी डलर) भन्दा माथि छ तर नेपालले सन् २०१७ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब ८ करोड मात्रै राजश्व उठाएको छ।  

पर्यटकको बसाई अविध र खर्च घट्दो क्रममा 

अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण अनुसार २०३२ पुससम्म अर्थात् सन् १९७५ मा पर्यटकको संख्या ९२ हजार ४ सय ४० थियो। २०४२ सालमा १ लाख ८० हजार ९ सय ९८ पुग्यो । त्यसको एक दशकपछि सन् १९९५ मा ३ लाख ६३ हजार ३ सय ९५ पुग्यो । सरकारले नेपालमा अत्याधिक पर्यटक भित्र्याउने उद्देश्यले सन १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष मनायो । उक्त वर्ष नेपालमा ४ लाख ६३ हजार ६ सय ८४ पर्यटकले भ्रमण गरे । त्यसको १० वर्षपछि सन् २००८ मा ५ लाख २ सय ७७ पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१७ मा भारतीय पर्यटकबाहेक ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन। 

२३ बर्षको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या बढेपनि लक्ष्य अनुसार पर्यटकको सरदर बसाइ अवधि भने उल्टै घटेको छ । ०३२ सालमा प्रति पर्यटकको सरदर बसाई १३.१ दिन थियो । त्यसपछि २०४२ सालमा त्यो बसाई घटेर ११.३ दिन मा झर्यो। २०५२ सालमा ११.२६ दिन, २०६२ सालमा ९.१ दिन प्रति पर्यटकको बसाइ रह्यो । सन् २०१४ मा १२.४४ दिन र सन् २०१७ मा १२.६ दिन प्रति पर्यटकको बसाई अवधि रहेको थियो।  

त्यस्तै, पछिल्लो समय प्रति पर्यटक प्रतिदिन खर्चसमेत घट्दै गइरहेको छ । सन् २००२ मा प्रति पर्यटक प्रतिदिन खर्च ७९.१ डलर थियो । त्यो सन् २००८ मा ६० डलरमा झर्यो। सन २०१४ मा ४८ अमेरीकी डलर झर्यो भने सन २०१७ मा ५४ डलरमा उक्लिएको छ । 

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान 

देशको कुलग्राहस्र्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान सोचेजस्तो हुन सकेको छैन । सरकारले अपेक्षा गरेजस्तो पर्यटनबाट नेपाली अर्थतन्त्रले लाभ लिन सकेको छैन । आ.व २०६३÷६४ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । यो कुल हाम्रो निर्यातको आर्जित मुद्राको अनुपातमा ६१.३० हो । वस्तु तथा सेवा निर्यातबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३५ र आर्जित कुल विदेशी मुद्राको अनुपातमा ५.१५ हो भने उक्त रकम आ.व २०७३÷७४ को जिडिपीको २.३५ प्रतिशत हो । 

२४ घण्टाभन्दा बढी समय विताउनको लागी आफ्नो बसोबास रहेको स्थानबाट बाहिर जाने मानिसलाई पर्यटकको रुपमा लिइन्छ । विश्व पर्यटन संगठनको सन् २०१४ को प्रतिवेदनले जनाए अनुसार त्यो वर्ष १.१ अर्ब मानिसले पर्यटकको रुपमा भ्रमण गरेका छन् । यति धेरै मानिस पर्यटकको रुपमा भ्रमणमा निस्कदा समेत नेपालले भने २०१७ सम्म प्रतिवर्ष दशलाख पर्यटकलाई समेत ल्याउन सकिरहेको छैन । त्यसमा पनि २०२० मा दोस्रो नेपाल भ्रमण वर्ष मनाउने र त्यसमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ।

प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकेको छैन भने त्यसका लागि ठोस तयारि समेत गर्न सकेको छैन। २०२० लाई पर्यटन बर्ष मनाउने भनेर घोषणा गरीएपनि त्यसको नेतृत्त्व कसले लिने र सम्पूर्ण व्यवस्थापन कस्ले गर्ने भन्ने कुरामै सरकार स्पष्ट हुन सकेको छैन।  

सरकार आफैले केहि गर्न नसक्दा उसले निजि क्षेत्रलाइ समेत बिश्वासमा लिन सकेको छैन। सरकार र नीजी क्षेत्रबीचको तालमेल नमिल्दा अहिलेदेखी नै धेरै किचलो देखा परिसकेका छन् । केही पर्यटन व्यवसायीले गरेको बदमासिका कारण पनि सरकार अलिक कठोर नै हुनुपरेको छ । यसविषयमा विजपाटी डटकमले धेरै पटक विभिन्न शीर्षकमा समाचार समेत लेखिसकेको छ । 

धार्मिक पर्यटन 

नेपाल बुद्ध र हिन्दु धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल मानिन्छ । गौतम बुद्धको जन्मभूमिदेखि पशुपतिनाथ, मुक्तिनाथ, सीताको जन्मभूमि जनकपुर पनि नेपालमै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको जनकपूर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरिसकेका छन् । लोन्ली प्लानेटले सन २०१८ का लागि बुद्धको जन्मभूमि लुम्बिनीलाई एसियाको सातौँ सर्वोत्कृष्ट गन्तव्यका रुपमा लिएको छ । 

हिमपर्यटन  

नेपालमा संसारको अग्लो हिमशिखर सगरमाथादेखि ६ हजार मिटरभन्दा अग्ला १ हजार ३१० वटा हिमाल छन् । तीमध्ये ४ सय १४ हिमाल आरोहणका लागि खुल्ला गरिएका छ । ८ हजार मिटरका कुल १४ हिमालमध्ये ११ वटा नेपालमै छन् । यीनको भरपूर उपयोग गरी नेपालको पर्यटनलाई साहसिक पर्यटनको रुपमा विकास गर्न सक्नुपर्दछ । यसबाट वर्तमान सरकारले भनेजस्तो पर्यटन क्षेत्र साँच्चिकै आर्थिक विकासको मेरुदण्ड हो भनेर चिनाउन पनि सकिन्छ । 

जल पर्यटन 

नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी मुलुकका रुपमा चिनिन्छ । डब्लुडब्लुएफका अनुसार नेपालमा ६ हजार नदी तथा खोला ५ हजार ३ सय ५८ वटा ताल ३२ वटा हिमनदी २३ वटा हिमताल ५ हजार ताल १ हजार ३८० जलाधार ५ हजार १८३ वटा पोखरीसहितको सिमसार छन् । 

यिनको उपयोग गर्दै विदेशीलाई आकर्षीत गर्न सक्ने धेरै आधारहरु छन् । तर हामीसँग काम गर्नको लागी कुनै ठोस योजना छैन । भएका नदी, ताल तलैयाहरुको संरक्षण त परै जाओस्, कति संख्यामा छन् भन्ने तथ्यांक पनि विदेशी संस्थाले दिनुपर्ने बाध्यता छ । 

वनपर्यटन 

नेपालमा १ सय १८ किसिमका वन प्रणाली छन् । १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्षण एउटा शिकार आरक्षण, ६ वटा संरक्षण क्षेत्र, ११ वटा मध्यवर्ती क्षेत्र छन । नेपालको वन क्षेत्रभित्र पाटेबाघ, एकसिङ्गे गैडादेखि २०७ किसिमका स्तनधारी, ८६७ प्रजातिका चरा ४२ किसिमका उभयचर, १०० प्रजातिका सरिसृप छन् । वन्यजन्तु वनपैदावर र वन्यजीवनलाई पर्यटनसँग जोडेर भरपुुर उपयोग गर्न सकियो भने यसले हाम्रो अर्थतन्त्रलाई धेरै गति दिन सक्दछ । 

पर्यटक सत्कार र व्यवस्थापन गर्ने आन्तरिक क्षमताको विकास गर्दै सोही अनुरुपको भौतिक पूर्वाधारको विकास गर्ने र बाह्य जगतमा नेपालको पर्यटन क्षेत्रका बारेमा पर्याप्त प्रचार प्रसार गर्ने हो भने नेपालले यसबाट मनग्य लाभ उठाउन सक्छ । अहिलेसम्म नेपालको पर्यटन क्षेत्रबाट हामीले लिनुपर्ने जति मात्रै नभई लिन सक्नेजति पनि लाभ लिन सकेका छैनौ । 

समग्रमा भन्दा नेपालको पर्यटन क्षेत्र दुहुना गाई हो । तर हामीले दुहुन सकेका छैनौ । घरमा लैनो गाई पालेर त्यसबाट दुध दही लगायतका परिकार खान छोडेर हामी ढुङ्ग्रो बोकेर अर्काको घरमा मोही माग्न धाईरहेका छौँ । समयमा हात लिन सकिएन भने लैनो गाईले पनि दुध छोड्छ भन्ने तर्फ हामीले सोच्ने बेला आएको छ । विश्व पर्यटन दिवसको अवसरमा हामीले नेपालको पर्यटकीय गन्तव्यका स्थानको खोजी गर्दै भएका गन्तव्यको भरपूर प्रयोग गरी मुलुकलाई पर्यटनको माध्यमबाट योगदान दिने र त्यसको लागी ठोस कार्ययोजना बनाउने संकल्प गर्नुपर्छ ।

नेपालका ग्रामिण क्षेत्रका पर्यटकीय गन्तव्यहरु :











यसअघि : 

भिजिट नेपाल २०२० सफल पार्ने जिम्मेवारी कसको ?
‘पर्यटन उद्योगको विकासका लागी ४ कुराहरु अपरीहार्य छन्’ टान अध्यक्ष दाहालको अन्तवार्ता



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved