नेपाली सेनाले सगरमाथा सहित ६ हिमालको सफाइ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 03:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई वर्षअघि सगरमाथा हिमालको सफाइ गरेको नेपाली सेनाले यस वर्ष सगरमाथा सहित ६ वटा हिमालको सफाइ गर्ने भएको छ । सेनाले आगामी बैशाखबाट ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ गर्ने जनाएको छ । 

नेपाली सेना अन्तरगतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काका अनुसार बेस क्याम्प र त्यसभन्दा माथिको करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ । जसमा १८ टनभन्दा बढी फोहोर बेस क्यापभन्दा माथिबाट नै संकलन गर्ने लक्ष्य रहेको छ । 

उनका अनुसार सफाइ टोलीलाई आगामी चैतको ३१ गते ब्यानर हस्तान्तरण गरेर अभियानको सुरु गरिनेछ । सफाइ टोलीमा सेनाका ४३ सदस्य सहित शेर्पा लगायतका व्यक्तिको सहभागीता रहने सेनाले जनाएको छ । विश्व वातावरण दिवस अर्थात २०७८ साल जेठ २२ गते सफाइ अभियान सकिनेछ । सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने जनाएको छ । 

हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको सहायक रथी खड्काले जानकार दिए । उनका अनुसार उक्त रकम मध्येमा नेपाली सेनाको साढे दुई करोड र वन तथा वातावरण मन्त्रालयले १० करोड रहेको छ । 

सेनाले सन् २०१९ मा पहिलो पटक सगरमाथा सफाइ अभियान सुरु भएको थियो । सेनाले ६ वटा हिमाल सफाइका सदस्यलाई मुस्ताङको जोमसोममा विशेष तालिम दिनेछ । 

सफाइ अभियानमा पर्यटन विभागले समन्वयकारी भुमिका निर्वाह गर्ने जनाईएको छ । यसैगरी उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका,थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved