
नेपाल सरकारको आयोजनामा काठमाडौँ सुरु भएको तेस्रो लगानी सम्मेलन आज समापन हुँदै छ । समापन कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् । उनले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले समापन मन्तब्य राख्ने छन् । अन्त्यमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भत्ताले लगानी सम्मेलनका उपलब्धि घोषणा गर्ने कार्यक्रम छन् । यी बाहेक आज पनि विभिन्न प्यानल डिस्कसन हुने छन् ।
हिजो आइतबार सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ व्यक्ति सहभागी भएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सहभागी मध्ये छ सय ८० व्यक्ति विदेशी छन् । त्यसमध्ये एक सय ८६ जना भारतका र दुई सय चालिस जना चिनियाँ रहेका छन् ।
सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।
सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् ।