रामेछाप महोत्सवः जिल्लाको देशव्यापी प्रचारदेखि तामाकोशी र्‍याफ्टिङसम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 04, 2020 | 02:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

यहीँ फागुन ६ गते देखि १७ गतेसम्म रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा ‘दोस्रो रामेछाप महोत्सव’को सफल आयोजना भयो । ‘दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०७६’ नाम दिईएको उक्त महोत्सव विभिन्न पक्ष र दृष्टिकोणबाट सफल भयो । 

राजनीतिज्ञ र व्यवसायीको सम्बन्ध प्रगाढ

रामेछाप उद्योग वाणिज्य संघ, मन्थलीको आयोजना, सामाजिक सशक्तिकरण नेपालको सह–आयोजना र मन्थली नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित सो महोत्सवले राजनीतिक र व्यवसायीक सम्बन्धलाई जोड्ने काम गर्‍यो । यर्थमा की, कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले गरे भने समापन नेपाल उद्योगा वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरे । 

महोत्सवको कार्यक्रम संयोजक सोनु कुमार रोकाको चतुर युवा सोच र उद्योग वाणिज्य संघ रामेछापको व्यवसायीक चतुर्‍याईँले यो सम्भव भयो । अझ महत्वको विषय के छ भने, चन्द्र ढकाल महासंघको आगामी बरिष्ठ उपाध्यक्षका उम्मेद्वार समेत हुन् । निजी क्षेत्रको नेपालकै ठूलो बैंक ग्लोबल आईएमइ बैंकका अध्यक्ष समेत रहेका ढकाललाई आगामी महाधिवेशनमा रामेछाप उद्योग वाणिज्य संघले समर्थनको घोषणा पनि गरेको छ ।

जिल्लाका राजनीतिक दल एकै ठाउँमा

प्रायः राजनीतिक दलहरु मञ्च एउटै हुँदा कटाक्ष र आरोप प्रत्यारोपमा उत्रिन्छन् । तर रामेछाप महोत्सव सफल बनाउने मामिलामा कुनै पदि दलले कञ्जुस्याईँ गरेनन् । आ–आफ्नो क्षेत्रबाट नियमित प्रचार गरिरहे । 

मञ्चमा उभिएर भाषण गर्दापनि सबै दलका प्रतिनिधिहरुको एकै स्वर सुनियो, ‘महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौँ ।’ यसकारण महोत्सवले जिल्लाको पहिचान र जिल्लाको प्रतिष्ठासँग जोडिएको विषयमा राजनीतिक दलहरु एक हुन्छन् भन्ने सन्देश प्रवाह गरेको पुष्टि हुन्छ । 

मन्थली नगरपालिका मेयरको अब्बल भूमिका

सामाजिक सशक्तिकरण नेपालले संयोजन गरेर गतवर्ष पनि रामेछाप महोत्सवको आयोजना भएको थियो । जिल्लामा पहिलोपटक आयोजना भएको त्यो महोत्सवमा जस्तै या वर्षपनि मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको भूमीका अब्बल रह्यो । मेयर बस्नेत प्रशासनिक मात्रै नभई शारीरिक काम गर्न पनि पछि हट्दैनन् । 

नागरिकसँग निकटको नाता राख्न रुचाउने बस्नेतले महोत्सवको सफल आयोजनाका लागि निर्वाह गरेको भूमीकालाई नकार्ने हो भने महोत्सवको सफलता नै मान्न नसकिने कार्यसंयोजक रोकाको अनुभव छ । 

‘मेयर सापले गतवर्ष र यसवर्ष पनि जुन किसिमको भूमीका निर्वाह गर्नुभयो, त्यसबाट हामी अत्यन्त प्रभावित छौँ’ कार्यक्रम संयोजक रोका भन्छन्, ‘उहाँको युवाप्रतिको विश्वास र भरोसाले हामीलाई आगामी वर्षपनि अझ भव्यताका साथ महोत्सव आयोजना गर्न प्रेरित गरेको छ ।’ 

पर्यटकीय क्षेत्रको प्रचार र तामाकोशी र्‍याफ्टिङ 

दोस्रो रामेछाप महोत्सवले जिल्लाको पर्यटकीय सम्भावनालाई छर्लङ्ग उजागर गरेको छ । जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रचार गर्ने उदेश्यका साथ आयोजना गरिएको महोत्सवले जिल्ला सदरमुकाम मन्थलीमा र्‍याफ्टिङको सम्भावनालाई थप बलियोसँग प्रस्तुत गरेको छ । 

नेकपा निकट विद्यार्थी संगठन ‘अनेरास्ववियु’ रामेछापले आफ्नो संगठनको झण्डासहित तामाकोशी नदीमा र्‍याफ्टिङको आयोजना गर्‍यो । यसले मन्थली हुँदै बग्ने तामाकोशीमा दीर्घकालिन र्‍याफ्टिङ सञ्चालन गर्न सकिने सम्भावना प्रस्तुत गरेको छ । मन्थलीमा र्‍याफ्टिङ सञ्चालन गर्न सक्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मन्थली एउटा पूर्ण गन्तव्य बन्ने र जिल्लाकै पर्यटन बजारमा योगदान दिने कार्यक्रम संयोजक सोनु कुमार रोका बताउँछन् । 

‘मन्थली जिल्लाको सदरमुकाम हो, ठूलो बजार हो । त्यसैले बाहिरबाट आउने मान्छे मन्थली भएर जिल्ला आउने गर्छन्’, रोका भन्छन्, ‘त्यसैले मन्थलीलाई चिनारी गर्दै जिल्लालाई नै पर्यटन हब बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ 

यति मात्र नभई महोत्सव आयोजना भएको स्थल परिसरमा जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार हुने गरी प्रचार सामग्री समेत टाँसिएका थिए । 

कलाकारमार्फत रामेछापको प्रचार

जिल्ला भित्रका व्यवसायीसहित व्यवसायीको छाता संगठनका नेताहरुलाईसमेत एक ठाउँमा उभ्याएको महोत्सवले जिल्लाका सबै खाले कलाकारलाई महत्व दियो । यसलाई आयोजकले महत्व दिएको मात्रै भनेको छैन, उनीहरुलाई सम्मान गरेको प्रतिक्रिया दिएको छ । 

कार्यक्रम संयोजक सोनु कुमार रोका आफू पनि कलाकारलाई सम्मान गर्ने युवा हुन् । जिल्लाबाट रामकुमार नेपाली नेपाल लोक स्टारमा भाग लिँदा उनले जति प्रचारमा सहयोग अरुले सायदै गरे । गतवर्ष पनि आयोजित प्रथम रामेछाप महोत्सवको समेत संयोजकत्वको भूमिका कुशलतापूर्वक निर्वाह गरेका उनले यसवर्ष जिल्लाका कुनै पनि कलाकार नछुटुन् भनेर सचेत थिए । त्यसैले सोही अनुसार कार्यसम्पदान गरे र जिल्लाबाट प्रतिनिधित्व गरेर विभिन्न विधाको कलाकारितामा रहेकाहरुले महोत्सवको अपनत्व लिए ।

जिल्ला भित्रका मात्रै नभई जिल्ला बाहिरका समेत कलाकार रामेछाप पुगे । राष्ट्रिय स्तरमा निकै ख्याती कमाएका उनीहरुले रामेछापेलीको आतिथ्य सत्कार व्यवहारमै महशुस गरे । यसले पनि जिल्लाको प्रतिष्ठा उच्च भएको छ । 

जिल्लास्थित संघसंस्था र समुदायको अपनत्व

जिल्ला सदरमुकाम केही गर्मी हुने स्थान भएपनि समग्रमा रामेछाप हिमाली जिल्ला हो । सरकारको वर्गीकरणमा रामेछाप हिमाली जिल्लाको सूचीमा छ । देशको संघिय राजधानी काठमाडौँबाट रामेछाप जिल्ला सदरमुकाम मन्थली करिब १४१ किलोमिटरको दूरीमा छ । यति नजिकै भएर पनि विकासका दृष्टिकोणले केही पछाडी परेको रामेछापमा विभिन्न संघसंस्थाहरु पुगेका छन् । 

महोत्सवमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुले उल्लेख्य सहभागीता जनाए । सार्वजनिक संघसंस्था, गैह्र सरकारी संस्था, सार्वजनिक तथा नीजि विद्यालयहरु महोत्सव सफल बनाउन दत्तचित्त भएर लागे । यसले पनि जिल्लास्थित संघसंस्था र विभिन्न निकायहरुले महोत्सवको अपनत्व लिएको भन्न सकिन्छ ।

महोत्सव उद्घाटनका दिन सम्भव भएसम्म सबै समुदाय आ–आफ्ना झाँकीसहित उपस्थित भए । नेवार समुदायको लाखे नाँच, माझी र अन्य समुदायको आफ्नो संस्कृति अनुरुपको झाँकीले महोत्सवको शोभा बढायो । 

समग्रमा ‘दोस्रो रामेछाप महोत्सव–२०७६’ले जिल्लाको वर्तमान अवस्थाको देशव्यापी प्रचार र जिल्लाको व्यवसायीक तथा विकासको बलियो सम्भावनाबारे सरोकारवालाहरुलाई झकझक्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved