किशोर प्रधानः होटलको कामदारदेखि महासंघमा २८ वर्षको अनुभवसम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 03, 2020 | 07:25:08 PM मा प्रकाशित

व्यवसायी, उद्योगी, उद्योगीको नेतृत्व र उद्यमी व्यवसायीका पीडा । सामान्य लगानी गरेका व्यवसायीले पाउन नसकेको व्यवसायीक वातावरण र सहजताबारे महशुस गरेको मान्छे नेतृत्वमा हुनसक्छ, अथवा उ प्रीय नेता बन्न सक्छ । तर, दुर्भाग्य महासंघले जिल्ला नगरबाट उठेका व्यवसायीलाई अहिलेसम्म अध्यक्षका रुपमा पाउन सकेको छैन ।

त्यही तल्लो तहबाट व्यवसायी र उद्योगीका समस्या नजिकबाट बुझेर खारिएका पात्र हुन् किशोर प्रधान । जो महासंघको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ वर्षे इतिहासमा प्रधान एक्लैले २८ वर्ष बिताएका छन् । २८ वर्षअघि उद्योग संगठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघमा आईपुगेका किशोर प्रधान अहिलेको अवस्थामा महासंघमा अपरीहार्य जस्तै भएका छन् । राजविराजमा जन्मिएर ‘नेपाल जेसिस’ को राष्ट्रिय अध्यक्ष भएपछि महासंघ प्रवेश गरेका प्रधान २०५० साल चैत्रदेखि निरन्तर महासंघमा क्रियाशील छन् ।

"तल्लो तहबाट व्यवसायी र उद्योगीका समस्या नजिकबाट बुझेर खारिएका पात्र हुन् किशोर प्रधान"

उदयपूर सिमेन्ट स्थापनामा अब्बल भूमीका

संघर्षशील पीताका सन्तान रहेका किशोर प्रधानले विराटनगरमै कमर्शमा १२ कक्षा सम्मको अध्ययन गरे । कमर्शमै ग्र्याजुएशन गरेका प्रधान मोरङ क्याम्पसमा अध्ययनकै बेला विद्यार्थी राजनीतिमा होमिए । 

काठमाडौँ आएर व्यवसायीक जीवनको सुरुवात गरेपनि उनले आफ्ना बुबासँगै व्यवसायका आधारभूत ज्ञान आर्जन गरे । जुनियर चेम्बर इन्टरनेशनल (जेसिस) मा आवद्ध भएर समाज सेवामा सक्रिय भएर सानै उमेरदेखि लागेका प्रधान १९८८ मा जेसिकको राष्ट्रिय अध्यक्ष भएका थिए।

त्यसै समय २०४६ सालतिर सरकारले उदयपूर सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेको थियो । जापान सरकारको सहयोगमा उदयपूरमा स्थापना हुन लागेको त्यो सिमेन्ट उद्योग नेपालको इतिहासमै गौरवको कदम थियो । तर, स्थानीय बासिन्दाले उद्योग स्थापना हुन नदिने अडान लिँदै आए । स्थलगत अनुगमनका लागि उदयपूर पुगेका जापानी नागरिकलाई स्थानीयबासीले कुटेर लेखेटेपछि सरकार आजित भयो ।

उद्योग स्थापना गर्नुपर्ने, जापानलाई लगानीको वातावरण छ भनेर विश्वास दिलाउनुपर्ने दबाब कायमै रहेपनि सरकारले स्थानीयबासीलाई विश्वासमा लिन सकेको थिएन । यसै शिलशिलामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सरकारका अधिकारीलाई भेटेरै स्थानीयलाई विश्वासमा लिने काम किशोर प्रधानले गर्न सक्ने र सो कामको जिम्मा दिँदा फरक नखाने जानकारी गराए । जोशीको कुरालाई पत्याएर सरकारले प्रधानलाई उदयपूर पुगेर स्थानीय बासिन्दालाई विश्वासमा लिएर उद्योग स्थापना गर्ने वातावरण बनाउन भन्यो ।

राजविराजबाट उनी लगातार ३ महिनासम्म उदयपूर धाएर गाउँमा उद्योग स्थापना हुँदाका फाइदाबारे स्थानीयलाई निरन्तर जानकारी गराइरहे । फलस्वरुप, गाउँलेहरु उद्योग खोल्न दिन सहमत भए । त्यसपछि जापानको लगानीमा उदयपूर सिमेन्ट उद्योगको जन्म भयो ।


कामदारदेखि उद्योगीसम्म

काठमाडौँ आएपछि उनले होटल अन्नपूर्णमा २ वर्ष काम गरे । काम सिकेपछि काठमाडौँको रत्नपार्कमा रेष्टुरेन्ट पनि खोले । तर, नचलेपछि उनले रेष्टुरेन्ट पेशा छोडेर बसे । काठमाडौँमा छोरो त्यत्तिकै बसिरहेको जानकारी पाएपछि उनका पीताले उनलाई राजविराजमै फर्काएर आफ्नो उत्तराधिकारीका रुपमा काम सिकाए ।

राजविराज फर्किएपछि उनी आफ्ना पीताको व्यवसायीक यात्राको सारथी सँगै सामाजिक क्रियाकलापमा पनि जोडिए । जुनियर चेम्बर इन्टरनेशनल (जेसिस) मा आवद्ध भएर उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्न थाले ।

सन् १९७८ मा राजविराज जेसिसको अध्यक्ष भएका उनी २०३६ सालमा नेपाल जेसिसको केन्द्रीय उपाध्यक्ष बने । २०३५ सालमा बैबाहिक जीवनमा बाँधिएका उनी पीताको लय समातेर १५ वर्षसम्म ठेक्का पट्टाको व्यवसायमा केन्द्रित रहेका थिए । पेशासँगै सामाजिक अभियानमा पनि लागेका प्रधान १९८८ मा जेसिसको राष्ट्रिय अध्यक्ष भए ।

"पेशासँगै सामाजिक अभियानमा पनि लागेका प्रधान १९८८ मा जेसिसको राष्ट्रिय अध्यक्ष भए"

उनले जेसिसमा रहँदा निर्वाह गरेको भूमीकाबाट प्रभावित भएका कुश कुमार जोशीको विश्वासलाई सफलतापूर्वक पूरा गरेका उनलाई स्थानीयलाई विश्वास दिलाएर उद्योग खोल्न सहयोग गरेवापत जापानिजले ब्रिफकेशमा राखेर मोटो रकम इनाम दिएका थिए । तर, मूलुकको प्रतिष्ठासँग जोडिएको विषयमा आफूले सहयोग गरेका कारण पैसा नचाहिने भन्दै फिर्ता गरिदिए । उनको यो कदमबाट खुशी भएका जापानिजले के सहयोग चाहिन्छ भनेर सोधेका थिए । त्यसपछि, उनले आफू पाइप उद्योग खोल्न लागेको र यसमा प्राविधिक सहयोग गर्न आग्रह गरे । उनको आग्रह स्वीकार गर्दै जापानिज नागरिकहरुले आफूहरुले जानेको प्राविधिक सहयोग गर्ने बचन दिए ।

यसपछि उनले हिउँ पाइप उद्योग खोले । १५ वर्षसम्म ठेकेदारका रुपमा चिनिएका किशोर प्रधान उद्योगीका रुपमा उदाय । सँगै फर्मास्युटिकल्स (औषधि) उद्योग पनि खोले ।

‘अमेरिकाबाट पैसा उठेन’

२०४८ सालबाट उद्योगी बनेका किशोर प्रधानले उदयपूर सिमेन्ट उद्योगमा आफ्ना उत्पादन बिक्रि गरे । यो प्रोजेक्ट सकिएपछि उनले भएको आम्दानीबाट विराटनगरमा गार्मेन्ट उद्योग खोले । तर, गार्मेन्टको सामान अमेरिका गएपनि पैसा उठेन । बैंकमार्फत कर्जा लिएर उद्यम गर्दै आएका उनले त्यतिबेला १७ सय जनालाई रोजगारी दिएका थिए । यीमध्ये १२ सय महिला थिए । केही गर्दा पनि नभएपछि उनले उद्योग बेचेर बैंकको कर्जा तिरे ।

"बैंक मार्फत कर्जा लिएर उद्यम गर्दै आएका उनले त्यतिबेला १७ सय जनालाई रोजगारी दिएका थिए"

निरन्तर ठक्कर खाएपनि उनले कहिल्यै हार मानेनन् । आफ्नो बन्द भएको उद्योग र उद्योगमा काम गर्नेहरुको रोजिरोटी खोसिएको पीडाले प्रधान निदाउन सकेनन् । पुनः सयौलाई रोजगारी दिने संकल्पसहित उनले सिरहाको लाहानमा पाइप उद्योग नै खोले । पछि बिजुलीको पोल उद्योग पनि सञ्चालनमा ल्याए । खुद्रा व्यापारमा पनि हात हालेका प्रधान पछि भने व्यापारबाट बाहिरिए । हाल उनी ५ वटा उद्योगको मालिक छन् ।

‘१८ लाख ऋणमा रहेको संस्था ब्यूताएँ’

आफूले चलाएका उद्योगहरु बेच्नुपरेपछि उनले संगठित संस्थाहरु खोज्न थाले । संस्था खोज्दै जाँदा उनले ‘उद्योग संगठन मोरङ’ फेला पारे । मेहन्द्र गोल्छा (शोखर गोल्छाका दाजु) ले गोदाममा राखेरै भएपनि जसोतसो चलाईरहेको यो संगठनमा उनी आवद्ध भए । उनै महेन्द्र गोल्छासँग सल्लाह गरेर गोल्छा अध्यक्ष, किशोर प्रधान महासचिव र मोतिलाल दुगड (हाल उद्योग राज्यमन्त्री) सचिव भएर ढुकढुकी मात्रै बाँकी रहेको उद्योग संगठन मोरङलाई पुर्नजीवन दिए ।

१८ लाख रुपैयाँ ऋणमा रहेर शिशिरमा पात झरेर सुकेको जस्तै बनेको यो संस्था किशोर प्रधानको प्रवेश भएपछि बसन्त ऋतुमा बनस्पितिका विरुवाले पालुवा हाले जस्तै हलक्क बढ्यो । संस्थामा आवद्ध भएपछि उनले औद्योगिक प्रवद्र्धन मेलाको आयोजना गर्ने योजना बनाए । उनको योजनामा २०५० सालमा राजा महेन्द्रबाट उद्घाटन भएर ‘कोशी महोत्सव–२०५०’ सफलताका साथ सम्पन्न भयो ।

"महेन्द्र गोल्छासँग सल्लाह गरेर गोल्छा अध्यक्ष, किशोर प्रधान महासचिव र मोतिलाल दुगड (हाल उद्योग राज्यमन्त्री) सचिव भएर ढुकढुकी मात्रै बाँकी रहेको उद्योग संगठन मोरङलाई पुर्नजीवन दिए"

त्यसै वर्ष उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य बने । त्यसपछि हालसम्म किशोर प्रधान महासंघकै सेवामा अनवरत लागिरहेका छन् । महासंघको राजनीतिमा भएपनि उनले राजविराज छोडेका छैनन् । सोही समयमा चीन र भारतसँग व्यापारिक नाकाको रुपमा किमाथांका नाका सञ्चालन गर्नुपर्ने योजनाका योजनाकार रहेका प्रधान विराटनगर विमानस्थलका समेत परिकल्पनाकार हुन् । अहिले राजविराज उद्योग वाणिज्य संघको अध्यक्ष अरुण प्रधान किशोरका छोरा हुन् ।

संस्थागत आवद्धता

किशोर प्रधान महासंघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी हुन् । ५३ वर्षको इतिहासमा उद्योग वाणिज्य महासंघमा जिल्ला नगरबाट कोही पनि अध्यक्ष बन्न नसकेको बताउने प्रधान हाल जिल्ला नगरतर्फका उपाध्यक्ष हुन् । सन् २०१३ देखि २०१५ सम्म र २०१८ देखि हालसम्म २ कार्यकाल उनी जिल्ला नगर उपाध्यक्ष बनिसकेका छन् ।

२०५० चैत्रदेखि हालसम्म महासंघमा रहेका प्रधान ७ कार्यकाल केन्द्रीय सदस्यका रुपमा रहे । महासंघको तालिम तथा विकास समिति, सदस्यता सुदृढीकरण समिति, उद्योग समिति, स्थानीय विकास समितिको सभापति भईसकेका उनी पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको सभापति पनि भएका थिए । नेपाल बंगलादेश उद्योग वाणिज्य संघको पूर्व कार्यकारिणी सदस्य रहेका प्रधान नेपाल चीन उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् ।

यसबाहेक उनले जेसिसका विभिन्न कमिटीमा रहेका कुशलतापूर्वक भूमीका निर्वाह गरिसकेका छन् ।

‘महासंघ मन्दिर र पूर्व अध्यक्षहरु देवता’ 

महासंघमा प्रवेश गरेपछि उनले मुख्यतः ३ कुरा योगदान गरे । ‘लोकल इकोनोमिक डेभलभमेन्ट (एलइडी), पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा उद्योग, व्यवसाय सञ्चालन गर्नुपर्ने उनका योजना अहिले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन अंगिकार गरेका मोडल हुन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ‘नेपाल बिजनेश फोरम’ को संस्थापक रहेका किशोर प्रधान महासंघमा हालसम्म पशुपति मुरारका र भवानी राणासँग काम गर्दा आफूले सन्तुष्टि पाएको बताउँछन् ।

‘म सबै सबै अध्यक्षलाई उत्तिकै आदार र सम्मान गर्छु, किनभने महासंघ मेरो लागि मन्दिर हो र सबै पूर्व अध्यक्षहरु मेरा देवता हुन्’ प्रधानले भने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved