ब्याटल ग्राउण्ड बुटवल: को हुन् मेयरका प्रत्यासी बाबुराम भट्टराई र खेलराज पाण्डे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 12:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा ७ सय ५३ वटै स्थानीय तहमा उठेका उम्मेदवारलाई लिएर चर्चा र बहस चलिरहेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार र उनीहरूको राजनीतिक पृष्ठभूमिका बारेमा मतदाताको चासो व्याप्त छ । 

उपमहानगरपालिकामध्ये सबैभन्दा बढी चर्चा यतिबेला बुटवलको रहेको छ । बुटवलमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरमा अगाडि सारेको छ भने सत्तारूढ गठबन्धनले खेलराज पाण्डेलाई अघि सारेको छ । दुवै गाउँ-टोल तहसम्म जनतासँग भिजेका र चिनिएका स्थानीय नेताहरू हुन् । 

यतिबेला एमालेलाई बुटवलको मेयर जितेर आफ्नो विरासत कायम राख्ने चुनौती छ भने सत्तारूढ गठबन्धनलाई एमालेको किल्ला भत्काउन चुनौती छ । गत २०७४ को स्थानीय निर्वाचनमा एमालेका शिवराज सुवेदीले बिजय हासिल गरेका थिए । त्यतिबेला सुवेदीसँग मेयरमा हारेका कांग्रेसका खेलराज पाण्डे अहिले एमालेका भट्टराईसँग भिड्न तयार भएका छन् । 

यस्तो छ २०७४ को मतपरिणाम - 

२०७४ सालमा बुटवलमा ६६ हजार ६ सय ६३ मतदाता थिए । तीमध्ये २३ हजार २ सय ४९ ले एमालेका सुवेदीलाई मत दिएर बिजयी गराए । 

सुवेदीका निकटम प्रतिद्वन्दी रहेका पाण्डेले त्यतिबेला २० हजार ८ सय ५१ मत ल्याएर पराजय बेहोरे । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले ११ सय ५१ मत ल्याएको थियो भने राष्ट्रिय जनमोर्चाले जम्मा १ सय ७३ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले भने कांग्रेससँग तालमेल गरेर उपमेयरमा जगतबहादुर पोखरेललाई उठाएको थियो । 

२०७४ सालकै आधारमा विश्लेषण गर्ने हो भने एमालेको मत धेरै देखिन्छ । माओवादी केन्द्रको मत त्यतिबेला पनि कांग्रेसलाई गएको थियो भने अहिले पनि कांग्रेसलाई नै जानेछ । तर एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको मतका कारण कांग्रेस उत्साहित देखिन्छ । 

अघिल्लो निर्वाचनमा बुटवलमा मेयर, उपमेयरसहित एमाले ९७ पदमध्ये ८९ पद आफ्नो पक्षमा पारेको थियो । १९ वडा रहेको बुटवलका १६ वडा अध्यक्षसहित प्यानलै एमालेले जितेको थियो । बुटवलमा २३ हजार ३ सय ९९ नयाँ मतदाताको संख्या थपिएको छ । थपिएको मतलाई निर्णायक मानिएको छ । 

को हुन् एमालेबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई ?

नेकपा एमालेले बुटवल उपमहानगर पालिकाको मेयरमा बाबुराम भट्टराईलाई आगाडि सारेको छ । त्यसैगरी उपमेयरमा सावित्रा अर्याल अगाडि सारेको छ ।  अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए ।

पार्टीका नेताहरु भूमिगतकालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए । 

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए । 

पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् । भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) को समेत अध्यक्ष बनेर कुशल नेतृत्व स्थापित गरेका थिए ।

को हुन् कांग्रेसबाट मेयरका प्रत्यासी खेलराज पाण्डे ?

५ फागुन २०२६ मा स्याङ्जामा जन्मिएका पाण्डे १३ वर्षको उमेरमा अविभावकसँग २०३८ सालमा बुटवलमा झरेका हुन् । पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए । त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित छन् ।

यो पनि : 

 काठमाडौं महानगरमा केशव स्थापित र सृजना सिंहको भीडन्त, यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

भरतपुर महानगरमा रेणु दाहाल र बिजय सुवेदीको भीडन्त : यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

वालिङको मेयरमा मामा-भान्जाको भिडन्त: उस्तै राजनीतिक प्रोफाइल, उस्तै इतिहास

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved