‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिए

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 11, 2022 | 12:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

घुस प्रकरणमा ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपालसँगै थप ३ कर्मचारी पनि डामिएका छन् । ६ लाख घुससहित पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको अनुसन्धानमा नेपालसहित अरु ३ कर्मचारी पनि डामिएका हुन् । 

१७ साउनको अपरान्हतिर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप–सचिव नेपाललाई अख्तियारको टोलीले ६ लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । 

म्याग्दीमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि अनुमति माग गर्दा पर्यटन मन्त्रालयका कर्मचारीले पटक पटक घुस मागेपछि व्यवसायी पूर्ण चौलागाई र टेकबहादुर पुनले ‘यो मितिमा, यति बजेको समयमा, यो ठाउँमा, यो व्यक्तिलाई, यो कामका लागि घुस दिँदैछौँ’ भनेर अख्तियारको टोलीलाई पूर्व जानकारी गराएपछि उपसचिव नेपाल रंगेहात समातिएका थिए।

यसरी समातिए नेपाल

प्याराग्लाइडिङको उडान अनुमतिका लागि पर्यटन मन्त्रालयले सैद्धान्तिक सहमति दिनुपर्छ । मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । यो महाशाखाको प्रमुख भने सहसचिव बुद्धिसागर लामिछाने छन् । उपसचिव नेपाल यही महाशाखा अन्तर्गतको हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखाका प्रमुख अर्थात् सिनियर एअर ट्राफिक कन्ट्रोल अफिसर हुन् ।

पटक पटक कागजात बनाएर लैजाँदा पनि कहिले फाइल नै अगाडी नबढाउने र कहिले फाइल नै हराईदिने गरेपछि व्यवसायीहरु आजित भए । पटक पटक मन्त्रालय धाउँदा एक दिन उपसचिव नेपालले आफ्नो खैरो रङको डायरीमा ‘७’ लेखेर ‘७ लाख घुस दिए काम गरिदिने’ संकेत गरे ।

यसअघि पनि कामकै लागि शाखा अधिकृत देखिका व्यक्तिलाई पटक पटक घुस दिँदै आएका व्यवसायीहरुले ‘अब पैसा दिँदैछौँ भन्ने जानकारी अख्तियारलाई गराऔँ’ भन्ने निष्कर्ष निकाले । र, सोही अनुसार उनीहरुले यसको पूर्वसूचना अख्तियारलाई दिए र सहमति अनुसारको ६ लाख रुपैयाँ बोकेर मंगलबार, १७ साउनमा नागपोखरीस्थित होटल अरण्यमा पुगे ।

पूर्व सूचनाका आधारमा अख्तियारको रेकी टोलीले सोही दिन बिहानदेखि उपसचिव नेपाललाई पछ्याईरहेको थियो । घुस बुझेर गाडीमा राख्नासाथ टोलीले उनलाई समात्यो ।

भएको के हो ?

पर्यटन व्यवसायी प्रेम चौलागाई र टेकबहादुर पुनले ‘पोखरा’को प्याराग्लाइडिङ अब अन्यत्र सार्नुपर्छ भनेर प्रक्रिया सुरु गरेको झण्डै ५ वर्ष भयो । यसका लागि उनीहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिख भन्ने ठाउँ रोजेका थिए। 

अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउन व्यवसायीहरुले ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रा.ली.को नामबाट पर्यटन मन्त्रालयमा २४ पौष २०७६ मा निवेदन दिए । फिजिबिलिटी रिपोर्ट तयार पार्ने काम पनि उनीहरुले गरे । तर, मन्त्रालयले ३ पटक उनीहरुले बनाएको फिजिबिलिटी रिपोर्ट अस्वीकार गर्यो । 

यसअघिः
‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

फिजिबिलिटी रिपोर्ट मिलेन भन्दै फर्काउँदै गर्नेमा तत्कालीन एटीसी अफिसर मुकेश डंगोल थिए । व्यवसायी चौलागाईका अनुसार उनी आफैँ घरमा बसेर फिजिबिलिटी रिपोर्ट बनाएर बिक्रि गर्ने गर्थे । उनले ६ लाख रुपैयाँ दिए आफूले नै फिजिबिलिटी रिपोर्ट बनाएर तत्काल काम अघि बढाईदिने आश्वासन दिए । 

‘काम होला नि त भनेर’ ललितपूरको लविम मलमा भेटेर डंगोललाई चौलागाईले ३ लाख र लाजिम्पाटको एउटा रेष्टुरेन्टमा भेटेर ३ लाख गरी ६ लाख रुपैयाँ दिए । डंगोलले फिजिबिलिटी रिपोर्ट बनाएर ल्याईदिए । उक्त रिपोर्ट मन्त्रालयले एसेप्ट पनि गर्यो । मुकेशले नै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पत्र लेखेर यस विषयमा अध्ययन सहितको राय पठाउन भने । 

क्यानले अध्ययनका लागि टिम बनायो । टिमलाई लिएर व्यवसायीहरु म्याग्दी गए । स्थलगत अध्ययनपछि क्यानले उक्त ठाउँमा प्याराग्लाईडिङ चलाउन दिँदा हुने राय सहितको प्रतिवेदन मन्त्रालयलाई दियो । 

यो अवधिमा कोरोना प्रभाव लगायतका कारण काम रोकियो । कोरोना प्रभाव कम भएपछि पनि काम भएन । त्यसपछि कामको लागि व्यवसायीहरु मन्त्रालयमा धाउँदा फाइल नै हराईसकेको जानकारी दिईयो । ३ महिनासम्म खोज्दा पनि फाइल भेटिएन ।

त्यसपछि फेरि फिजिबिलिटी रिपोर्ट बनाउन बाध्य पार्न खोजियो । किनकी, ६ लाख रुपैयाँ घुस लिएर मुकेश डंगोलले तयार पारेको फिजिबीलिटी रिपोर्टको दोस्रो ‘कपी’ डंगोलले पूर्ण चौलागाई र उनका साथी टेकबहादुर पुनलाई दिएका थिएनन् । उनले दिएको एउटा मात्रै ‘कपी’ दर्ता गरिएको थियो । त्यो पनि गायब बनाईयो अर्थात् हरायो भनियो ।

यसका लागि पुनः मुकेश डंगोलसँग पूरानै फिजिबिलिटी रिपोर्टको कपी खोज्दा उनी त अध्ययनका लागि जापान पुगिसकेका थिए । जापानमै भएपनि व्यवसायीहरुले सम्पर्क गर्ने प्रयास गरे । तर, मुकेश सम्पर्कमै आएनन् ।

त्यसपछि व्यवसायीको दाबी अनुसार मन्त्रालयकै शाखा अधिकृत एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलले आफूले फिजिबिलिटी रिपोर्ट बनाईदिने तर, यसका लागि ३ लाख रुपैयाँ लाग्ने भनिन् । पूर्णले यसअघि पनि ६ लाख तिरेर मन्त्रालयकै कर्मचारी मुकेश डंगोलमार्फत काम गराएकाले फेरि ३ लाख दिन नसक्ने जनाए । ३ लाख दिन नसक्ने भए २ लाखमा काम गरिदिने आश्वासन तनुजाले दिईन् ।

२ लाख रुपैयाँमा फिजिबिलिटी रिपोर्ट बनाउने ‘डिल’ भएपछि १७ जुन २०२२ मा मध्य बानेश्वरको वीङ फ्याक्ट्री रेष्टुरेन्टमा पुगेर तनुजालाई पूर्णले पैसा बुझाए ।

साथमा भएको एक लाखले नपुग्ने भएपछि मध्य बानेश्वर स्थित माछापुछ्रे बैंकको एटिएमबाट झिकेर थप गरी २ लाख रुपैयाँ पैसा उनले बुझाए । पैसा लिन आउँदा तनुजासँग अर्का एक जना व्यक्ति पनि थिए । उनी पनि मन्त्रालयकै कर्मचारी थिए । 

यसरी जोडिए उपसचिव प्रमोद

तनुजा पोखरेलले फिजिबिलिटी रिपोर्ट बनाईदिएपछि उनैले अप्रत्यक्ष रुपमा हरेक टेबलैपिच्छे घुस बुझाउनुपर्ने संकेत गर्न थालिन् ।  त्यसपछि उपसचिव तथा सिनियर एटीसी अफिसर प्रमोद नेपालको टेबुलमा फाइल पुग्यो । तर, उनले फाइल अघि बढाएनन् । 

‘ह्याप्पी मोडमा आउनुस् न, म सरहरुसँग कुरा मिलाईदिन्छु’ भनेर तनुजा आफैँले पूर्णलाई फोन गर्न थालिन् । त्यसपछि पूर्णले पहिला ६ लाख लिने मुकेश डंगोल, २ लाख लिने तनुजा पोखरेलसहित उपसचिव प्रमोद र सहसचिव बुद्धिसागर लामिछानेलाई भेटे । भेटमा उनीहरुले फाइल रोकिनुपर्ने केही कारण नभएको भन्ने जवाफ दिएर मुखामुख गरे ।

उपसचिव नेपालले पूर्णका पार्टनर अर्थात् कम्पनीका अध्यक्ष टेकबहादुर पुनलाई फोन गरेर एक्लै आउन भने । टेकबहादुर पुनले ‘हुन्छ’ त भने, तर भोलिपल्ट पूर्णलाई पनि साथमै लिएर गए । 

उनीहरु सरासर उपसचिव प्रमोद नेपालको कोठामा छिरे । प्रमोदले आफ्नो डायरीमा ‘७’ लेखेर ७ लाख घुस मागे । तर, पूर्णले अलि नबुझेको जसरी ‘७ हजार कि ७ लाख ?’ भनिदिए । त्यसपछि उपसचिव नेपाल ‘तपाई को सँग डिल गर्दै हुनुहुन्छ ? म सुब्बा, खरदार हो ? १ नम्बरको उपसचिव हुँ’ भन्दै जंगिए ।

यो पनिः
घुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

यसको भोलिपल्ट उनीहरुले यसअघि पनि धेरै खर्च भईसकेको भन्दै अलि कममा मिलाउन अनुरोध गरे । उपसचिव नेपाल ६ लाखभन्दा एक रुपैयाँ पनि कममा काम नहुने अडानमा बसे । यो पैसा सहसचिवदेखि सचिव सम्मलाई पुर्याउनुपर्ने दाबी उपसचिव नेपालको थियो ।

त्यही दिन टेकबहादुर र पूर्णले ६ लाख दिन तयार रहेको जनाए । यसका लागि उपसचिव नेपालले नै नागपोखरीको ‘होटल अरण्य’लाई ‘लोकेशन फिक्स’ गरेका थिए ।

यी सबै फेहरिस्तको भिडियो पूर्ण र टेकसँग सुरक्षित थियो । उक्त भिडियो उनीहरुले अख्तियारलाई देखाएर उजुरी गरे । उजुरीका आधारमा अख्तियारको टोलीले पछ्याईरह्यो र उपसचिव नेपाल समातिए ।

तनुजा भन्छिन्, ‘ह्यारेसमेन्ट नगर्नूस्, तनावमा छु’ 

व्यवसायी पूर्णले आफूले यसअघि पनि विभिन्न मितिमा मन्त्रालयका कर्मचारीलाई घुस दिनुपरेको बाध्यात्मक अवस्था सुनाएपछि बिजपाटीले एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलसँग यसबारे चासो राखेको थियो । 

उनले आफूलाई यसबारे २ दिनदेखि पटक पटक सोधेर पत्रकारहरुबाटै मानसिक तनाव दिईएको भन्दै आफू ‘तनाव’मा रहेको बताईन् ।  ‘मेरो नाम जोडिएको छ, मैले घुस लिएको छैन’ उनले दाबी गरिन्, ‘दुई तीन दिनदेखि यहीँ कुराले मलाई ह्यारेसमेन्ट भईसक्यो ।’

बिजपाटीका तर्फबाट उनीसँग सम्पर्क गरेका पत्रकारले ‘बानेश्वरको वीन फ्याक्ट्री रेष्टुरेन्टमा यो मितिमा, यति बजेको समयमा तपाईले आफ्ना एक जना साथीसहित गएर लिएको २ लाख रकम चाहिँ के हो त ?’ भनेर प्रश्न गर्दा उनी ‘प्रमाण देखाउनुस् त !’ भन्दै पन्छिईन् । यसबारे अख्तियारले अध्ययन गरिरहेकाले केही नबोल्ने बताईन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved