व्यवसायीको गोदाममा टनका टन पीपीई र थर्मोमिटर, डाक्टर भन्छन-चाहेर पनि किन्न पाएका छैनौं ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2020 | 04:45:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीमा कृतिम अभाव सृजना गरिएको खुल्न आएको छ। केहि व्यवसायीहरुले मात्र नेपालमा सामान झिकाउन सफल हुँदा बजारमा स्वास्थ्य सामग्री अभाव हुन गई कालोबजारी बढेको सरोकारवालाहरुले जनाएका छन्। 

चीनको बुहानमा डिसेम्बर २०१९ मा कोरोना देखिएयता व्यवसायीहरुले कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री आयात गरिरहेको तथ्यांक छ। त्यसमा पनि नेपालमा चैत ११ गतेदेखि लकडाउन घोषणा भएपछि चैत १६ देखि २३ गतेसम्म मात्रै त्रिभुवन विमानस्थल हुँदै १६ हजार ९७२ किलो सामान नेपाल भित्रिएको छ।  यसरी भित्रिने सामानहरुमा ९५ प्रतिशत सामग्री कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री भएको त्रिभुवन विमानस्थल भन्सार कार्यलयले जनाएको छ। 

उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरुमा ज्वरो नाप्ने थर्मोगन, एन९५ मास्क, पीपीई सेट, ग्लोब्स, चस्मा, र्यापिड टेष्ट किट, पिसीआर टेष्ट किट, स्यानीटाईजर रहेको भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत तथा  सूचनाअधिकारि  दयानन्द केसीले बिजपाटीलाई बताए।

चैत  २३ गते यता १७ वटा कम्पनीले ७ दिनमा १७ टन कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री  नेपाल भित्र्याएका छन्। जसमा पछिल्लो समय विवादित बनेको ओम्नी ग्रुपको ओबीसीआई , सुलभ अग्रवालको कम्पनी, चौधरी ग्रुपको चौधरी फाउन्डेसन, नर्भिक अस्पताल, दिपक मलहोत्राको कम्पनी लगायतका छन्। 

यो पनि: नेपालमा कालोबजारी गर्न चीनमै सेटिङ

एक महिनाको अवधिमा  ४५ लाख पिस मास्क, ६२ हजार ३६८ पिस थर्मोमिटर लगायतका सामान त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

१७ टन सामाग्री नेपाल भित्रिदा समेत बजारमा कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध नभएको नेपाल औषधि थोक व्यबसायी संघका अध्यक्ष शिबराज बास्कोटाले बिजपाटीलाई बताए। "काठमाडौंमा औषधिको मात्रा प्रयाप्त छ तर कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री अभाव मात्र होइन, देख्न सम्म पाइएको छैन" उनले भने। 

केहि व्यवसायीहरुले नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गर्नु पुर्वनै कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री  ल्याएको र अहिले त्यहि सामानमा कालोबजारी भएको बजारमा चर्चा छ। शंकर ग्रुपका मालिक सुलभ अग्रवालले १५ हजारमा थर्मोगन बिक्रि गर्दै गर्दा रंगेहात पक्राउ पर्नुले समेत बजारको यो चर्चालाई पुष्टि गरेको छ। 

नेपाल ल्याउन लागिएको कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री चीनमा नै अड्काउन सरकारकै मिलोमतो भएको समेत आरोप लाग्न थालेको छ। यसमा नेपाल सरकारको लगानी रहेको नेपाल एयरलाइन्सलाई समेत प्रभावमा पारिएको आरोप छ। 

तर नेपाल एयरलायन्सकी प्रवक्ता अर्चना खड्काले उक्त आरोपमा सत्यता नभएको दाबि गरिन। "नेपाल एयरलायन्सले ब्यापार गर्ने हो, कसैले चीनबाट सामान ल्याउँछु भनेर चार्टड गर्छु भन्छ भने हामीले रोक्ने भन्ने हुदैन" उनले बिजपाटीलाई बताईन् । 

चार्टड गर्ने कम्पनीले नै चार्टड नगरेपछि नेपाल एयरलायन्स आफैंले सामान ल्याउन नसक्ने बताउंदै खड्काले अप्रिल १० तारिखमा चीन उड्ने भनेको जहाज समेत चार्टड गर्ने कम्पनीकै कारण उड्न नसकेको स्पष्ट पारिन्। 

कहाँ गयो १७ टन सामान ?

एक महिनाको अवधिमा मात्रै १७ टन कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। बिनोध चौधरीको चौधरी फाउन्डेसन र बसन्त चौधरीको नर्भिक अस्पतालले केहि सामान राहतको रुपमा वितरण गरेपनि अरु सामग्री कहाँ गयो भन्ने प्रश्न उब्जिएको छ। 

तर काठमाडौं जिल्ला प्रमुख अधिकारि जनक राज दाहालले सोसियल मिडियामा लेखिएजस्तो कालोबजारी नभएको बिजपाटीलाई बताए। "कालोबजारी हुँदै नभएको होइन, भएकै कारण २० हजार मास्क समातियो, थर्मोगन सहित सुलभ अग्रवाल पक्राउ परे तर हल्ला भएजस्तो कालोबजारी भएको छ भन्नेमा सत्यता कम छ"  उनले भने। 

संकटमा छिटो कमाउ भन्ने गिरोह भएपनि राज्यले कालोबजारी हुन् नदिन लागि परेको दाहालले बताए।  कालोबजारी हुन् नदिन सिडियो कार्यलय, स्थानीय तह र राज्यका अन्य संयन्त्र मिलेर काम गरिरहेको उनले बताए। १७ टन सामान भित्रीएपनि बजारमा सहज उपलब्ध छैन यस्तो किन भन्ने प्रश्नमा सवारी यातायातको अभाव र संकटमा समन्वय अभावले त्यस्तो भएको हुनसक्ने उनले बताए। 

चाहेर पनि किन्न पाएका छैनौं ?

नेपालमा जति हजार टन सामान भित्रीएपनि कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिब प्रसाद श्रेष्ठले बताए। "आएका केहि सामान सरकारी अस्पतालमा गएका छन्, निजि क्षेत्रका अस्पतालमा काम गर्ने डाक्टरले न सरकारबाट सामग्री पाएका छन्, न बजारबाट किन्न पाएका छन्" उनले भने, "हतियार बीनाका सेना भएजस्तै भएका छन् देशका अधिकांश अस्पतालका डाक्टर, उपचार गरेनन भनेर आरोप मात्र खेप्नुपरेको छ"। 

बिभिन्न संघ संस्था र मध्यम बर्गीय व्यवसायीले चीनबाट ल्याउन चाहेको कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री उतै अड्किनु र नेपालमा केहि ब्यापारीको मात्र सामान उपलब्ध हुनुलाई मिलोमतोमै कालोबजारी भईरहेको अर्थ्याइएको छ।  यो सबै सरकार निकट केहि व्यवसायी र कर्मचारीकै मिलोमतोमा कालोबजार गराउन गरिएको खेल हुन् सक्ने एक औषधि व्यवसायीले बताए ।  "बोल्यो सरकार बिरुद्द बोल्यो भन्ने हुन्छ तर चीनमा पाइपलाईनमा सामान छ तर नेपाल ल्याउन सरकारले चाँसो देखाएको छैन, यसलाई कसरि बुझ्ने ?" ति व्यवसायीले प्रश्न गरे

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved