गोल्छालाई ‘बहिष्कार’ गरेर जिल्ला नगरका व्यवसायी अर्थमन्त्रीसँग वार्तामा बस्नुको रहस्य के हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 29, 2022 | 12:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दिउँसो उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे । ब्याजदर वृद्धि र चालूपूँजी कर्जा सम्बन्धि मार्गदर्शनको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री पौडेलले मंगलबार अपरान्ह फोन गरेर वार्तामा बोलाएका थिए । मन्त्रीले बोलाएपछि उद्योगी व्यवसायीहरु वार्ता समिति नै बनाएर सिंहदरबार आइपुगेका थिए ।

मंगलबार मात्रै अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीसँग भेट गरेका थिए । नेपाल उद्योग परिसंघका पदाधिकारीहरु पनि मंगलबारै अर्थमन्त्रीलाई बधाई दिन पुगेका थिए । तर, छाता संगठनका नेतृत्व नै पुगेर भेट गरिसकेपछि पनि उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्रीले वार्तामा बोलाए ।

सामान्यतया, निजी क्षेत्रका मुद्दाका विषयमा निजी क्षेत्रकै अगुवाहरु बस्ने अभ्यास हुन्छ । आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरु पनि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा नै आवद्ध थिए ।

तर, आफ्नै छाता संगठनको नेतृत्वलाई वार्ता र छलफलमा नराखी जिल्ला उद्योग वाणिज्य संघहरु आफैँ वार्तामा बसेपछि नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको विवाद पुनः सतहमा आएको छ । अर्थमन्त्री सँगको वार्तापछि जिल्ला नगर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आएका व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा पनि जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले महासंघको नेतृत्वप्रति आक्रोश पोखे ।

‘महासंघले विश्वास गुमायो’

पत्रकार सम्मेलनमा उपस्थित भएका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुलाई ‘अर्थ मन्त्रीले बोलाएको वार्तामा महासंघलाई नराखी किन तपाईहरु आफैँ बस्नुभयो ?’ र ‘के अब महासंघबाट जिल्ला नगर उद्योग वाणिज्य संघहरु बाहिरिन खोजेको हो ?’ भन्दै प्रश्न सोधियो ।

यी २ प्रश्नको जवाफ दिने क्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले महासंघको भर परेर बस्दा ९ महिना गुज्रिएपछि बाध्य भएर जिल्ला उद्योग वाणिज्य संघहरु आफैँले निर्णायक आन्दोलन गर्नु परेको दाबी गरे ।

‘हामी सिमावर्ती क्षेत्रका उद्योग वाणिज्य संघहरुको कुरा एकातिर छन्, उद्योग वाणिज्य महासंघको कुरा एकातिर छन्’ मोरङ व्यापार संघका अध्यक्ष रिजालले भने, ‘हामी आन्दोलन गर्छौ, उहाँहरु आन्दोलन गर्न हुँदैन भन्नुहुन्छ । हाम्रा विचार र धारहरु अलिकति फरक हुन थालेकै छन् । हाम्रा मागहरु फरक हुन थाले । हामी विशुद्ध उद्योगी व्यवसायीको संरक्षणको कुरा गरिरहेका छौँ, उहाँहरु बैंकर्सहरुको संरक्षणको कुरा गरिरहनु भएको छ । त्यसकारण पनि हाम्रो धार फरक हुँदै गएको हो ।’

पत्रकार सम्मेलनमा सहभागी भएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले भने यसबारे खासै मुख खोलेनन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले भने घुमाउरो गरी देशको कुल ब्यापारिक कारोबारको ६० देखि ७० प्रतिशत कारोबार हुने सीमा क्षेत्रका व्यवसायीहरुका माग, आवश्यकता र गुनासाहरु महासंघको वर्तमान नेतृत्वले सम्बोधन गर्न नसकेको संकेत गरे ।

‘देशको ६० देखि ७० प्रतिशत ब्यापारिक कारोबार सीमा क्षेत्रमा हुन्छ, वीरगन्ज, विराटनगर, नेपालगन्ज र भैरहवामा मात्रै कुल कारोबारको ६० प्रतिशत भन्दा बढी कारोबार हुन्छ’ गुप्ताले थपे, ‘बाँकी ३० देखि ४० प्रतिशत कारोबार काठमाडौँसहित अन्य क्षेत्रबाट हुन्छ । तर पनि सीमा क्षेत्रका उद्योगी व्यवसायीहरु नै एक्लै हुनु परेको छ । इच्छा नहुँदा नहुँदै पनि आन्दोलन गर्नु परिरहेको छ ।’

अरु उद्योगी व्यवसायीहरुले पनि महासंघका अध्यक्ष शेखर गोल्छा आफ्नो कार्यकालमा आफूलाई साना मझौला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्न सक्छु भनेर सन्देश दिन चुकेको आरोप लगाएका छन् ।  गोल्छाको कार्यकाल चैत अन्तिममा सकिँदैछ ।

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र उपाध्यक्ष रामचन्द्र सांघाई स्वयम् बैंकर्स भएकाले उनीहरुको प्राथमिकतामा उद्योग व्यवसाय नभई बैंक नै पर्ने गरेको पनि आरोप लाग्दै आएको छ । अर्का उपाध्यक्ष अन्जन श्रेष्ठको पनि बैंकमा लगानी भएकाले उनले पनि उद्योगी व्यवसायीहरुको अपेक्षा अनुसार नेतृत्व गर्न नसकिरहेको आरोप खेप्दै आएका छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved