क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 07:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

मित्रराष्ट्र क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’ 

नेपाली र क्यानेडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफू केन्द्रित रहने पनि उनले बताए  । ‘बीटूबी अन्तरक्रिया मेरो कार्यसूचीको प्राथमिक विषयमध्येमा छ,’ उनले भने । क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरुमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताएका उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरे । 

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन पनि आग्रह गरे । नियोगले आयोजना गर्ने कार्यक्रमहरुमा त्यस्ता प्रचार सामग्री डिस्प्ले गर्ने उनले जानकारी दिए । प्रचार सामग्री तयार गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले सुझाए । ‘प्रचार सामग्रीको गुणस्तरले पनि ठूलो अर्थ राख्छ,’ उनले भने । 

यसअघि संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले संघ स्थापना भएको जानकारी गराउँदै यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवद्र्धनको लागि काम गर्ने बताएका थिए । नेपाली वस्तुले क्यानडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्ने उनको  भनाइ छ ।

नेपालको निजी क्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूतबाट पहल हुने अपेक्षा अध्यक्ष केडियाको छ । क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन पनि उनले आग्रह गरे । त्यसैगरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदानमा पनि राजदूतबाट सहजीकरणको अपेक्षा राखे। 

संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानेडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रुपमा केन्द्रित हुने जानकारी गराए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved