अर्थमा विष्णु पौडेल खोजेको शेयर बजार र नयाँ सत्ता समिकरणले हौसिएको निजी क्षेत्र

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 04, 2024 | 02:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार साँझबाटै राजनीतिक वृत्तमा नयाँ समिकरणका संकेतहरु देखिएका थिए । सोमबार बिहानसम्म आइपुग्दा यसले करिब करिब आकार ग्रहण गरेर एक तहको मूर्त रुपसमेत लिइसकेको थियो । 

नेकपा एमालेसहितको नयाँ सत्ता समिकरण बनेपछि यसलाई निजी क्षेत्र वा लगानीकर्ताले कसरी लिन्छन् भन्ने चासो थियो । यसका लागि ब्यग्र प्रतिक्षाको घडी थियो बिहानको १०ः३० बजे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्री–ओपन हुने यो समयले नयाँ समिकरणलाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने थियो । खासगरि नेकपा एमालेले अर्थ मन्त्रालय सम्हाल्छ र विष्णु पौडेल पुनः अर्थमन्त्री बन्छन् भन्ने चर्चाले १०:३० देखि १०:४५ सम्मको ‘प्री ओपन’मै नेप्से १५ अंकले उकालो लाग्यो ।

बिहान ११ बजेपछि खुलेको बजारमा १ मिनेटमै सकारात्मक सर्किट लागेर २० मिनेट कारोबार स्थगित भयो । २० मिनेटपछि पुनः खुलेको बजारमा अर्को सर्किट लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित भयो । यसपछि फेरि खुलेको शेयर बजारमा पुनः अर्को सर्किट लाग्यो र दिनभरीका लागि कारोबार स्थगित भयो । आज ‘ओपन सेसन’मा जम्मा ४ मिनेटमै कारोबार हुँदा नेप्से ६ प्रतिशतले बढ्यो ।

यसरी हिजोसम्म राताम्मे प्रायः रहेको शेयर बजारमा एकाएक सर्किट ब्रेक नै लाग्ने गरि छाएको हरियालीका पछाडी अरु कुनै कारण नभई अर्थ मन्त्रालयको नेतृत्व अब विष्णु पौडेलले सम्हाल्छन् भन्ने मनोवैज्ञानिक आशा नै प्रमुख हो । यसलाई एउटा प्रतिष्ठित बीमा कम्पनीका सञ्चालकले नेकपा एमाले सरकारमा सहभागी हुँदैछ भन्ने चर्चा हुनासाथ लगानीकर्ताले स्वागत गरेको अर्थमा लिएका छन् ।

‘एमाले पार्टी सरकारमा आउँदैछ भन्ने चर्चा हुँदा मात्रै पनि यति धेरै सकारात्मक सञ्चार भयो, अर्थमन्त्रीमा विष्णु पौडेल आउँदै हुनुहुन्छ भन्ने चर्चाले पनि मनोवैज्ञानिक रुपमा लगानीकर्तालाई हर्षित बनायो’, ति सञ्चालकले भने, ‘राम्रो मान्छे आउँदैछ भन्ने हल्ला मात्रै हुँदा त यसरी स्वागत हुँदो रहेछ भने अहिले बिग्रिएको कसले गर्दा रहेछ त ? अर्थमन्त्रीप्रति नै विश्वास रहेनछ भन्ने त प्रष्टै भयो नि, होइन र ?’

त्यसो त, क्यापिटल मार्केटका लगानीकर्ताले मात्रै नभई समग्र निजी क्षेत्र पनि आज उत्साहित देखिएको छ । खासगरि अर्थ मन्त्रालयमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै पुनरागमन हुनेछ भनेर निजी क्षेत्रले अब लगानीको वातावरण बन्ने र अर्थतन्त्रमा लयमा फर्किने आशा गरेको छ । उद्योगी व्यवसायीसहित लगानीकर्ताले विष्णु पौडेल अर्थमन्त्रीका रुपमा आए राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच समन्वय मिल्न गई अर्थतन्त्रका समस्या समाधान हुने आशा राखेका छन् ।

‘जसले जे भने पनि अहिले अर्थमन्त्री डा. प्रकाशरण महतले काम गर्न नसक्नु भएकै हो, उहाँले मुख्यगरि राष्ट्र बैंकलाई साथमा लिन सक्नुपथ्र्यो, यसो गर्न सक्नुभएन’, एक जना प्रतिष्ठित उद्योगपतिले भने, ‘विष्णु पौडेल आउनु भएको अवस्थामा उहाँसँग राष्ट्र बैंकको ट्युनिङ मिल्ने देखिन्छ । राजनीतिक रुपमा राष्ट्र बैंकको अहिलको नेतृत्व एमालेप्रति झुकाव भएको कारणले मात्रै नभई विष्णु पौडेलले विगतमा अर्थमन्त्री हुँदा समेत अपनाएका टुल्सहरुलाई हेर्दा राष्ट्र बैंकलाई उहाँले विश्वासमा लिएर काम गर्न सक्नुहुन्छ भन्ने लाग्छ ।’

यद्यपि नयाँ बनेको गठबन्धनमा कसले अर्थ मन्त्रालय लिन्छ भन्ने टुंगो लागिसकेको भने छैन । अर्थ मन्त्रालयमा एमालेबाट विष्णु पौडेलको दाबी छ भने माओवादी केन्द्रबाट वर्षमान पुनको दाबी छ । यी दुई मध्ये एक जना अर्थमन्त्री बन्ने निश्चित जस्तै छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved