उद्योगी व्यवसायीलाई जरबजस्ती थुन्ने गरिएको प्रति अर्थमन्त्री समक्ष निजी क्षेत्रको गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 09:26:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडबारे नवनियुक्त अर्थमन्त्री वर्षमान पुन समक्ष गुनासो पोखेका छन् । बिहिबार अर्थमन्त्री पुनलाई बधाई दिन पुगेको महासंघको टोलीको नेतृत्व गरेका अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायीलाई अत्याउने, धरपकड गर्ने र निरुत्साहित बनाउने काम गरेकोप्रति दुःखेसो पोखेका हुन् ।

‘निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो, सरकारले यसलाई अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम गर्नु हुँदैन’ अध्यक्ष ढकालले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

उनले विद्यमान आर्थिक समस्या समाधान गर्न पहिलो शर्त भनेकै निजी क्षेत्र र आम सर्वसाधारणको मनोबल बढाउनु रहेको पनि बताएका छन् । उनले गाउँ गाउँमा पैसा पुग्ने बाटो नै अहिले बन्द जस्तो अवस्थामा रहेको भन्दै साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पूजीगत खर्च बढाउनुपर्ने बताए । 

यस्तै, अध्यक्ष ढकालले सहकारी संस्थाहरु र लघुवित्तमा देखिएको समस्याले पनि साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको बताएका छन् । उनले निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि पाउन बाँकी रहेको अर्बौ रुपैयाँ बक्यौता रकम निकासाका लागि पनि अर्थमन्त्री पुन समक्ष आग्रह गरेका छन् । 

उनले राजश्व कम संकलन भएको भन्दै राजस्व बढाउने बाहानामा पूराना फाइल खोतलेर उद्योगी व्यवसायीलाई दुःख दिने गरिएको बारे पनि ध्यानाकर्षण गराएका छन् । ४ वर्ष पहिले नै राजश्वले टुंग्याएको विषयलाई महालेखाको हवाला दिँदै अहिले खोतल्ने र उद्योगी व्यवसायीलाई दुःख दिने गरिएको प्रति अध्यक्ष ढकालले असन्तुष्टि जनाएका छन् ।

उनले अहिले कर्जा तिर्नुपर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्द फैलाइएको भ्रम र अफवाहले भविष्यमा थप जटिलता निम्त्याउन सक्ने भन्दै यसतर्फ सचेत बन्न पनि अर्थमन्त्री पुनलाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थामा समस्या देखिए अर्थतन्त्र थप जटिल बन्ने तर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष ढकालले सरकारले दुर्गा प्रसाई लगायतका व्यक्तिको अराजकता रोक्नुपर्ने संकेत गरेका छन् ।

भेटमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्र सुधारको थालनी गरिने बताएका छन् । मन्त्री पुनले अनुसन्धान पुरा नगरि उद्योगी व्यवसायीलाई थुन्ने वातावरण अन्त्य गर्न आफूले पहल गर्ने आश्वासन पनि दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved