नेपालमा लगानी बढाउन साउदी लगानीकर्तालाई अध्यक्ष ढकालको आह्वान, देखाए सम्भावनाका क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 06:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन र लगानी साझेदार गर्न आह्वान गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताएका हुन् । नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू आएको अध्यक्ष ढकालले बताएका छन् । 

नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र यो लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षक रहेको स्पष्ट पारे ।

सूचना प्रविधि र व्यावसायिक कृषिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरु सृजना गरी रहेकोले यसतर्फ ध्यान पुर्याउन पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

बाह्य लगानीलाई सहज बनाउन महासंघले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आश्वस्त पारेका छन् । 

महासंघले  वैदेशिक लगानी हेल्प डेस्क मार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताए ।

आगामी वैशाखमा हुन गइरहेको नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धतासहित सहभागी हुन पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved