कोक्रोमा: अपरिचित व्यक्तिको ५ हजार डलरले 'यु टर्न' लिएको एउटा स्टार्टअप

सीता बुढाथोकी

सीता बुढाथोकी

Dec 29, 2023 | 06:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

‘कोक्रो’ शब्द नसुनेको सायद कोही पनि छैनन् होला । नसुनेको मात्रै होइन, सानोमा आफू त्यसैमा सुतेर हुर्किएका हौँ हामी । अनि, आफूभन्दा साना भाइ बहिनीलाई कोक्रोमा सुताएर ‘ल है बाबु, ल है’ तथा ‘ल है नानी, ल है’ भनेर हुर्काएका पनि हौँ । अहिले पनि कोक्रो शब्द झट्ट सुन्नासाथ बच्चा सुताउने बाँसको चोयाले बनाएको सामान हाम्रो दिमागमा आइहाल्छ ।

आज हामीले कोक्रोसँग सम्बन्धित एउटा ब्राण्डको कथा लिएर आएका छौँ । ब्राण्डको नाम पनि कोक्रोसँग नै जोडिएको छ । ब्राण्डको नाम हो “कोक्रोमा” ।

यो ब्राण्डले कोक्रोसँगै भर्खर जन्मिएका बालबालिकादेखि ८ वर्षका बालबालिकालाई ठिक हुने कपडाहरु पनि बनाउने गरेको छ । जस्तैः– दौरासुरूवाल, टिसर्ट–सुरूवाल, टोपी, पञ्जा, तोरीको सिरानी, मोजा र यस्तै अन्य आवश्यक सामग्रीहरु बनाउने गरेको छ । यो ब्राण्डकी सञ्चालिका हुन् रेवती गुरुङ ।

बेबी बक्सबाट जुरेको व्यवसाय 

अहिले ‘कोक्रामा’ ब्राण्डका सामान उत्पादन गरेर बेचिरहेकी ४० वर्षिय रेवतीको घर सिन्धुलीमा हो । उनले अंग्रेजी भाषा र विकास अनुसन्धान विषयमा स्नातकोत्तर सकेकी छिन् । रेवतीको रूची भने व्यापारमा थिएन । उनका परिवारका सदस्य पनि व्यापारमा थिएनन् ।

“हाम्रो परिवार भनेको लाहुरे परिवार हो, काकाहरु सबै जना लाहुरे हुनुहुन्छ । परिवारमा पहिलो व्यवसाय मैले नै सुरु गरे पनि कसैले पनि यस्तो काम नगर भनेर रोक्नु  भएन” रेवती सम्झिन्छिन् ।

रेवती व्यवसायमा आउनुको कारण निकै चाख लाग्दो छ । रेवती सन् २०१६ मा “लैंगिक, सांस्कृतिक र राजनीतिक” विषय अध्ययनका लागि फिनल्यान्ड पुगेकी थिइन् । उनले त्यहाँ बालमृत्युदर कम गर्न सरकारले नवजात शिशुलाई ‘बेबी बक्स’ उपहार दिएको देखिन् । रेवतीलाई त्यो बक्स साह्रै मन प¥यो ।

एक वर्षको कोर्स सकेर उनी स्वदेश फर्किइन् । काडमाडौँमा आएपछि उनले डकुमेन्ट्री निर्माणको एउटा कार्यशालामा सहभागी भइन् । यसपछि उनी गरिबी निवारण कोष र विश्व बैंकको एक परियोजनामा काम गर्न थालिन् । त्यहाँ उनको काम महिला उद्यमीसँग कुरा गरेर उनीहरूको व्यावसायिक स्टोरी तयार गर्ने थियो । 

उनले बनाएको पहिलो डकुमेन्ट्री राम्रो भयो । त्यसपछि उनले तेह्रथुम, जनकपुर, दाङ, नवलपरासी, म्याग्दी, दैलेखलगायत जिल्ला पुगेर महिला उद्यमी र उनीहरूका उत्पादनबारे थप डकुमेन्ट्री बनाइन् ।

“त्यो प्रोजेक्टका लागि एक वर्षमा हस्तकलाका ८ वटा डकुमेन्ट्री बनाउनु पर्ने थियो” रेवतीले भनिन्, “मैले डकुमेन्ट्री बनाउने क्रममा आँख ाअगाडि देखेका उत्पादनसँग म धेरै रमाएर काम गरेँ । मलाई व्यवसाय मन पर्न थाल्यो ।”

परियोजनाको काम सकिए पछि उनलाई फुर्सद मिल्यो । उनले आफूले काम गरेका ठाउँमा महिलाले गरेको संघर्ष देखेर उनलाई पनि व्यवसाय गर्न मन लाग्यो । त्यस्तै केहि सीप नजानेका महिलाहरुलाई काम सिकाएर रोजगार दिन मन लाग्यो । 

“महिलाहरुले जति पढेपनि पैसा छैन भने केही सिप गर्न सक्दैनन् । त्यसपछि महिलाहरुको लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न थाले,” उनले भनिन । 

 उनलाई सुरुमा केही थाहा थिएन । उनले विदेशमा देखेको बेबी बक्सलाई सम्झिएर त्यस्तै बनाउने बारे सोच्न थालिन् । 

“मलाई व्यवसाय कसरी सुरु गर्ने ? के को व्यवसाय गर्ने ? केही कुराको जानकारी थिएन । मैले विदेशमा देखेको बेबी बक्स सम्झिएँ । त्यो बेबी बक्सलाई स्वदेशी हस्तकलासँग जोड्ने विचार गरे” रेवतीले सम्झिइन्, “नेपालमा त्यस्तो बक्सको प्रयोग हुँदैन थियो । मैले सोचेँ बच्चाको लागि कोक्रो त सधैंको आवश्यकता हो । कोक्रोसँगै स्वदेशी कपडाको न्यानो लुगा बनाएर सेट तयार गर्छु र त्यसकै व्यापार चलाउँछु ।”

उनले फिनल्यान्डमा देखेको त्यो बक्समा भएका सामानलाई नेपालमा प्रयोग हुने सामानमा परिणत गरिन् । त्यसमा कोक्रो, तोरीको सिरानी, टोपी, भोटो, दौरासुरूवाल, पञ्जा राख्ने विचार गरिन् । सुरुमा उनले कपडा र कोक्रो अरुलाई नै बनाउन दिईन् । किनकी उनीसँग मेसिन किन्नको लागि प्रयाप्त पैसा थिएन ।

केही दिनमा कोक्रो र लुगासहितको प्याकेज तयार भयो । रेवती सेट बेच्ने चरणमा पुगिन् । उनलाई त्यो सामानको नाम चाहियो । कोक्रोमा सबै सामान हालेको नियालेपछि उनको दिमागमा फु¥यो “कोक्रोमा” ।

सामान बिक्रि नभएपछि झण्डै ‘डिप्रेशन’मा 

रेवतीले सेटको दाम ३५ हजार रूपैयाँ राखेकी थिइन् । ग्राहकले महँगो ठाने, जसका कारण सामान बिक्रि भएन । कोक्रो, भोटो, दौरासुरूवाल, पञ्जा, मोजा, सिरानी लगायत सबै मिलाएर बीस सेट बनाएकी थिइन्, तर पनि मूल्य महँगो भयो भनेर खरिदकर्ता आकर्षित भएनन् । 

‘धेरैले मन पराए तर कसैले किनेनन्,’ उनले भनिन्, ‘मैले सोचेकी थिएँ, सामान उत्पादन गर्छु बेच्छु अनि महिलाहरुलाई काममा लगाउँछु । तर मैले सोचेको भन्दा उल्टो भइदियो । मलाई त डिप्रेशन नै होला जस्तो भयो ।”

उनले सामान बिक्रि गर्नको लागि सामान फुटाएर बिक्रि गर्ने निर्णय गरिन् । कपडा झोलामा बोकेर उनी आफन्त र साथीसंगीकहाँ पुग्ने गर्थिन । तर, कसैले किन्दैन थिए । उनकी एक जना साथी गर्भवती थिईन् । उनले साथीलाई आफूले गरेको व्यवसायको बारेमा बुझाइन्, साथीले थोरै सामान किनिदिन् । 

“आफ्ना साथिहरुले नै सामान नकिनिदिएपछि धेरै मन दुखेको थियो । मैले केहि सोच्न सकेकी थिइन । डकुमेन्ट्री बनाएर कमाएको पैसा पनि सबै सामान बनाउँदा खर्च भैसकेको थियो, साथिले सामान किनेर दिएको पैसाले कफी खानुपर्यो भनेर म काठमाडौंको बौद्ध स्तुपा नजिकैको एउटा क्याफेमा गए । क्याफेमा बस्नको लागि मैले र एक जना विदेशि महिलाले शौभाग्य बस एउटै कुर्सी तान्न पुगेछौँ” उनले खुसी हुँदै भनिन् । 

यसपछि दूबबीच परिचय भयो । उनीहरुले सँगै बसेर कफी पिए । कपी पिउँदै गर्दा दूबैको ‘प्रोफेशन’ जीवनबारे पनि केही कुराकानी भए । पहिलो भेटमा नै दूबै जना परिचित साथी जसरी प्रस्तुत भएर गफ गर्न थाले ।

 ५ हजार डलरले फेरिएको कोक्रोमा

गफगाफको क्रममा ति विदेशी महिलाले रेवतीलाई चन्तित हुनुको कारण सोधिन् । उनलाई पनि आफ्ना पिडा सुनिदिने मान्छे चाहिएको थियो । उनले आफ्नो व्यवसाय र आर्थिक अभावबारे ती विदेशीलाई सुनाइन् । विदेशि महिला त्यहीँ दिन आफ्नो देश फर्किने रहिछन् । उनलाई पनि हतार रहेछ, जम्मा १० मिनेट मात्रै कुराकानी गर्न पाइन् । महिलाले आफ्नो प्लेन छुट्न सक्छ भन्दै आफ्नो इमेल ठेगाना रेवतीलाई दिइन्, तिम्रो व्यवसायबारे यहीँ इमेलमा लेख्नू है भनिन् । दुबैजना आ–आफ्नोबाटो लागे ।

केही दिनपछि रेवतीले इमेलमा आफ्नो व्यवसायबारे लेखेर ति महिलालाई पठाइन् । इमेलको प्रतिक्रिया आयो । महिलाले रेवतीलाई ५ हजार डलर दिने भईन् । कुनै अपरिचित विदेशीले एकै छिनको भेटमा व्यवसायलाई यत्रो सहयोग गर्ने भएपछि रेवती छक्क परिन् । 

“यहाँ आफ्नाले त सहयोग गर्दैनन्, गरे भने पनि त्यसमा स्वार्थ हुन्छ । तर कुनै अपरिचित मान्छेले विना स्वार्थ सहयोग गर्दा धेरै खुसी लाग्यो,” उनले भनिन् ।

विदेशी महिलाले व्यवसाय गर्न दिएको पैसाले रेवतीले लुगा सिलाउने दुई ओटा मेसिन, कटिङ टेबल र अन्य आवश्यक पर्ने सामान किनिन् । 

कामदारलाई तलब दिन १८ घण्टा काम

उनले सुरुमा २ जना कामदार राखेकी थिइन् । उनी आफैँ दिनमा १८ घण्टा काम गर्थिन् । काम गर्ने २ जना कामदारलाई तलब दिनको लागि उनी डकुमेन्ट्री बनाउन जाने गर्थिन । २ जनाले कोक्रोमामा काम गर्थे ।

तीन जनाको मेहनतले पहिलो एक महिनामा ४० हजार रूपैयाँको लुगा बिक्री भयो । “सुरुमा ४० हजारको सामान बिक्रि हुँदा मैले खुसीले मनै थाम्न सकिनँ । मत नाँचेकी थिएँ” उनले हाँस्दै भनिन् । 

त्यसपछि उनको कारोबार बढ्न थाल्यो । अर्को महिना ८० हजारको बिक्री भयो । कारोबार बढ्दै गयो । उनले अब आफ्नै व्यवसायलाई अझ राम्रो बनाउने निर्णय गरिन् । उनलाई धेरै फ्लिमको प्रोजेक्ट पनि आए तर उनी आफ्नै व्यवसायमा रमाउन थालेकी थिईन् । 

लकडाउनमा बनाएको बेबी माक्स विदेशमा

व्यापार राम्रो नै भईरहेको थियो, त्यहीँ बीचमा कोरोना आयो । कोरोनामा सामान बिक्रि भएन । रेवती झन डिप्रेशनमा गइन् । 

रेवतीले भन्छिन्, “कोरोनामा बजारमा बच्चाको मास्कको अभाव भयो । काम गर्नेले पनि काम पाएका थिएनन् । तिनीहरुलाई काम दिनको लागि भएपनि मैले बच्चाको मास्क बनाउने निर्णय गरेँ । हामीले बच्चाको मास्क बनाएर बेच्यौ । हामीले बनाएको मास्क विदेशमा पनि पुग्यो ।”

कोरोना लकडाउन हुँदा कोक्रोमाले स्वदेशी बजारलाई लक्षित गरेर ठूलो मात्रामा मास्क उत्पादन ग¥यो । काठमाडौँका मेडिसिटी अस्पतालबाट उनले उत्पादन गरेका सामान पनि बिक्रि भए । लकडाउनमा उनले पनि डिजाइन सिकिन् । व्यापार राम्रो भयो, काम पनि सिकिन् । 

कोक्रोमाका आफ्नै ग्राहक भएकाले आर्थिक मन्दीले पनि खासै असर नगरेको उनी बताउँछिन् । “आर्थिक मन्दिले पनि खासै असर गरेको महसुस भएन । अलि अलि असर त भयो । आफ्नै ग्राहक भएकाले सजिलै भयो,” उनले भनिन् । 

बौद्धको व्यावसायिक क्षेत्रमा शोरुम

कोक्रोमाले कटनका सामानहरु बनाउने गर्छ । यसका सामानहरु जाडो याममा लगाउने खालका हुन्छन् । घरको कोठामा थालिएको कोक्रोमा अहिले बौद्धको व्यावसायिक क्षेत्रमा शोरुम राख्न सक्ने हैसियतमा पुगेको छ । लुगा सिउने कारखाना जोरपाटीमा छ ।

रेवतीलाई यो व्यवसाय गरेर धेरै पैसा कमाउला भन्ने छैन । उनी त सकेसम्म महिलाहरुलाई रोजगारी दिन पाउँदा र उपभोत्तालाई राम्रो क्वालीटीको सामान दिन पाउँदा धेरै खुशी हुने गर्छिन् । “मैले यो ब्राण्डमा पैसामा भन्दा पनि क्वालीटीमा फोकस गरेकी छु । सस्तो मूल्यमा नै बालबालीकाको लागि सबैले कोक्रोमाका सामान खरिद गर्न सक्छन्” उनले भनिन्, “क्वालीटीकै कारण उपभोक्ताले पनि सामान धेरै मन पराएका छन् ।”

४ वर्षमा नै अन्र्तराष्ट्रिय बजारमा 

कोक्रोमाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पनि जाने गरेका छन् । अमेरिका, अस्ट्रेलिया, जापान, स्वीट्जरल्यान्ड र भारतबाट दौरा सुरूवाल र भोटोको अर्डर आउने गरेको उनले बताइन् । त्यस्तै काठमाडौंका अस्पतालहरूमा पनि खपत हुन्छ । सबभन्दा बढी खपत मेडिसिटी अस्पतालमा छ । अनलाइन बजार “दराज”बाट पनि कोक्रोमाका सामान किन्न पाइन्छ । यहाँबाट पनि धेरै अर्डर आउने गरेको रेवतीले बताइन् । 

कोक्रोमाले नेपालगञ्जमा फ्रेन्चाइज खोल्ने तयारी भइरहेको उनी बताउछिन् ।

रेवतीको उद्देश्य भनेको आमा र बच्चा दुबैका लागि आवश्यक सामान बनाउने थियो । तर बच्चाकै सामान बनाउँदा उनी यति व्यस्त हुन्छिन् की, उनलाई अरु काम गर्न फुर्सद नै मिलेको छैन । 

फिल्मको पैसा लगानी गरेर लाखौ आम्दानी  

फिल्म बनाएर कमाएको २ लाख रुपैयाँ लगानी गरेर उनले सन् २०१९ आफ्नो व्यवसाय सुरु गरिन् । उनलाई सुरुमा सामानको मूल्य कति राख्ने भन्ने पनि थाहा थिएन । उनले सस्तो मूल्यमा सामान बेच्न थालिन् । अहिले कोक्रोमाले १ सय रूपैयाँदेखि ३५ सय रूपैयाँसम्मका सामानहरु उत्पादन गर्दछ । सुरु गर्दा २ लाख रुपैँया लगानी गरेर खोलेको कोक्रोमाले अहिले राम्रो कारोबार गरिरहेको छ ।

१६ जनालाई रोजगारी

सुरुमा २ जना इँटा भट्टमा काम गर्ने महिलाहरुलाई काममा राखेकि थिईन् । काम सिक्न लगाईन् र काममा राखिन् । घरमै सानो कोठामा सामान बनाउन थालिन् । रेवती तयारी लुगा बेच्न झोला बोकेर पसल–पसल चहार्थिन् । अहिले उनले १६ जनालाई रोजगारी दिएकी छन् जसमा १५ जना महिला छन् । उनले दुःख पाएका र केही गर्न खोज्ने महिलाहरुलाई काममा राख्ने गरेकी छिन् ।

“काम गर्न रुचि भएका तर, पैसा नभएका महिलाहरु छन् भने हाम्रो शोरुममा आएर नाम टिपाएर फोन नम्बर छोडेर जान्छन् । पछि हामीले फोन गरेर बोलाउने गछौँ,” उनले भनिन् ।

रेवतीका अनुसार कोक्रोमाले ३ ओटा अन्र्तराष्ट्रिय अवार्ड जितिसकेको छ । २०२३ अक्टोभरमा १ महिना बाहिरी देश घुमेर आईन । अन्र्तराष्ट्रिय बजार घुमेर आएपछि उनको सोच परिवर्तन भएको छ । “पहिला म केहि महिलाहरुलाई जागिर दिए भने पुग्छ अरु केहि चाहिन्दैन् भन्ने सोच्थे भने त्यो सोच परिवर्तन भएको छ,” उनले भनिन्, “अब अझ धेरैलाई रोजगार दिने सोच आएको छु ।”

रेवतीले भविष्यमा यहि ब्राण्डलाई कसरी राम्रा र अझ राम्रो क्वालीटीको बनाउन सकिन्छ भनेर निरन्तर प्रयास गरिरहने पनि बताइन् ।  

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

उद्यमशीला एपिसोड ६ : २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

उद्यमशीला एपिसोड ७  : नेपालमा नेपाली जुत्ताको जग बसालेका होमनाथ

उद्यमशीला एपिसोड ८: जसले नेपाली चियालाई अमेरिकामा चिनाए, विश्वभर पुर्याउने लक्ष्य

उद्यमशीला एपिसोड ९: बुबाले सुरु गरेको ‘राइनो लेदर्स’ हाँकिरहेकी अलिशा, ७ देशमा बेच्छिन् नेपाली उत्पादन

उद्यमशीला एपिसोड १०: हाइलाइफ सफल पारेर ४ युवाको 'पहाडी' यात्रा, पहाडमा उत्पादन हुने सबै कृषि उपज बिक्रीको लक्ष्य 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved