बुबाले सुरु गरेको ‘राइनो लेदर्स’ हाँकिरहेकी अलिशा, ७ देशमा बेच्छिन् नेपाली उत्पादन

सीता बुढाथोकी

सीता बुढाथोकी

Nov 24, 2023 | 04:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला भनेका गृहिणी मात्रै हुन्, उनीहरु चुलोचौकोमा नै सिमित हुनुपर्छ भन्ने पूरातनवादी सोच अहिले पनि छ । अहिले जागिरमा होस् वा उद्यम व्यवसायमा महिला सहभागीता तुलनात्मक रुपमा नबढेको होइन । तर, नेतृत्व तहमा पुरुषहरुको जति बाहुल्यता छ, महिलाहरुको त्यति छैन । अझ, युवा अवस्थामै कम्पनी वा उद्योगको कार्यकारी तहको जिम्मेवारीमा महिला सहभागीता निकै कम छ ।

त्यसो त, महिलाहरुमा आत्मविश्वासको कमी पनि छ । उनीहरुको आफ्नै मनोविज्ञानले नभई हाम्रो पितृ सत्तात्मक सोचले महिलाहरुमा नेतृत्व क्षमता हुँदैन भन्ने भाष्य निर्माण गरिदिएको छ । यस्तो सामाजिक संरचनाभित्रबाट पनि केही महिलाहरु उद्यमी व्यवसायीमा रुपमा हिलोमा कमल फूले जस्तै फक्रिएका छन् । फलतः उनीहरु समाजमा उदाहरणीय पात्रका रुपमा समेत सुपरिचित छन् ।

यस्तै, उदाहरणीय पात्र हुन् अलिशा शाह । महिलाहरुमा आत्मविश्वासको विजारोपण गर्दै हामी पनि उद्यम व्यवसायमा सफलतापूवर्क नेतृत्व गर्न सक्छौँ भन्ने उत्प्रेरणा दिने काम गरिरहेकी शाह ‘राइनो नेपाल लेदर्स क्राफ्ट’की सञ्चालिका हुन् । ‘राइनो’ ब्राण्डमा छालाका कपडा तथा झोलाहरु बनाएर बिक्रि गर्दै आएको ‘राइनो नेपाल लेदर्स क्राफ्ट’ नेपालको नामी ब्राण्ड बनिरहेको छ । उद्योगले ज्याकेट, विभिन्न प्रकारका झोला, पर्स, प्यान्ट, स्कर्ट, सर्ट, ब्रिफकेस, किरिङ, क्याप, पेटी, पन्जासहित ल्यापटप, मोबाइल र डायरीका खोल (कभर) उत्पादन गरिरहेको छ । अलिशा भन्छिन्, ‘लेदरबाट बन्ने दिमागले सोचेजति सबै सामानहरु बनाउँदै आएका छौँ ।’


आफ्ना बुबाको भरपर्दो सारथी बनिरहेकी अलिशा

अलिशा अहिले ‘राइनो नेपाल लेदर्स क्राफ्ट’ सम्हालिरहेकी छिन् । यो उनका बुबा अमितले सुरु गरेको उद्योग हो । २०४० सालदेखि नै ‘खुसु’ नामक गार्मेन्ट चलाउँदै आएका उनका बुबा अमित त्यतिबेला अमेरिकामा सामान पठाउँथे । १ करोड ५० लाख लगानीमा गार्मेन्ट व्यवसाय सुरु गरेका उनले अमेरिकामा शोरुम नै खोलेका थिए । तर, नेपाल विश्व व्यापार संगठनमा आवद्ध भएपछि अमेरिकाबाट कोटा आउन छोड्यो । त्यसपछि अमितले पनि गार्मेन्ट बन्द गरेर सन् २००१ बाट लेदरका कपडाहरु बनाउन सुरु गरे ।

‘बुबाले गार्मेन्टको काम गर्दा नै लेदरका माग आइरहन्थ्यो, तर त्यतिबेला बनाउने समय हुँदैनथ्यो, तर गार्मेन्ट बन्द भएपछि माग आइरहेकै वस्तु किन नबनाउने भनेर बुबाले थोरैबाट राइनो नेपाल लेदर्स क्राफ्ट सुरु गर्नुभयो’ अलिशा स्मरण गर्छिन् ।

अमितका ३ छोरी मात्रै थिए । छोरा छैनन् भन्दै वरपर कुरा गर्नेहरु ‘भविष्यमा अमितको यो व्यवसाय कसले सम्हाल्छ होला’ भनेर कुरा गर्थे । कहिलेकहीँ यस्तो भनेको सुन्दा अलिशा तम्सिएर ‘म सम्हाल्छु’ भन्थिन् । तर, उनको बाल मस्तिष्कले के नै बुझेको हुन्थ्यो र ? तै पनि उनको यो आत्मविश्वास देखेर बुबा आमा खुशी हुन्थे । नभन्दै उनले बाल्यकालमा भन्ने गरे जस्तै राइनो नेपाल लेदर क्राफ्ट हाँक्ने जिम्मा उनकै काँधमा आयो । फलस्वरुप, सन् २०१४ बाट अलिशा व्यवस्थापकीय जिम्मेवारीसहित कम्पनीमा प्रवेश गरिन् ।

‘म एम.बीए. पढ्दै थिएँ, यता काममा बुबा एक्लै हुनुहुन्थ्यो, कामको चाप बढी थियो’ उनी स्मरण गर्छिन्, ‘हामी ३ जना छोरी मात्रै थियौँ, दिदी अष्ट्रेलियामा हुनुहुन्थ्यो, बहिनी सानै थिइन् । यहाँ भएको काम सघाउन सक्ने म मात्रै थिएँ । त्यसैले मैले एम.बीए.को परीक्षा सकिएको भोलीपल्टबाट नै बुबालाई सघाउन सुरु गरेँ ।’

नेपाल चिनाउने नाम खोज्दै जाँदा फुरेको ‘राइनो’

कामको चाप, एक्लै धान्नुपर्ने बाध्यताका कारण अलिशाका बुबा अमितले ब्राण्डिङमा ‘फोकस’ गर्न सकेका थिएनन् । अलिशा आफू सक्रिय भएपछि ब्राण्ड नै बनाएर अघि जानुपर्छ भन्ने सोचका साथ ‘राइनो’ ब्राण्ड सुरु गरिन् ।

राइनो नाम राख्न पनि धेरै मिहिनेत गर्नु परेको अलिशा बताउँछिन् । ब्राण्डका हिसाबमा अरु नै नाम राख्न पनि सकिन्थ्यो । तर, अलिशालाई लाग्यो, आफूले राखेको ब्राण्डले नेपाल पनि चिनियोस् । त्यसैले धेरै नाममा छलफल चलाइन् । अन्ततः छलफलको निष्कर्षबाट जन्मियो ‘राइनो’ । 

‘मान्छेले छिट्टै याद गर्ने नाम राख्न धेरै सोच्नु परेको थियो, हामीलाई नेपाल चिनाउने नाम चाहिएको थियो, यस्तो नाम के हुन सक्छ भनेर सोच्दै जाँदा राइनो राख्ने निष्कर्षमा पुग्यौँ’ अलिशा भन्छिन्, ‘हामी छालाका उत्पादन बनाउने, के को छाला बलियो हुन्छ भन्दा गैँडाको छाला सम्झियौँ, यसैलाई बलियो छाला भन्ने संकेतका रुपमा राइनो राख्यौँ ।’

आफ्नै बुबासँग भद्र विद्रोह

अलिशा नविनतम् सोच र आधुनिकता सुहाउँदो गरी उद्योग अघि बढाउन चाहान्थिन् । तर, उनका बुबा अमित नयाँ तरिकाले काम गर्दा असफल पो भइन्छ कि भनेर अलिशालाई रोक्न खोज्थे । यस विषयमा बुबा र छोरीबीच निकै छलफल हुन्थे । अलिशा आफ्ना बुबालाई ‘कन्भिन्स’ गराउँथिन् ।

‘सुरुमा बुबासँग नै कुरा मिल्दैन थियो, उहाँ पुरानो तरिकाले नै गर्न खोज्नुहुन्थ्यो, म नयाँ तरिकाबाट जानुपर्छ भन्थे’, अलिशा मुस्कुराउँदै सम्झिन्छिन्, ‘हामी बाउ छोरीको सोच मिल्नै समय लाग्यो ।’

उनलाई पूराना कामदारसँग तालमेल मिलाएर काम गर्न पनि सहज थिएन । नयाँ कामदार ल्याउन पनि चुनौती थियो । 

‘मलाई पूराना कामदारहरुसँग काम गर्न गाह्रो हुन्थ्यो, उनीहरुलाई नयाँ मान्छेले सम्हाल्न सक्छन् भनेर बुझाउन सक्नुपथ्र्यो, उनीहरुले तत्कालै विश्वास गर्ने अवस्था थिएन’ अलिशा भन्छिन्, ‘निकै प्रयासपछि नयाँ व्यवस्थापकले झन राम्रोसँग नयाँ सोचका साथ काम गर्न सक्छन् भनेर बुझाउन सफल भएँ ।’

आफैँ फिल्डमा खटेर मार्केटिङ

अलिशा बजार व्यवस्थापनकी विद्यार्थी हुन् । उनले मार्केटिङमा नै एम.बीए. गरेकी थिइन् । उनलाई बजारशास्त्र मन पथ्र्यो, त्यहीँ विषय रोजेर पढेकी थिइन् ।

व्यवस्थापकीय भूमीकासहित राइनो लेदर क्राफ्टमा प्रवेश गरेपछि उनले आफ्नो उत्पादनको ब्राण्डिङका लागि आफैँ मार्केटिङ गर्न थालिन् । आफैँ फिल्डमा खटेर मार्केटिङ गर्दा उनले बजारको माग र आम उपभोक्ताको चाहना अझ नजिकबाट बुझ्न पाइन् ।

मार्केटिङको क्रममा उनले ठूला व्यवसायिक कम्पनीमा फोन गरिन्, आफैं धाइन् । कम्पनीलाई आवश्यक झोला, किरिङ जस्ता सामानको नमूना दिइन् । सामाजिक सञ्जालबाट पनि प्रचारमा गरिन् ।

‘कम्पनीहरुमा सामान पहिले पनि जान्थ्यो, तर बीचमा एजेन्ट हुन्थ्यो’ उनले भनिन्, ‘आफैँ गयो भने ग्राहकसँग लामो समय काम गर्न र सस्तोमा पनि दिन सकिन्छ, अहिले राइनो लेदर्सले धेरै कम्पनीसँग सहकार्य गरिरहेको छ ।’

जिम्मेवारी सम्हालेपछि सुरु सुरुमा खास अर्डर नआउँदा उनी केही हतोत्साहित पनि भइन् । उनलाई घरीघरी काम छोडेर विदेश जाउँ कि जस्तो पनि लाग्थ्यो । तर, आफूलाई सम्हाल्दै उपभोक्ताको मन जित्न थालिन् र बजारबाट विस्तारै माग आउन पनि थाल्यो । अनि उनी यहीँ ‘इन्जोय’ गर्न थालिन् । 

७ देशमा निर्यात

राइनो लेदर्सले सिन्धुपाल्चोक र त्यस आसपासबाट छाला ल्याउँछ । नेपालबाट संकलन भएको छालाले मात्रै पुग्दैन । त्यसैले भारत, न्युजिल्यान्ड, बङ्लादेश र पाकिस्तानबाट पनि छाला आयात गर्दै आएको छ । के सामान बनाउने हो, त्यही‍ अनुसार जनावरको छाला छनोट गरिन्छ । 

‘कुन सामानको लागि कुन ठिक हुन्छ भनेर त्यहीँ अनुसार छाला ल्याउँछौँ’ उनले भनिन्, ‘जस्तै, लुगाका लागि भेडाको र झोला पर्स जस्ता सामानका लागि भैंसीको छाला राम्रो हुन्छ ।’

राइनोका सामानहरु अनलाइन सपिङ प्लेटफर्म दराज र कम्पनीको आफ्नो वेभसाइडबाट अर्डर गर्न सकिन्छ । काठमाडौँभित्र दरबारमार्ग, मैतिदेवी र पाटनका शोरुमबाट सामान बिक्रि गरिन्छ । काठमाडौँ बाहिर ‘फ्रेन्चाइज’ दिने तयारी भइरहेको छ ।

अर्को मुख्य कुरा चाहिँ, राइनोले नेपालको वैदेशिक ब्यापार घाटा कम गर्न योगदान पनि गरिरहेको छ । विश्वका ठूला अर्थतन्त्र भएका र शक्तिशाली देशमा नेपालबाट वस्तु निर्यात गर्नु आफैँमा ठूलो काम हो । यसै अनुसार राइनो लेदर्सले अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र भारतमा आफ्ना उत्पादन बिक्रि गर्दै आएको छ । अलिशाका अनुसार राइनोले अमेरिका र अष्ट्रेलियामा प्राथमिकताका साथ सामान पठाउँदै आएको छ ।

७० जनालाई रोजगारी, ७० प्रतिशत महिला कामदार

राइनोले अहिले ७० जनालाई नियमित रोजगारी दिएको छ । यसमध्ये ७० प्रतिशत कामदार महिला छन् । यसबाहेक सिजन अनुसार काम बढी हुँदा कामदार पनि थप्नुपर्छ । यस्तो बेला राइनोले ‘साथी’ नामक संस्थाबाट मान्छे ल्याउँछ । साथी यस्तो संस्था हो, जुन संस्थामा दुःख पाएका महिलाहरु आश्रित छन् । उनीहरुका लागि भनेरै राइनो लेदर्सले साथी संस्थासँग सहकार्य गरेको हो ।

‘हामीले साथी संस्थासँग सहकार्य गर्दै आएका छौँ, धेरै जस्तो महिलाहरु त्यहीँ संस्थाबाट आउनु हुन्छ’ अलिशा थप्छिन्, ‘त्यहाँबाट आएका महिलाहरु धेरै दुःख पाएकाहरु हुन्छन्, उहाँहरुलाई हामीले तलब सुविधासहित ३ महिना तालिम दिन्छौँ, तालिम पाएपछि काम गर्नुहुन्छ । दुःख पाउनु भएका दिदीबहिनीहरुलाई काम दिन सकियोस् भनेर हामीले साथी संस्थासँग सहकार्य गरेका हौँ ।’

१ सयदेखि १५ हजारसम्मका सामान

राइनोका उत्पादन सबै वर्गका लागि उपर्युक्त छन् । राइनोले बनाउने सामानमध्ये सबैभन्दा सस्तो सामान १ सय रुपैयाँमा पाइन्छ । सबैभन्दा महँगो चाहिँ १५ हजार रुपैयाँसम्म पर्छ ।

अलिशाका अुनसार राइनोका सबैभन्दा बढी बिक्रि हुने सामानमा ज्याकेट र झोला पर्छन् । 

यसरी, १ करोड ५० लाखबाट सुरु भएको राइनो लेदर क्राफ्टमा हालसम्म ६ करोड लगानी पुगिसकेको छ । उनका अनुसार १० करोड भन्दा बढीको वार्षिक आम्दानी हुने गरेको छ ।

माग घटेको छैन

आर्थिक मन्दीका कारण माग घट्ला कि वा माग नआउने पो हो की भन्ने चिन्ता अलिशालाई थियो । तर, अघिल्लो वर्षको तुलनामा मागमा फरक परेको छैन । स्वदेशबाट भन्दा पनि विदेशबाट बढी माग आउने भएकाले माग नघटेको उनको भनाई छ ।

‘अहिले अनलाइनबाट पनि धेरै माग आउन थालेको छ, पहिला मान्छेहरु अनलाइनबाट सामान मगाउन डराउँथे, तर अहिले क्रमशः अनलाइनबाट माग आउने क्रम बढिरहेको छ’ अलिशा हर्षित हुँदै भन्छिन्, ‘हामीले हाम्रो ब्राण्डप्रति आम उपभोक्ताको विश्वास जितेका छौँ ।’

विवाह पछि पनि निरन्तरता, पति र परिवारको साथ

नेपाली समाज महिलाप्रति खासै उदार भइसकेको छैन । पहिलो कुरा त महिलाले घरभित्रको काम मात्रै गर्नुपर्छ भन्ने सोच हाबी छ, दोस्रो जागिर खाए पनि १०–५ को ड्युटी बाहेक अन्यत्र सामेल हुनु हुँदैन भन्ने चिन्तन छ । अझ, बिबाह गरेपछि माइती तिरको काम र जिम्मेवारी चटक्कै छोड्नुपर्छ भन्ने निकृष्ट खालको सामाजिक मनोविज्ञान पनि छ ।



यस्तो अवस्थामा अलिशालाई पनि लाग्थ्यो, ‘म बिबाह गरेर पुग्ने परिवारले मलाई अहिलेको जिम्मेवारीबाट बाहिर निस्कन पो भन्छन् कि ? मैले बिबाह गरेर गएँ भने यो काम कसले सम्हाल्छ होला ?’ त्यहीँ भएर अलिशाले छिटो बिबाह गरिनन् । केही समय अगाडी मात्रै उनले २८ वर्षको उमेरमा आफूलाई बुझेको र आफूले पनि बुझेको आफूसँगै पढेको साथीसँग बिबाह गरिन् । 

‘बिबाह गरिसकेपछि घर परिवारले मलाई बुबाको व्यवसाय सम्हाल्न दिनुहुन्छ कि दिनुहुन्न होला भन्ने डर थियो, किनकी बिहे गरिसकेपछि एउटी महिलाले आफ्नो घर व्यवहार सम्हाल्नुपर्छ भन्ने चलन हुन्छ’ खुशी मिश्रत भावुकताका साथ अलिशा भन्छिन्, ‘तर, मेरो हकमा त्यस्तो भएन, मैले मेरो घर परिवार र श्रीमानको साथ पाएँ । आफूले गरिरहेको कामलाई निरन्तरता दिन, आफ्नो बुबाले सुरु गर्नुभएको व्यवसाय सम्हाल्नबाट मलाई मेरो श्रीमान र परिवारबाट कुनै रोकावट भएन ।’

सुरु सुरुको तनाव अहिले ‘मोटिभेशन’ 

उद्योग व्यवसायमा अनेकन चुनौती हुन्छन् । त्यसैले उद्योग व्यवसायलाई सफल बनाउन त्यसको नेतृत्वकर्तासँग सफलताको अर्जुनदृष्टि हुनु अनिवार्य हुन्छ । उहीँ नेतृत्वकर्ताले सोही अनुसारको ‘टिम’ बनाउनुपर्छ । ठ्याक्कै यसै भन्छिन् अलिशा शाह ।

‘व्यवसायलाई राम्रो बनाउन गुड लिडरसीप सँगसँगै राम्रो टिम चाहिन्छ, लिडरसीप छैन भने अघि बढ्न सकिँदैन’ उनी भन्छिन् ।

काम सुरु गर्दाका बखत उनी खुब तनावमा पनि हुन्थिन् रे । के हुने हो, कसो हुने हो, सफल भइन्छ कि भइँदैन होला, असफल भइहाले के गर्ने होला जस्ता प्रश्न मनमा खेलिरहन्थे रे । तर, सुरु सुरुमा आइपरेको यी र यस्तै तनाव अहिले ‘मोटिभेशन’ भएको अलिशा सुनाउँछिन् ।

बहिनी शोरुम व्यवस्थापक, दिदी अष्ट्रेलियाको काम हेर्ने

अहिले अलिशाका दिदी र बहिनी आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् । नेपालमै रहेकी बहिनीले नेपालभित्रका सबै शोरुमहरुको व्यवस्थापनको काम हेर्छिन् । अष्ट्रेलियामा रहेकी दिदी उताको व्यवस्थापकीयदेखि अन्य आइपर्ने काम सबै हेर्छिन् ।

‘विगतदेखि अहिलेसम्मको मेरो अनुभवले भन्छ, सहन सक्ने क्षमता भएको मान्छे मात्रै यो क्षेत्रमा आउन सक्छ, आत्तिने र डराउने मान्छेहरुले चाँहि यो क्षेत्रमा काम गर्न नसक्ने नै रहेछ’ अलिशा आफ्नो उतारचढावको निष्कर्ष सुनाउँछिन्, ‘धेरै महिलाहरु आफ्नै व्यवसाय गर्न डराउनुहुन्छ, तर हार मान्नु हुँदैन्, म गर्न सक्छु भन्ने आँट हुने हो भने नसक्ने भन्ने केही पनि छैन ।’

‘छोरीले केही गर्न सक्दैनन् भन्छन्, मेरा छोरीले गरेर देखाइदिए’

छोरीको साथ, मेहनत र लगनशीलताले अमितको छाती गर्वले चौडा भएको छ । नेपाली समाजमा स्थापित ‘छोरीले केही पनि गर्न सक्दैनन्’ भन्ने भाष्य आफ्ना अलिशा सहितका छोरीहरुले चिर्दै लगेकोमा अमित गर्व गर्छन् ।

‘मान्छे छोरीले काम गर्न सक्दैनन् भन्छन्, तर मेरा छोरीहरुले गरेर देखाइदिएका छन्’, उनी भन्छन्, ‘मेरो छोरा भएको भए के गर्थे थाहा छैन, तर छोरीले मेरो बिजनेस सम्हालेका छन् । छोरीले व्यवस्थापन हेर्न थालेपछि यो व्यवसाय झन राम्रो भएको छ ।’

के छन् भावी योजना ?

‘राइनो नेपाल लेदर्स क्राफ्ट’ले अझै नयाँ नयाँ डिजाइनका सामान ल्याउने योजना बनाएको छ । सस्तो र महँगो गरी २ प्रकारका सामानहरु बनाउने तयारीमा कम्पनी छ । 

‘कसैले सस्तो खोज्नु हुन्छ, कसैले महँगो खोज्नु हुन्छ’ अलिशा भन्छिन्, ‘यस्तो गर्यौ भने सबै खरिद कर्तालाई खुसी बनाउन सक्छाँै ।’

साथै, राइनो लेदर्सले अमेरिकामा कम्पनी दर्ता गरिसकेको छ । अब छिट्टै कम्पनी सञ्चालनमा ल्याउने तयारीमा छ । अलिशाकी एक जना साथिले त्यहाँ मार्केटिङ पनि सुरु गरेकी छिन् । अष्ट्रेलियामा नेपालीहरु धेरै भएकाले त्यहाँबाट माग पनि धेरै आइरहेकाले त्यहाँ शोरुम खोल्ने तयारी अघि बढेको छ । 

यसमा ‘नेपाल वोमेन ग्रोथ इक्वीटी फण्ड’ले पनि लगानी गरेको छ । राइनोमा कुनै पनि पार्टनरहरु नभएकाले यो फण्डले सहयोग गर्छ भनेर सहकार्य गरिएको अलिशा बताउँछिन् । फण्डले गर्ने उक्त लगानी अमेरिका र अष्ट्रेलियाको काममा खर्च गर्ने योजनामा राइनो लेदर्स रहेको छ ।

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

उद्यमशीला एपिसोड ६ : २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

उद्यमशीला एपिसोड ७  : नेपालमा नेपाली जुत्ताको जग बसालेका होमनाथ

उद्यमशीला एपिसोड ८: जसले नेपाली चियालाई अमेरिकामा चिनाए, विश्वभर पुर्याउने लक्ष्य


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved