सामाजिक सञ्जालमा विभिन्न देशको विरोध गरेर राष्ट्रवादी बन्ने होडबाजी चलिरहेको भिडमा आफैँ उत्पादनमा लागेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा हिडिरहेकाहरु चुपचाप आफ्नो कर्म गरिरहेका भेटिन्छन् । तिनै कर्मशील मध्येका एक जना पात्र हुन् होमनाथ उपाध्याय ।
आयातित जुत्ता र गार्मेन्टको ब्यापारबाट व्यवसायिक जीवनमा प्रवेश गरेका होमनाथ अहिले स्वदेशमै जुत्ता उत्पादन गर्छन् । आयात गरेको सामान बेचेर मात्रै मुलुक आर्थिक रुपमा सबल बन्दैन भन्ने सोच भएपनि सुरुमै उद्योग चलाउन उनीसँग पूँजी थिएन । त्यसैले केही वर्ष भारत, थाइल्याण्ड र हङकङबाट सामान ल्याएर बेचे । पछि उनले जुन कम्पनीबाट जुत्ता आयात गर्थे, त्यहीँ कम्पनीलाई नेपालमा एउटा प्लान्ट लगाउन कन्भिन्स गराए ।
भारतको ‘गड सन ब्रदर्श’को उत्पादन नेपालमा ल्याएर बेच्ने र नेपालमा उसका प्रोडक्टको मार्केटिङ गर्ने काम होमनाथको थियो । ‘गड सन ब्रदर्श’ले अहिले ‘रेड बर्ड’ जुत्ता उत्पादन गर्छ । उसँग २ वर्षजति काम गरेपछि होमनाथले एउटा प्लान्ट काठमाडौँमै लगाउन सुझाए । कम्तीमा कामदार नेपाली हुने र केही भएपनि स्वदेशी कच्चा पदार्थ खपत हुने भएकाले नेपालमै उद्योग खोल्न उनले गड सन ब्रदर्शलाई मनाए । त्यसपछि २०५७ सालमा ‘बेस फुटवेयर प्रा.ली.’ नामक कम्पनी दर्ता गरेर ललितपूरको हरिसिद्धीमा जुत्ता कारखाना खोलियो ।
सुरुमै दैनिक डेढ सय जोरसम्म जुत्ता चप्पल उत्पादन गर्ने क्षमतासहित उद्योग सञ्चालनमा आयो । भारतीय गड सन र होमनाथहरुले संयुक्त रुपमा काम गरे । काम गर्दै जाँदा करिब २ वर्षपछि गड सन बाहिरियो । आफ्नै जोडबलमा खोलिएको उद्योग भएको हुनाले गड सन बाहिरिएपनि होमनाथले उद्योगलाई निरन्तरता दिने निर्णय लिए । जुन उद्योग आज पनि ललितपूरको गोदावरीको विशाल क्षेत्रफलमा चलिरहेको छ । उद्योगको लगानी नै अहिले १५ करोड हाराहारी पुगिसकेको छ ।
नेपाली जुत्ता बिक्रि नै नहुने ति दिनहरु
होमनाथ उपाध्यायले जुत्ता उद्योग खोल्दा परिस्थिति अहिले जस्तो थिएन । नेपाली ब्राण्ड र नेपाली उत्पादनहरु बलिया हुँदैनन्, टिकाउ हुँदैनन् भन्ने भाष्य स्थापित थियो । बजार त्यस्तो अवस्थामा हुँदा पनि उनले उद्योगको बाँगडोर सम्हाल्ने आँट गरेका थिए ।
‘नेपालमै बनाइएको जुत्ता नेपाली भन्दा बिक्रि हुँदैनथ्यो, विदेशी भनेर बेचिन्थ्यो’ उनी स्मरण गर्छन्, ‘ग्राहकले जे नाममा माग्छन्, त्यहीँ नाममा बनाएर बजार पठाउने परम्परा थियो । हामीले यहीँ उद्योग चलाएका छौँ, नेपालमै जुत्ता बनाउँछौँ भन्दा कुन ब्राण्डको बनाउनुहुन्छ, कुन कम्पनीको जुत्ता बनाउनुहुन्छ भनेर प्रश्नहरु आउँथे । हामी पनि बिक्रि हुँदैन भनेर विदेशी भनेरै बेच्न बाध्य थियौँ ।’
ग्राहकबाट यस्ता प्रश्नहरु आउन थालेपछि ब्राण्डको खाँचो महशुस हुन थाल्यो । उनले चीनबाट सामान ल्याएर ‘डियर हिल’ जुत्ता बनाएर बेच्थे । त्यसपछि आफ्नै ब्राण्ड बनाउनुपर्छ भनेर उनले बजारमा चिनिएको र आफूले नै बेचिरहेको जुत्ता भएकाले त्यसको अगाडी ‘बि.एफ.’ राखेर ‘बि.एफ. डियर हिल’को ट्रेडमार्क लिएर २०६२/०६३ बाट यहीँ ब्राण्डमा जुत्ता दिन थाले ।
‘त्यतिबेला बाँसबारी छाला जुत्ता कारखानाको बाँसबारी भन्ने जुत्ता थियो, लेदर वीङ्स र फिट राइट भन्ने जुत्ता थिए, हामी आउँदा नेपाली जुत्ता बिक्रि हुँदैनथ्यो, विदेशी नाम र ब्राण्ड भनेर बेच्नुपथ्र्यो’ उपाध्यायले स्मरण गरे, ‘ग्राकहले नेपालमा बनेको जुत्ता लगाएर सब ठिकठाक छ भनेर किन्न ठिक्क पर्दा पनि कहाँ बनेको भन्दा नेपालमा बनेको भनेपछि छोडेर जाने अवस्था थियो । त्यस्तो जटिल परिस्थितिमा उद्योग लगाउने कुरा असम्भव जस्तै थियो । तर, आँट गरियो । पछि अरु अरु कम्पनीहरु पनि आए । अहिले नेपाली जुत्ता खोजी खोजी लगाउने कल्चर सुरु भएको छ, नेपाली भएपछि नेपाली उत्पादन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।’
आयात नै नहुने पाकिस्तानी छालाप्रति अति विश्वास
एकताका नेपाली जुत्ता नेपाली हो भनेर त बिक्रि हुँदैनथ्यो नै । भारतीय भन्दा पनि बिक्रि नहुने अवस्था थियो । किनकी, पाकिस्तानबाट आयात हुने छाला राम्रो हुन्छ, त्यसबाट बनेको जुत्ता बलियो र टिकाउ हुन्छ भन्ने मानसिकता थियो । उपाध्यायका अनुसार खासमा पाकिस्तानबाट एक टुक्रो छाला पनि आउँदैनथ्यो । तर, यदाकता मेला तथा महोत्सवमा काश्मिरी उत्पादन भने आउँथे ।
‘मेलातिर काश्मिरबाट आउने छालाका ज्याकेटहरु बिक्रि हुन्थ्यो, त्यहीँ भएर त्यहाँको छाला राम्रो भन्ने ब्राण्डिङ थियो’ उनी विगतमा फर्किदै आफ्नो कुरा सुनाउँछन्, ‘त्यहीँ भएर नेपालमा बनेका जुत्ता विदेशी भनेर बेचिन्थ्यो, भारतबाट आयात भएको जुत्ता पाकिस्तानी भनेर बेचिन्थ्यो ।’
बच्चादेखि वृद्धवृद्धासम्मका डिजाइन
विगत एक खालको अत्याशलाग्दो नै भएपनि होमनाथ उपाध्यायले त्यो जटिल समयको सामना गरे । स्वदेशी उत्पादनप्रति विश्वास नै नभएको त्यो कालखण्डदेखि आज स्वदेशी उत्पादनको उपभोग गर्नुपर्छ भन्ने चेतना विस्तार हुनुमा पनि उनको कम योगदान छैन ।
सुरुमा दैनिक १ सय, डेढ सय जोडी जुत्ता चप्पल उत्पादन गर्ने उनको उद्योगले अहिले दैनिक २५ सय जोर जुत्ता चप्पल उत्पादन गर्ने क्षमता राख्छ । उनको उद्योगबाट भर्खरै जन्मिएका बच्चालाई लगाइने, स्कुल कलेजका ड्रेस, खेलकुदका ड्रेस र बुढापाकाले लगाउने सबै खालका जुत्ता बनाइन्छ ।‘बि.एफ. स्पोर्टस् भनेर स्पोर्टस् शुजहरु बनाउँछौँ, कालो जुत्ता, बच्चा बच्चीका जुत्ता, युनिफर्मका जुत्तामा बि.एफ. डियर हिल बनाएर दुइ सेगमेन्टमा जुत्ताहरु बनाउँछौँ’ उपाध्यायले भने ।‘शोल’ पनि यहीँ बन्न थाल्यो
गत वर्षसम्म उद्योगले शोल बाहिरबाट ल्याउँथ्यो । तर, अहिले उद्योगले शोल पनि नेपालमै बनाउन थालेको छ । यसका लागि गत वर्ष मात्रै उद्योगले शोल बनाउने मेशिन जडान गरेको छ । शोल बनाएर जुत्ता पनि टाँसेर निस्कने ‘इन्जेक्टेड’ मेशिन छ । यसबाट बच्चाबच्ची र मिडियम खालका जुत्ताहरु बन्छन् ।
पार्टी शुज र बुटहरु पनि बनाइन्छन् । सुरुमा ‘लास्टिङ’को काम हातले गरिँदै आएकोमा अहिले यो कामका लागि नयाँ प्रविधिका मेशिन जडान गरिएका छन् । केही दिनमै यो मेशिनबाट उत्पादन सुरु हुनेछ ।
१०० जनालाई रोजगारी
उद्योगमा २०७२ सालभन्दा अगाडी १ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । भूकम्प, नाकाबन्दी, कोभिड र अहिलेको आर्थिक मन्दीका कारण बजारमा माग नभएका कारण उत्पादन कटौती भएको छ । दैनिक २५ सय जोडी जुत्ता चप्पल उत्पादनको क्षमता भएपनि अहिले क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उद्योग चलेको छ । जसका कारण कामदार पनि ५० जनाको हाराहारीमा छन् ।
प्रमुख बजार स्वदेश नै, सस्तोमा स्तरीय जुत्ता चप्पल
डियर हिलका जुत्ताहरुको मुख्य बजार नेपाल नै हो । उद्योगी उपाध्यायका अनुसार तथ्यांक नै राख्ने तहको निकासी भएको छैन । कहिलेकहीँ विदेशमा रहेका आफन्तलाई नेपाली दाजुभाई दिदीबहिनीले उपहारका रुपमा डियर हिलका जुत्ता चप्पल लगिदिने गरेका छन् ।
‘फाट्टफुट्ट गिफट्का रुपमा विदेशमा पनि जान्छ, तर यति नै निकासी भयो भनेर डकुमेन्ट बनाएरै निर्यात भएको छैन’ उनले भने, ‘हाम्रो मुख्य बजार भनेको आन्तरिक खपत नै हो ।’
यसरी देशभरी करिब १ हजार स्टोर तथा डिलरमार्फत डियर हिलका जुत्ताहरु आम उपभोक्तमाझ पुगिरहेका छन् ।
‘२०६७ देखि २०७२ को बीचमा नेपाली जुत्ताको बजार बुम भयो, हरेक पसलले कम्तीमा एउटा नेपाली ब्राण्डको साइन बोर्ड नराखे उसको पसल नै नचल्ने सम्म भयो’ उनी भन्छन्, ‘हाम्रा जुत्ता चप्पलहरु १ हजार बढी स्टोरमार्फत बिक्रि हुन्थे, अहिले मन्दीका कारण केही घटेको छ । तर, आम उपभोक्तामा नेपाली जुत्ता चप्पलप्रतिको आकर्षण बढेको छ ।’
उनका अनुसार डियर हिलका जुत्ता सामान्यदेखि मध्यम वर्गका लागि बनाइन्छन् । ८÷९ सय देखि ४ हजार ४५ सय सम्मका जुत्ताहरु उपलब्ध छन् ।
‘सबै वर्गले उपभोग गर्न सक्ने मूल्यमा स्तरीय उत्पादन दिने लक्ष्य हो, १ हजारदेखि ४ हजार ४५ सय सम्मका जुत्ताहरु छन्’ उपाध्यायले भने ।
सेना, प्रहरी र कर्मचारीले स्वदेशी जुत्ता लगाउनुपर्ने कार्यक्रम लागू नहुँदा खिन्न
उपाध्याय एउटा उद्योगी मात्रै होइनन् । उनी उद्योगीहरुको संस्थामा बसेर उद्योगमैत्री नीतिहरुको वकालत पनि गरिरहन्छन् । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघको मेला समिति सदस्य छन् । उनी जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष हुन् ।
सरकारलाई बजेट भाषणमार्फत नेपाली जुत्ता चप्पलको प्रयोग बढाउने खालका कार्यक्रम घोषणा गर्न लगाउनुमा उनको नेतृत्वदायी भूमीका छन् । उनीसहित जुत्ता चप्पल उद्योगीहरुले निरन्तर पहल गरेकै कारण सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र निजामति कर्मचारीले नेपाली जुत्ता प्रयोग गर्नुपर्ने कार्यक्रम घोषणा गर्यो । तर, यसको कार्यान्वयन भएन । आफूहरुको पहलमार्फत बजेटबाट घोषणा भएको यो कार्यक्रम कार्यान्वयन नभएकोमा उपाध्याय खिन्न सुनिन्छन् ।
‘यो कार्यक्रम कार्यविधि बनेर लागू हुन्थ्यो भने १० लाख जोडी जुत्ता चप्पल खपत बढ्थ्यो’ उनी भन्छन्, ‘१० लाख जोडी माग थपिनु भनेको उद्योगको उत्पादन बढ्नु हो, रोजगारी बढ्नु हो, राजस्व बढ्नु हो । यो कार्यक्रम लागू भएको भए अहिलेको मन्दीको अवस्थामा पनि जुत्ता चप्पल उद्योगहरुलाई ठूलो राहत हुन्थ्यो ।’
उनले खुला सिमानाका कारण भन्सार छलेर अवैध रुपमा जुत्ता चप्पलको पैठारी हुँदा स्वदेशी उद्योगहरु मारमा परिरहेको पनि सुनाए । यसले एकातिर स्वदेशी उत्पादन बिक्रि नहुने जोखिम बढाइरहेको छ भने अर्कातिर सरकारको राजस्व गुमिरहेको छ । उपाध्यायले अवैध आयातलाई रोक्न भन्सार विभाग जस्ता निकायहरुले त्यस खालको ‘मेकानिजम’ बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।
‘जुत्ता चप्पलमा आत्मनिर्भर छौँ, आयात नगर्दा पनि हुने अवस्था छ’ उनी आफ्ना कुरा बिट मार्दै भन्छन्, ‘तर भन्सार छलेर आउने अवैध जुत्ताहरुका कारण हामीलाई समस्या छ । यसले मूल्यमा हामी महँगो देखिन्छौँ र हाम्रा उत्पादन बिक्रि हुँदैनन् । सँगै, भन्सार छलेर आएको हुनाले सरकारले पनि राजस्व गुमाइरहेको छ । यो नियन्त्रण नगरी हुँदैन, सरकारले यसतर्फ सोच्नुपर्ने आजको आवश्यकता हो ।’
यस अघिका उद्यमशीला एपिसोड
उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना
उद्यमशीला एपिसोड २ : आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’
उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना
उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य
उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’
उद्यमशीला एपिसोड ६: २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम