घाटाको पर्यटन उद्योगले कसरी घटाउँछ व्यापार घाटा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 24, 2019 | 12:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्र पछिल्लो समय निकै प्रतिस्पर्धी बनेको छ । विश्व बजारमा पर्यटनको विकास द्रुत गतिमा भईरहेको छ । एक देशले अर्को देशका नागरिक घुमाए वापत लिने आम्दानी पनि बढेको छ । पर्यटन क्षेत्रले विश्व बजारमा वर्षेनी अर्ब बढीको मुद्रा चलायमान हुने बनाउने गराएको छ ।

यसका अलवा पर्यटनले गरिबी निवारणमा प्रत्यक्ष सहयोग गर्छ । रोजगारीका अवसरहरु सिर्जना हुनाले वेरोजगारी घट्छ । योसँगै विदेशी मुद्रा आर्जन र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउन पनि पर्यटन क्षेत्रको योगदान निकै ठूलो छ ।

नेपाल धार्मिक, सांस्कृतिक, प्राकृतिक आकर्षणले भरिएको गन्तव्य हो । नेपालमा विश्व सम्पदा सूचीमा समावेश पशुपतिनाथ, लुम्बिनी, सगरमाथा लगायतका आठ सम्पदा छन् । यीनको प्रचारले पनि नेपालको पर्यटन उद्योग फस्टाउन सक्नेमा द्धिविधा छैन ।

सन् १९७० को दशकबाट सुरु भएको नेपालको पर्यटन क्षेत्रको प्रचारले छोटो समयमा केही उपलब्धि हाँसिल गरेको छ । पर्यटनविद्हरुको भनाई नै सापटी लिने हो भने पनि नेपालको पर्यटन क्षेत्र भर्खर युवा अवस्थामा छ ।

राज्यबाट भएका नीतिगत पहल

२०३५ सालमा पहिलोपटक आएको पर्यटन ऐनलाई अहिले विस्थापनको तयारी गरिँदैछ । नेपालको संविधानले पर्यटनसम्बन्धी नीति तय गरेको छ । पर्यटन क्षेत्रमार्फत हुने लाभ स्थानीय नागरिकसमक्ष पुर्याउने लक्ष्य संविधान, आवधिक योजता तथा वार्षिक कार्यक्रममार्फत लिइएको छ । साथै नेपाल भ्रमण वर्ष २०२० र नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५) ले पनि नेपालको पर्यटन उद्योगलाई उत्कृष्ट सेवा मूलक उद्योगको रुपमा लिएका छन् । योसँगै पर्यटन क्षेत्रमा अनियमिता नहोस् भन्नका लागी सरकारले पर्यटन खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ पनि लागु गरेको छ ।

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाले पर्यटन व्यसायीमा उत्साह थपेको छ । यसका साथै चालु आर्थिक वर्षको हालसम्म पर्यटन उद्योगमा बढेका लगानी हेर्दा पनि नेपालमा पर्यटनको सम्भावना चुलिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ८६ वटा पर्यटन सम्बन्धि उद्योगहरु सञ्चालनको तयारीमा छन् । गतवर्ष यही अवधिमा ७७ वटा पर्यटन सम्बन्धि उद्योग सञ्चालनमा आएका थिए । यसवर्ष पर्यटक स्तरका होटलका संख्यामा वृद्धि भएको तथ्यांक छ । पर्यटकको आगमन पनि बढेको छ ।

यस्ता धेरै काम भएको देखिएपनि सोचेअनुसार पर्यटक आगमन भएको छैन । गतवर्षभन्दा पर्यटक आगमन संख्यात्मक रुपमा बढेको होला । तर छिमेकी देशलाई हामीले उछिन्न सकेका छैनौ ।

दक्षिण एसियामा पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ । पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ । छिमेकी देशक भारत ४० औं, श्रीलंका ६४ औं, भुटान ७८ औं, पाकिस्तान १२४ औं र बंगलादेश १२५ औं स्थानमा छन् । यसको अर्थ हामीले हाम्रा सम्पदाको विश्व बजारमा प्रचार गर्नै सकेनौ । सरकारी स्तरबाट भएका पहल पर्याप्त भएनन् ।

पर्यटन उद्योगः अपेक्षा बढी कि योगदान कम ?

सरकारी अधिकारीहरु पर्यटन क्षेत्रको योगदान बाहिर चर्चामा आएको भन्दा ज्यादा भएको दाबी गर्छन । कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान २.५ प्रतिशत मात्रै छ । तर डब्लुटिटिसी नामक संस्थाले भने ८ प्रतिशत योगदान छ भन्ने गरेको छ । अझै कति प्रतिशत योगदान पर्यटन क्षेत्रबाट भएको छ भन्ने यकिन तथ्यांक छैन ।

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेटमार्फत नै टुरिजम स्याटेलाइट एकाउण्टको व्यवस्था गर्ने जनाएको छ । आगामी केही महिनामा यसको तयारी सकिने र त्यसपछि यसले काम गर्ने बोर्डका सिइओ दिपकराज जोशी बताउँछन् । यसपछि मात्रै यकिन तथ्यांक आउन सक्नेमा आशा गर्न सकिन्छ ।

नेपालमा पर्यटन क्षेत्रले कुल रोजगारीको ३.२ प्रतिशत रोजगारी (प्रत्यक्ष तथा अप्रत्यक्ष) सृजना गरेको छ । भारतको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.८८ प्रतिशत छ । भारत धेरै श्रमिक उत्पादन हुने मुलुक हो । भारतीय पर्यटन उद्योगले रोजगार क्षेत्रमा १२ प्रतिशतको योगदान र्पुयाएको छ ।

सरकारले व्यापार घाटाको पूर्ती गर्न पर्यटन उद्योगलाई प्रयोग गर्ने जनाएको छ । तर अर्बौको व्यापार घाटा पूर्ती गर्न पर्यटन क्षेत्रले सक्ने स्थिती छैन । फेरि पर्यटन उद्योग आफैँ घाटामा छ । चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेश घुमेरै ४१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेका छन् । यही अविधमा नेपाल आएका विदेशीबाट ३१ अर्ब ८८ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ । अर्बौको व्यापार घाटा ब्यहोरेको नेपालले पर्यटक उद्योगलाई पनि घाटाबाट अछुतो राख्न सकेन ।

आगन्तुक पर्यटकः खर्चिला धेरै तर खर्च कम

प्रायःजसो बिदा मनाउनको लागी एक ठाउँबाट अर्को ठाउँमा जानेहरुले बढी खर्च गर्छन् । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत बिदा मनाउने उद्देश्यले आउने गरेका छन् । पदयात्रा वा पर्वतारोहणको लागी आउने पर्यटक ८ प्रतिशत मात्रै छन् । तीर्थयात्रा वा धार्मीक गतिविधिका लागी आउने पर्यटक १५ प्रतिशत छन् । अन्य उद्देश्यले आउने पर्यटक ७ प्रतिशत मात्रै छन् । यसको अर्थ खर्च गर्ने पर्यटक नै नेपालमा धेरै आउने गरेका छन् । तर उनीहरुले खर्च गर्ने पर्याप्त ठाउँ हामीसँग छैन ।

सन् २०१७ मा नेपालमा प्रति पर्यटक औसत बसाई १२.६ दिन छ । सोही अध्ययन अनुसार प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर छ ।
विभिन्न खोज अनुसन्धानका लागी आउने पर्यटक, साहसिक खेल (प्याराग्लाईडिङ, आरोहण, बञ्जी जम्प आदि) का लागी आउने पर्यटक, विभिन्न सभा, समारोह, मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, एक्जिबिसन आदिका लागि आउने पर्यटकले धार्मीक पर्यटकको तुलनामा बढी खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

त्यसैले नेपालको पर्यटनलाई व्यापार घाटा पूर्तीको उद्योगको रुपमा विकास गर्न धार्मीक पर्यटनको तुलनामा साहसिक गतिविधिको गन्तव्यका रुपमा नेपाललाई विकास गरी प्राकृतिक पर्यटनलाई बढी प्रचार गरिनुपर्ने पर्यटनविद्हरुको सुझाव छ ।

तसर्थ अर्बौको व्यापार घाटा ब्यहोरिरहेको नेपालले यसलाई पूर्ती गर्न अहिलेकै अवस्थामा पर्यटन उद्योगलाई प्रयोग गर्न सक्ने स्थिती छैन । ‘व्यापार घाटा कम गर्ने गतिलो माध्यम पर्यटन नै भएपनि नेपालीको विदेश घुम्ने मोह र त्यहाँ गएर गर्ने खर्च अत्याधिक हुनाले नेपालको पर्यटन उद्योगले तत्काल व्यापार घाटा ‘कभर’ गर्न सक्दैन’ एक जना पर्यटनविद्ले भने ।

यसअघिः

घाटामा नेपालको पर्यटन उद्योग, संख्यालाई प्रगति मानेर नौटङ्कि कहिलेसम्म ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved