५ घटनाले भन्छ 'व्यक्ति बचाउन राष्ट्र बैंकले डुबाउदैछ सिवाईसी लघुवित्त', जोखिममा जनताको ९ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 11:39:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशन नमानेकै कारण बैंक तथा वित्तीय संस्थाहरूमाथि कारबाही गर्नेगरेको छ । तर, पटक–पटक निर्देशनको अवज्ञा गर्दै आएको पोखरा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबारे भने राष्ट्र बैंकले बेवास्ता गर्दै आएको छ ।

सिवाईसीले एक वा दुई वा तीन होइन, दर्जनौँ पटक राष्ट्र बैंकको निर्देशनको अवज्ञा गरेको छ । राष्ट्र बैंकको निर्देशन अवज्ञा गरे पनि सिवाईसीका प्रबन्ध निर्देशक डोलेन्द्र शर्माले भने उन्मुक्ति पाउने र सिवाईसी  लघुवित्त भन्ने डुब्ने अवस्थामा पुगेको छ ।

निर्देशनको अवज्ञा भएको समाचार बाहिर आएपछि औपचारिकता पूरा गर्नलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले सिवाईसीको बारेमा स्थलगत अध्ययनको लागि टोली पठाउने काम गर्यो । तर, राष्ट्र बैंकले पठाएको उक्त अध्ययन समितिले सिवाईसीको पोखरा र स्याङ्जाको शाखा कार्यालय भ्रमण गरेर सञ्चालक समितिका सदस्यलाई डाकेर ‘केही दिनमा प्रतिवेदन पढ्न पाउनुहुनेछ’ भन्नेबाहेक अरु कुनै विषयमा सोधपुछ नगरेको पाइएको छ ।

राष्ट्र बैंकले बेवास्ता गरेका केही घटना :-

घटना १ : बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा सञ्चालक र प्रमुख कार्यकारी एकै पदमा बस्न नपाउने व्यवस्था छ । यही कुरा लघुवित्तमा पनि लागू गर्ने उद्देश्यले सञ्चालक र प्रमुख कार्यकारी एकै भएका लघुवित्तलाई प्रबन्ध सञ्चालक पद नराख्न भनेर सीवाईसी नेपाल, युनिक नेपाल र नेष्दो समृद्ध लघुवित्तलाई लिखित निर्देशन नै दिएको थियो । तर, अन्य लघुवित्तले यो निर्देशन पालना गरे पनि सिवाईसी लघुवित्तले अहिलेसम्म प्रबन्ध निर्देशक पद कायम राखेको छ । डोलराज शर्मा अहिले पनि राष्ट्र बैंकको निर्देशनविपरीत सिवाईसीको सञ्चालक र प्रबन्ध सञ्चालक छन् । तर, आफ्नै निर्देशनको अवज्ञा हुँदा पनि सिवाईसीमाथि राष्ट्र बैंकले कुनै कारबाही गर्न सकेन ।

घटना २ : मर्जर तथा प्राप्तिपश्चात् बनेको सञ्चालक समिति होस् वा वार्षिक साधारणसभाले चयन गरेको सञ्चालक समिति होस् राष्ट्र बैंकले नियमन गर्ने बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षले राष्ट्र बैंकबाट ३५ दिनभित्र शपथ खानुपर्ने र अध्यक्षले बाँकी सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारीलाई शपथ खुवाउनुपर्ने कानुनी प्रावधान छ । अहिलेसम्म मर्जर तथा प्राप्तिपश्चात् बनेको होस् वा साधारणसभाबाट मनोनित भएर आएका होस्, सबै बैंक वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंकबाट शपथ लिएर नै आफ्नो पदीय जिम्मेवारी सुरु गरेका छन् । तर, आँधीखोला लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको सिवाईसी लघुवित्तका सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्माले झन्डै छ महिनापछि शपथ लिए । अध्यक्षले शपथ नलिएकै कारण सिवाईसीका अन्य सञ्चालक र प्रबन्ध निर्देशक पदमा रहेका डोलराज शर्माले पनि छ महिनासम्म शपथ नखाई पदीय जिम्मेवारी पुरा गरे। र यसबीचमा उनीहरूले विभिन्न निर्णय गरेका छन् भने तलबभत्ता पनि बुझेका छन् । तर, ३५ दिनभित्र शपथ लिनुपर्नेमा छ महिनासम्म पनि शपथ नलिए पनि सिवाईसीलाई अहिलेसम्म राष्ट्र बैंकले कुनै कारबाही गर्न सकेन ।

घटना ३ : सबै कुरा कानुनको दफा र उपदफामा मात्रै सीमित हुँदैनन् । कतिपय विषयहरू अभ्यास र आचरणले पनि निर्धारण गर्दछ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्नलाई अनुमति लिएकामध्ये कुनै पनि बैंक वित्तीय संस्था तथा लघुवित्तले व्यक्तिको नाममा शाखा कार्यालय खोलेका थिएनन् । तर, सिवाईसी लघुवित्तले लघुवित्तका प्रबन्ध निर्देशक डोलेन्द्र शर्माको नाममा, उनको परिवारको नाममा, नेताको नाममा शाखा कार्यालय खोलेर जग हँसाउने काम गरेको थियो । तर, यस्तो ‘तानाशाह शासक’ प्रवृत्ति अपनाउँदा समेत राष्ट्र बैंकले सिवाईसीलाई कुनै कारबाही गर्न सकेन ।

घटना ४ : आफू अध्यक्ष, संस्थाको शाखा आफ्नै घरमा राखेको र श्रीमतीको कम्पनीका ग्राहकलाई लघुवित्तबाट ऋण दिएको भनेर राष्ट्र बैंकको सुपरिवेक्षण विभागको विभागीय प्रमुखको सिफारिसमा राष्ट्र बैंकको सञ्चालक समितिले मिर्मिरे लघुवित्तका अध्यक्षलाई पाँच लाख जरिबाना र पाँच वर्ष सञ्चालक समितिमा बस्न नपाउने गरी कारबाही गरेको थियो । तर, सिवाईसी लघुवित्तका प्रबन्ध निर्देशक डोलराज शर्माले श्रीमती मालिक रहेको र आफैँले लेखेको किताब लघुवित्तको खाताबाट खरिद गर्न लगाएको जस्तो गम्भीर स्वार्थ बाझिने काम गर्दा पनि राष्ट्र बैंकले कुनै कारबाही गर्न सकेको छैन ।

घटना ५ : सिवाईसीमा प्रमुख कार्यकारीले लिन पाउने दैनिक भत्ता तीन हजार छ तर सिवाईसीका प्रबन्ध निर्देशक डोलेन्द्र शर्माले एक वर्षमा दैनिक भ्रमण भत्ता १७ लाख ८८ हजार लिएका छन् । यो रकमलाई तीन सय ६५ दिनले भाग गर्दा दिनकै भत्ता झण्डै पाँच हजार हुन आउँछ । तर, एक दिन पनि कार्यालय नबसी तीन सय ६५ दिन नै देश–विदेश भ्रमण गरेको मान्दा पनि यिनले झण्डै सात लाख नियमविपरीत लिएको देखिन्छ । त्यसमाथि पनि तलबभत्ताबापत अलग्गै १४ लाख ३२ हजार लिएका छन् । अरु खर्च विभिन्न शीर्षकमा प्रक्रिया मिलाएर गरिएको मान्ने हो भने पनि सीवाईसीको वार्षिक प्रतिवेदनमा नै उल्लेख गरेको यस्तो विषयलाई समेत नेपाल राष्ट्र बैंकले केही गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकजस्तो संस्था एउटा व्यक्तिको लागि यसरी आँखा चिम्लिएर किन बसेको छ ? यो आफैँमा गम्भीर विषय हो । राष्ट्र बैंकले आँखा चिम्लिएको कुरालाई लिएर गभर्नर, राष्ट्र बैंक सञ्चालक समिति सदस्य, नियमन तथा सुपरिवेक्षण विभागका कर्मचारीलाई कुनै बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही कारबाही गर्ला नगर्ला त्यो हेर्न बाँकी छ । तर, यत्तिका वित्तीय अपराधका घटना हुँदा पनि लघुवित्तका अन्य कर्मचारी पनि मौन किन छन् ?

सिवाईसी लघुवित्तले गत आर्थिक वर्ष मात्र स्याङ्जा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तसँग मर्ज भएको थियो र मर्जरपश्चात् सिवाईसी नेपाल लघुवित्तको नामबाट कारोबार हुँदै आएको छ । दुवै संस्थाको जोड्दा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी र लघुवित्तका सदस्यबाट जम्मा गरेको जोडेर कुल निक्षेप करिब नौ अर्ब हाराहारी रहेको छ । तर, पछिल्लो समय सीवाईसी नेपालका सञ्चालक नै व्यवस्थापनमा हाबी भएपछि त्यहाँको आर्थिक सुशासनमा समस्या देखिएको छ ।

सिवाईसी नेपाल एनजीओ अर्थात् फिङ्गोबाट आएको संस्था हो र यसमा चारतारे युवा क्लबको सबैभन्दा बढी सेयर छ । चारतारे युवा क्लबबाट प्रतिनिधित्व गर्दै डोलराज शर्मा सिवाईसीका सञ्चालक बनेका हुन् । सञ्चालक पदमा रहँदै गर्दा शर्मा नै सिवाईसी नेपालको प्रमुख कार्यकारी अर्थात् प्रबन्ध निर्देशकमा पनि छन् । चारतारे युवा क्लबका अध्यक्ष र अहिले सिवाईसी नेपालका अध्यक्षबीच दाजुभाइको सम्बन्ध रहेको बताइन्छ । पछिल्लो समय सिवाईसी नेपाल लघुवित्तलाई परिवारको व्यक्तिगत कम्पनीको रूपमा चलाएको आरोप छ ।

यस अघि :

यस अघिका समाचारहरु

सिवाईसी लघुवित्तको निरीक्षणमा जाँदै राष्ट्र बैंक, ६ अर्ब निक्षेपको सुरक्षामा प्रश्न

गभर्नरलाई पंगु बनाएका डोलेन्द्रको डरलाग्दो धन्दा, महिनाकै १० लाखले नपुगेपछि पुस्तकको फण्डा

माओवादी दबाबमा गभर्नरको मनलाग्दी निर्णय: एकै गल्तीमा कसैलाई संरक्षण, कसैलाई कारबाही

राष्ट्र बैंक विरुद्द अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष, झुटा आरोपमा कारबाही गरेको आरोप

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved