लगानी वृद्धि र विद्युत व्यापारमा भूमीका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 04:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । 

दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक निजी साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले आग्रह गरेको हो । 

नवनियुक्त राजदूत शर्मासँगको छलफल कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको संभावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको उल्लेख 

गरे । 

उनले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए । 

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा छ । त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको छ । यसैगरी भारतीय बजारमा ऊर्जाको उच्च माग रहेकाले नेपालबाट विद्युत निर्यातमा सहजीकरण गर्न पनि परिसंघले राजदूत शर्मासँग आग्रह गरेको छ । 

छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने बताए । उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए । 

छलफल कार्यक्रममा परिसंघले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि राजदूत शर्मालाई विभिन्न सुझाव उपलब्ध गराएको छ ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल र रोहित गुप्ताका साथै विभिन्न काउन्सिलका सभापतिहरू तथा नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा काम गरिसकेका शर्मा राष्ट्रपतिबाट भारतका लागि नेपाली राजदूत नियुक्त भईसकेका छन् । उनीसँग अमेरिकाका लागि नेपाली राजदूतको रूपमा समेत काम गरेको अनुभव छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved