उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘हाम्रो विरोध बैंकको बेस रेटमा होइन, प्रीमियममा हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 01:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले दशैँ र तिहारको मुखैमा उद्योगी व्यवसायीहरु फुर्सदिला हुनुले देशको अर्थतन्त्रको वर्तमान अवस्थाको संकेत गर्ने बताएका छन् । खुला बजार अर्थतन्त्र सुरु भएदेखि आफू प्रत्यक्ष रुपमा उद्योग व्यवसायमा संलग्न भएको भएपनि यस्तो जटिल अवस्था अहिले भन्दा अगाडी कहिल्यै भोग्नु नपरेको उनको भनाई छ ।

‘ब्यापार छैन, व्यवसायीहरु फुर्सदिला हुनुहुन्छ’ उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘वर्षभरी हुने ब्यापारको ३० देखि ४० प्रतिशत ब्यापार हुने दशैँ तिहारको समयमै हालत यस्तो छ ।’

उनले होलसेल व्यापार ८० प्रतिशत र खुद्रा व्यापार ६० प्रतिशतले घटेको पनि गुनासो गरे । एकातिर तरलता संकट र अर्कोतिर बैंकको ब्याजदर अस्वभाविक रुपमा बढेकाले देशमा क्रमशः उद्यम व्यवसायको वातावरण बिग्रदै गएको उनको दाबी छ ।

‘इको सिस्टम नै खराब भएको छ’ श्रेष्ठ भन्छन्, ‘आयात रोक्दा र ब्याजदर बढाउँदा सबै ठिकठाक भयो त ? ब्याज बढाउँदा पैसा आउँछ भनिएको होइन ? आयो त ? नआएपछि यो विधि फेल भयो की भएन ? फेल हुँदा पनि किन लागू भइरहन्छ ?’

श्रेष्ठले पौष मसान्तमा ३० प्रतिशत जति व्यवसायीले ब्याज तिर्न नसकेर ‘डिफल्ट’ हुने र त्यसपछि उनीहरु पलायन हुने जोखिम रहेको पनि सुनाए । व्यवसायीहरु पलायन हुनु भनेको बैंकको लगानी डुब्नु भएकाले बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर फिर्ता हुनुपर्ने उनको माग छ ।

‘हाम्रो प्रश्न बेस रेट (आधार दर)मा होइन, प्रीमियममा हो’ श्रेष्ठले भने, ‘प्रीमियम दरमा ६ प्रतिशतसम्म फरक राखिएको छ, रिस्क (जोखिम)का कारण प्रीमियम दर फरक फरक हुन्छ भनिन्छ, ६ प्रतिशतसम्म प्रीमियम फरक हुने कस्तो खालको रिस्क हो ?’

उनले हिजो बेस रेटमा ०.५ प्रतिशत प्रीमियम तिर्दा हुने गरी स्वीकृत गराएर व्यवसायीले लिएको कर्जाको ब्याज आज बेस रेटमा ४ प्रतिशत प्रीमियम तिर्नुपर्ने गरी बढिसकेको भन्दै यसले बैंकहरुको नाफा बढाउने बाहेक अर्को कुनै औद्योगिक र व्यवसायिक उपलब्धि हासिल नगर्ने ठोकुवा गरे । तर, श्रेष्ठले बैंकहरुको नाफामा आफ्नो कुनै गुनासो नभएको पनि बताए ।

यसैबीच, आर्थिक वर्ष २०७७/०७८ सम्म निजी क्षेत्रमा प्रवाह भएको कर्जा राष्ट्र बैंक र सरकारकै नीतिका कारण आर्थिक वर्ष २०७८/०७९ मा १६ प्रतिशतमा खुम्चिएको बताए । 

‘२९ प्रतिशत कर्जालाई १९ प्रतिशतमा झार्ने लक्ष्यसहित सीडी रेसियो लागू गरियो, १९ प्रतिशत तार्गेट राख्दा १६ प्रतिशतमा सिमित भयो, अहिले त झन १२.६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरिएको छ’ श्रेष्ठले भने, ‘खुला बजार अर्थतन्त्रलाई साँघुरो बनाउने नीति लिइएको पो हो की ? अहिले निजी क्षेत्र आशंकित छ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved