चर्काे ब्याज विरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्धारा ज्ञापनपत्र पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 04:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तिय संस्थाले चर्काे ब्याज अशुलेको भन्दै भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेश गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढन नसकेको उद्योगी व्यवसायीको भनाई छ । निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा गम्भिर नकारात्मक असर परेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले स्थानीय प्रशासन समक्ष ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् । 

ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन् । 

यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरिएको छ । 

बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुंदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन् । मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनु पर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको   छ । 

ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससंगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुरथिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved