ट्राफिक प्रहरीले १५ सयको चिट काट्न थालेपछि यातायात मजदूर आन्दोलित, व्यवसायीको पनि साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 04:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना रकम बढाएर धमाधम चिट काट्न थालेको भन्दै यातायात मजदूरहरु आन्दोलित भएका छन् । पौष ३ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात मजदूरहरुले आन्दोलन सुरु गरेका हुन् ।

ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ प्रकारका कसुरमा १५ सय रुपैयाँ जरिवाना लिन थालेपछि मजदूरहरुले आज सभा गरेरै आन्दोलनको घोषणा गरेका हुन् ।

सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्ता किताब) १५ सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ । यसअघि यस्तो जरिवानाको रकम ५ सय रुपैयाँ थियो ।

रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत साइडबाट सवारी चलाउँदा, एकतर्फी सडकमा चलाउँदा र अवस्था ठीक नभएको सवारी चलाउँदा पनि अधिकतम जरिवाना रकम (१५ सय) नै लिन थालिएको छ । यसको मजदूरहरुले विरोध गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र ३ वटै ठूला दलका यातायात मजदूर युनियनले ट्राफिक प्रहरीले राजस्व मात्रै उठाउने लक्ष्यले अव्यवहारिक र अवैज्ञानिक ढंगले जरिवाना रकम बढाएको आरोप लगाएका छन् ।

यातायात व्यवसायी महासंघको ऐक्यवद्धता

ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ विपरित जरिवाना रकम बढाएर राजस्वमा मात्रै आफ्नो ध्यान केन्द्रित गरेकाले मजदूरहरुले आन्दोलन गरेको र यसमा यातायात व्यवसायी राष्ट्रिय महासंघको समर्थन र ऐक्यवद्धता रहेको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

उनले जरिवाना रकमको वृद्धिसँगै चालकहरुको लाइसेन्स नै निलम्बन गर्ने काम पनि ट्राफिक प्रहरीबाट भएको र हालसम्म ३ सय बढी चालकहरुको लाइसेन्स नै रद्द गरिएको भन्दै यसले चालकहरुको अभाव सिर्जना हुने दाबी नै गरेका छन् ।

‘लाइसेन्स दिने ठाउँमा बसेको यातायात व्यवस्था विभाग माग अनुसार लाइसेन्स दिन सकिरहेको छैन, उता ट्राफिक प्रहरीले भने धमाधम भइरहेका लाइसेन्स पनि निलम्बन गरिरहेको छ’ सिटौलाले बिजपाटीसँग भने, ‘त्यसैले मजदूर साथीहरुका माग र मुद्दामा महासंघको पूर्ण समर्थन छ, ऐक्यवद्धता छ । हामी आजै विज्ञप्ति पनि निकाल्छौँ ।’

‘ऐन कार्यान्वयन गरेका हौँ’

ट्राफिक प्रहरीले भने यातायात व्यवस्था विभागबाट २०७५ सालमै अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भइसकेको र सोही अनुसार विज्ञहरुको सुझाव समेत लिएर अधिकतम जरिवाना रकम लिन थालिएको बताएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले विभागबाट ट्राफिक प्रहरीमा अधिकार प्रत्यायोजन भएर आए अनुसार नै ऐनमा उल्लेख भएको नियम कार्यान्वयन गरिएको बताएका छन् । 

‘कसुरअनुसार जरिवाना हुन्छ, पहिलोपटक नै ५ हजारसम्म जरिवाना लिने अधिकार पनि छ’ उनले भने, ‘ऐन कार्यान्वयनका लागि अधिकार प्रत्यायोजन भएर आए अनुसार कसुरअनुसार जरिवाना लिने दायित्व ट्राफिक प्रहरीको हो ।’

ट्राफिक प्रहरीले एउटै कसुरमा ५ पटकसम्म कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन गराउन समेत थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार हालसम्म २५९ जनाको लाइसेन्स निलम्बन गरिएको छ ।

सचिवले मजदूरलाई बोलाए

जरिवाना रकम बढी भएको र लाइसेन्स निलम्बन हुन थालेको विरोधमा मजदूरहरुले आन्दोलन गर्ने भएपछि यातायात मन्त्रालयले मजदूर युनियनका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । माघ २९ गते मन्त्रालयमा सचिव केशव कुमार शर्माले छलफलका लागि बोलाएको बताइएको छ ।

जरिवाना बढाइएका कसुरहरुः

१. रेड लाइटमा सवारी नरोक्दा

२. निषेधित ठाउँमा पार्किङ गर्दा

३. गलत ठाउँबाट सवारी मोडेमा

४. सडकको गलत साइडबाट चलाएमा

५. एकतर्फी सडकमा चलाएमा

६. अवस्था ठीक नभएको सवारी चलाउँदा

७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा

८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा

९. नम्बर प्लेट नराखी चलाएमा

१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा

११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा

१२. लापरबाहीका साथ सवारी चलाउँदा

१३. सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा

१४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा

१५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा

१६. निषेधित क्षेत्रमा हर्न बजाएमा

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved