बरिष्ठ उपाध्यक्षमा सहयोग माग्न रामचन्द्र साङ्घाईको ‘कक्टेल डिनर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 05:12:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनको मिति नजिकिएसँगै बरिष्ठ उपाध्यक्षका आकांक्षी रामचन्द्र साङ्घाईले ‘कक्टेल डिनर’को आयोजना गर्न लागेका छन् । हाल महासंघको एसोसियसट उपाध्यक्ष रहेका सांघाई बरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । उनले यसबारे औपचारिक घोषणा नै गरिसकेका छन् । 

बरिष्ठ उपाध्यक्षको सहयोगका लागि अपिल गर्न फागुन १२ गते शुक्रबार सांघाईले कमलादीस्थित आफ्नो घरमा रात्रीभोजको आयोजना गर्न लागेका हुन् । रात्रीभोजका लागि सबै जिल्ला नगर, वस्तुगत र प्रदेश महासङ्घका अध्यक्षहरुलाई उनले निमन्त्रण पठाएका छन् । 

‘निमन्त्रणामा रात्रीभोज राखिएको भनिएको छ, शुक्रबार राती ८ बजेका लागि निम्तो आएको छ’ एक जना निम्तालुले पुष्टी गरे । बिजपाटीलाई प्राप्त जानकारीअनुसार सांघाईले १२३ वटा वस्तुगत सङ्घका अध्यक्ष, ११८ वटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र ७ वटै प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्षलाई निमन्त्रण पठाएका छन् । 

उनले उक्त रात्रीभोजमा जिल्ला नगर र वस्तुगत उद्योग वाणिज्य सङ्घहरुसँग आगामी निर्वाचनमा आफूलाई सघाउन अपिल गर्न लागेको बुझिएको छ । एसोसियट सदस्यहरुलाई भने उनले बोलाएको पुष्टि भइसकेको छैन । एसोसियटको मत आफूसँगै रहेको भनेर उनले उक्त रात्रीभोजमा एसोसियट सदस्यहरुलाई निमन्त्रणा नगरेको हुन सक्ने चर्चा चलेको छ । 

एसोसियट सदस्यको संख्या १ हजार ७६२ रहेको र यी सबैका प्रतिनिधिका लागि ठाउँ अभाव हुने भएकाले यसपटक जिल्ला नगर र वस्तुगत सङ्घका अध्यक्षलाई मात्रै बोलाएको हुन सक्ने दावी पनि महासङ्घ स्रोतले गरेको छ । 

आगामी चैत २८ गते बाणिज्य दिवस मनाएर महासङ्घका बरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यका लागि चैत २९ गते निर्वाचन हुँदैछ । सांघाईसहित बरिष्ठ उपाध्यक्षमा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हाल बहालवाला रहेका उपाध्यक्षहरु दिनेश श्रेष्ठ र अनञ्जन श्रेष्ठले दावी गरिरहेका छन् ।

यस विषयमा साङ्घाईले साथीहरुसँग गेट-टुगेदर गर्न खोजिएको प्रतिक्रिया दिए । 'चुनावको बेलामा यसरी बस्दा सहयोग माग्न नै बोलाएको हो भन्ने कुरा स्वभाविक रुपमा बुझ्छन् नै', उनले भने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved