उद्योग क्षेत्रका समस्याबारे चेम्वरले उद्योग सचिवलाई बुझायो १६ वुँदे ध्यानकर्षण पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 05:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसंग छलफल गरेको हो । उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे ध्यानकर्षण पत्र समेत बुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे । उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए ।

उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरुमा प्रवद्र्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि सरकारसंग हातेमालो गर्न चेम्बर सदैब तयार छ, ।’

औद्योगिक व्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल व्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दश करोड रुपैयाँ बराबरको विद्युत खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवद्र्धन गर्न सकिने बताए ।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुहरुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाई छ । यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए  । यसका लागि वैदेशिक रोजगार सम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाई छ ।

बार्षिक ९ खर्ब रुपैयाँ बराबरको निर्यात क्षमता भएपनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए । चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved