किन चर्चामा आयो उद्योगी पशुपति मुरारकाको विभूषण ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 27, 2023 | 12:28:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकालाई सरकारले दिएको विभूषण फिर्ता भएको भनी विषय बाहिर आएसँगै निजी क्षेत्र आन्तरिक छलफलमा देखिएका छन् । विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघभित्र यस विषयमा औपचारिक रुपमै छलफल भएको छ ।

मुरारका महासंघको विशिष्ट सदस्यसमेत हुन् । त्यसकारण यस विषयमा महासंघले स्वभाविक रुपमा बढी चासो देखाएको हो ।पूर्ववर्ती सरकारले महासंघका पूर्व अध्यक्ष मुरारकालाई संविधान दिवसको अवसर पारेर सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने घोषणा गरेको थियो । तर, गृह मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेको व्यक्तिलाई सुकीर्तिमय राष्ट्रदीप पदक दिन नहुने भन्दै मन्त्रिपरिषदमा प्रस्ताव लगेको र गृहको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरिसकेको भनी बाहिर सार्वजनकि भएको छ ।

सिद्धार्थ मिनिरलको नामबाट खानी दोहन गरेको भन्दै मुरारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघ २०७८ मा ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ विगो र दुई वर्ष कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

महासंघले आधिकारिकता खोज्यो 

सरकारले मुरारकाको विभूषण फिर्ता गरेको चर्चा सञ्चार माध्यममा आएपछि महासंघले यस विषयमा आधिकारिकता खोज्ने निर्णय गरेको छ । 

मंगलबार बसेको महासंघको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो । पदाधिकारी बैठकले यो विषयको आधिकारिकताबारे बुझ्न महासंघ सचिवालयलाई निर्देशन दिएको छ । 

‘सञ्चार माध्यममा समाचारहरु आए, त्यहीँबाट थाहा पाइयो’ एक जना पदाधिकारीले भने, ‘हाम्रो बैठकमा कुरा उठेको हो, यसबारे आधिकारिक निर्णय आएको देखिएको छैन । हल्ला मात्रै हो की, वास्तविकता हो भन्नेबारे के रहेछ भनेर बुझ्न सचिवालयलाई भनेका छौँ ।’

संविधान दिवस २०७९ का अवसरमा सरकारले उद्योगी मुरारकासहित महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई पनि सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गर्ने घोषणा गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved