एफएनसीसीआईको नेतृत्वमाथि उद्योगीको गम्भिर आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 05:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघअन्तरगत जिल्ला, नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरु पुनः आन्दोलनको मनस्थितिमा छन् । आज मात्रै काठमाडौँका केही व्यवसायीहरुले प्रदर्शनसमेत गरे । केही समय यता काठमाडौँका व्यवसायीहरु व्याजदर वृद्धिको खुलेर विरोध गरिरहेका छन् ।

आइतबार जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षहरुले महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसामू महासंघको नेतृत्वले आफूहरुको प्रतिनिधित्व गर्न नसकेको गुनासो पोख्दै आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला व्यवसायीहरु र जिल्ला नगर तथा वस्तुगत संघहरुको प्रतिनिधित्व गर्न नसकेको आरोप पनि उनीहरुले लगाएका छन् । 

‘समस्या पर्यो भनेर मौखिक रुपमा भन्दा प्रमाण के छ भनेर भन्नुहन्छ, हामी स्वयम् प्रमाण हौँ भन्दा उहाँ स्वीकार गर्न तयार हुनुहुन्न, हामीलाई विश्वास नै गर्नुहुन्न’ एक जना जिल्लाका व्यवसायी भन्छन्, ‘बैंकहरुले फेरि ब्याज बढाउन थाले भनेर प्रमाण दिँदा पनि यसबारे म गर्भनरसँग कुरा गर्छु भन्नुहुन्छ, कुरा के गर्नुहुन्छ केही थाहा पाइँदैन ।’ 

गर्भनरले उद्योगी व्यवसायीलाई अपराधी भन्न खोजे, अभिव्यक्ति सच्याइयोस् : किशोर प्रधान

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षसमेत रहेका किशोर प्रधान उद्योगी व्यवसायीले आत्महत्या र आत्मदाह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउँछन् । 

उनले महासंघको नेतृत्वले काम गर्न नसक्दा अहिले उद्योगी व्यवसायीहरु छाता संगठनविहिन जस्तो हुनुपरेको दुखेसो पनि गरे ।

‘महासंघका अध्यक्ष र पदाधिकारीहरुको क्षमता नभएको हो की’ उनले भने, ‘एफएनसीसीआइले उद्योगी, व्यवसायीको मर्कामा सरकारसँग वार्ता छलफल गरेर समाधान दिन सक्दैन भने यो संगठन किन चाहियो ?’

प्रधानले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘कर्जा तिर्दिन भन्नु अपराध हो’ भनेर बोलेको भन्दै कुनै पनि व्यवसायी उद्योगीले कर्जा तिर्दिन नभनेको दाबी गर्दै गर्भनरले यो भनाई फिर्ता लिनुपर्ने माग पनि गरेका छन् । 

‘कुनै पनि उद्योगी व्यवसायीहरुले ऋण तिर्दिन भनेका छैनन्, समय देउ मात्रै भनेका हुन्, तर गर्भनरले ऋण तिर्दिन भन्नु अपराध हो भनेर सार्वजनिक मञ्चबाट उद्योगी व्यवसायीहरु भनेका अपराधी हुन् भन्ने जसरी भाषण गरे, उनले यो भनाई सच्याउनुपर्छ’ प्रधानले आक्रोशित हुँदै भने ।

नतिजा नआउञ्जेल आन्दोलन गरौँ : तारानाथ घिमिरे

ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तनमा अध्यक्ष तारानाथ घिमिरेले माघ १ गतेबाट लगानी सहजता र ब्याज घट्छ भन्ने आश्वासन पाइएको भए पनि उल्टो ब्याजदर बढ्न थालेकाले आन्दोलनको विकल्प नभचएको बताए । 

उनले यसअघि उद्योगी व्यवसायीहरु आन्दोलित हुँदा राष्ट्र बैंकसँग भएको भनिएको सहमति कार्यान्वयन नभएकाले अब नतिजा नआउञ्जे चरणवद्ध आन्दोलन गर्नुपर्ने बताए । 

‘बैंकर्स संघ र राष्ट्र बैंकसँग एक पटक छलफलमा बसौँ, तर त्यहाँबाट कुनै ठोस निष्कर्ष नआए प्रभावकारी आन्दोलनको विकल्प छैन’ उनले भने, ‘ब्याजदर वृद्धिको विषय राष्ट्रिय इस्यु बन्न सकेको देखिएन, उद्योगी व्यवसायीहरु मात्रै यसबाट प्रभावित छन् भन्ने होइन, आम जनता प्रभावित हुने हो ।’

बैंकहरुले मानवीय संवेदनशीलता बुझ्न छाडे : कविराज खत्री

मकवानपुरको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बैंकहरुले मानवीय संवेदनशीलता समेत नबुझेको गुनासो गरेका छन् । लकडाउनका कारण शून्यमा झरेको उद्यम व्यवसाय सुरु हुने चरणमा रहेका बेला बैंक तथा वित्तीय संस्थाहरुको अराजकताका कारण धरापमा परेको उनको दुःखेसो छ । 

‘म आफैँ बिरामी भएर अहिले काठमाडौँमा छु, बैंकको तीन किस्ता ब्याज हाल्न सकिँन, अहिले किस्ता नतिरेको भन्दै मैले जग्गा भाडामा लिएर चलाइरहेको उद्योगमा बैंकले प्रहरी लगाएर ताला लगाइदियो’ खत्रीले भने, ‘बैंकले ताकेता गरिरहँदा मेरी श्रीमती मानसिक रुपमा विक्षिप्त भइसकिन्, म आफैँ बिरामी छु, उनलाई नियमित सम्झाई बुझाई गर्न सकिरहेको छैन, यो तेरो आफ्नो समस्या हो भनेर बैंकहरुले भनिरहँदा महासंघले समेत कुनै पहल गरिदिएन ।’

१०५ डीग्री ज्वरोको उपचार नपाएको जस्तो भइयो : भीष्मप्रसाद न्यौपाने 

रुपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले १०५ डिग्री ज्वरोले थलिएको विरामीलाई सामान्य भिटामिन दिए जस्तो गरी चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेर अलमल्याउने काम भएको बताएका छन् । उनले हर्जना र जरिवानाले व्यवसायीहरु थला पर्दा पनि महासंघले नदेखेको गुनासो गरे ।

‘ब्याज बुझाउन नसकेकालाई हर्जाना र जरिवानाको डण्डा चलाइएको छ, यसले समस्या झन बल्झिएको छ’ अध्यक्ष न्यौपानेले भने, ‘यस्तो हुँदा पनि महासंघले हाम्रो कुरा सुनेन ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved