हातैले भाँचिने डण्डीको खुलासा गर्ने मिडियामाथि जगदम्बाको मिथ्या आरोप, भएको के थियो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 12, 2020 | 01:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको जगदम्बा कम्पनीले ‘हातैले भाँचिने डण्डी’ बिक्रि गरेको समाचार सार्वजनिक गर्ने सञ्चार माध्यमलाई डण्डीमा खराबी देखाउन चुनौती दिने नियतले विज्ञप्ति सार्वजनिक गरेको छ । 

जगदम्बा स्टिल्स कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी सम्प्रेषण भएका समाचारले संस्थापक उद्योगीहरुको चरित्र हत्या भएको दाबी गरेको छ । विज्ञप्तिमा कम्पनीले लकडाउनको समयमा उत्पादन गरेकोमध्ये १६ एमएमको एउटा डण्डीमा मात्रै खराबी भेटिएको दाबी गरेको छ ।

कम्पनीले एउटा डण्डीमा मात्र कैफियत भेटिएको दाबी गरेपनि बिजपाटीले एक जना उपभोक्ताले घर बनाउन ल्याएका सबै डण्डीहरु हातैले पिटिपिटी भाँचिएको ‘भिडियो’ सहितको समाचार सम्प्रेषण गरेपछि जगदम्बाले गुणस्तरहीन स्टिल बजारमा बिक्रि गर्ने गरेकोबारे सर्वसाधारणलाई जानकारी भएको हो। 

हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)

भएको के हो ?

घटना १

बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले २०७६ साल माघ १६ गतेबाट घर बनाउन सुरु गरेका थिए । सामान जुटाउन समय लागेका कारण चैत्र ११ (लकडाउन अघि) उनको घर बनिसकेन । लकडाउन भएपछि घर बनाउने मजदूरहरु कम भएका कारण समयमा नै घरको निर्माण सकिएन । परिणामस्वरुप, उनले खुकुलो भएको लकडाउनमा घर निर्माणलाई तीब्रता दिए ।

घर निर्माण गर्न उनले स्वयम्भू सानो भर्याङस्थित डी.पी हार्डवेयरबाट जगदम्बाका फलामे रड किनेका थिए । गत साउन २८ गते बुधबारबाट उनले घरको तेस्रो तल्लाको ढलान सुरु गर्ने तयारी थाले। यसका लागि २ लाख ४२ हजारको जगदम्बाका डण्डी खरिद गरे। तर, तयारी गर्ने क्रममा डण्डी मर्काउदा पिटिपिटी भाँचिन थाले । कामदारले एउटा डण्डी भाँचिएपछि अर्को मर्काए, अर्को पनि उसैगरी भाँचियो । 

जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी

घटना २

आफूले विदेशमा कमाएको पैसाले ४ आना जग्गा किनेर ठड्याएको घरमा प्रयोग भएका जगदम्बाका डण्डीहरु धमाधम भाँचिएपछि श्रीकृष्ण भट्टराईले यो खबर आफूले सामान ल्याउने गरेको डी.पी हार्डवेयरमार्फत कम्पनीसम्म पुर्याए । साउन २८ गते नै कम्पनीलाई खबर गर्दा २९ गतेसम्म कम्पनीले वेवास्ता गरिरह्यो ।

निरन्तरको ताकेतापछि बल्लबल्ल कम्पनीका मार्केटिङ म्यानेजर भरत श्रेष्ठ प्राविधिक टोली लिएर बोहोराटार पुगे । तर उनी कमजोरी स्वीकार गर्न तयार भएनन् । बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए । उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड भाँचेर देखाउँदासमेत उनले कामदारलाई मर्काउन नजानेको भनेर आरोप लगाए।

  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द
  जगदम्बाको फलामे डन्डी सबै परीक्षणमा ‘फेल’

घटना ३

बिजपाटी डटकमले यो घटनाको निरन्तर ‘फलोअप’ गरिह्यो । पीडित श्रीकृष्णलाई मिडियामा नजान जगदम्बाले पटक पटक दबाब दिईरह्यो । उनलाई उनका गाउँले दाइ शंकर न्यौपानेले सहयोग गरे र बिजपाटीले अन्तिमसम्म साथ दियो । घटना नापतौल तथा गुणस्तर विभागसम्म पुग्यो । विभागका प्रतिनिधिहरु आएर डण्डीको नमूना लगे।

विभागबाट पनि बिजपाटीले यस घटनामा भएको के हो भनेर निरन्तर जानकारी लिई नै रह्यो । साउन अन्तिममा संकलन गरेको नमूनाको रिपोर्ट गुणस्तर विभागले भदौ १२ गते दियो । कम्पनीले उत्पादन गरेका १६ एमएमका फलामे डण्डी गुणस्तरहीन भएको भन्दै विभागले उत्पादन र वितरणमा रोक लगाईदियो । सँगसँगै विभागले बजारमा भएका उक्त ब्याचका डण्डी फिर्ता लिएर आफ्नो रोहबरमा नष्ट गर्न पनि निर्देशन दियो ।

जगदम्बाको १६ एमएमको टिएमटी बार फी ५०० को नमुना परीक्षण गर्दा कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत भेटिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले त्यतिबेला नै बिजपाटीलाई जानकारी दिएका थिए ।  

 शंकर ग्रुपको जगदम्बा डण्डी बिक्रिमा रोक
 भाँचिने रड बेचेको जगदम्बाले पीडितलाई भन्यो, ‘मिडियामा नजानु'


घटना ४

गुणस्तर विभागबाट गुणस्तरहीन प्रमाणित भएपछि शंकर ग्रुप आफ्नो कमजोरी लुकाउन आफुबिरुद्द उजुरी दिने उपभोक्तासँग बार्गेनिङमा लाग्यो । गुणस्तर विभागले पीडितले क्षतिपुर्ति चाहे वाणिज्य विभागलाई पत्र लेखिदिने र वाणिज्य विभागले नै क्षतिपुर्ति दिलाउने भनेपछि जगदम्बा स्टिल्सका सिइओ आनन्द नेपाल वाणिज्य विभागसम्म घटना नपुगोस् भनेर नक्सालस्थित कार्यालयमा पीडितसँग मिटिङमा बसे ।पिडितलाई कन्भेन्स गर्न पुगेका सीईओ नेपालले मिडियामा नजान र बिजपाटीलाई समस्या समाधान भयो भनेर भन्न लगाए। 

‘बिजपाटीमा हाम्रो बारेमा धेरै समाचार आईसके, यसले हामीलाई भोलिका दिनमा निकै असजिलो हुन्छ, प्लिज अब समस्या समाधान भयो भनेर तपाईले भनिदिनु पर्यो’ पीडितसँग सीईओ नेपालले भने, ‘तपाईहरुको डिमाण्ड के हो ? हामीले के गरिदिँदा समाचार आउन छोड्छ, लौन ।’

त्यसपछि पीडित श्रीकृष्णले डण्डी खरिद गर्दा भएको खर्च नगदमै फिर्ता, घरको बीमा, रडको पूर्णकालिन ग्यारेन्टी जस्ता माग राखे । उनका मागमा सीईओ नेपाल सकारात्मक हुँदै अन्तिम पटक डण्डी किन्दा भएको खर्च ५ लाख फिर्ता, घरको १० वर्षको बीमा र रडको पूर्णकालिन ग्यारेन्टी लिन तयार भए । लिखित सम्झौता नै गरेपछि श्रीकृष्ण भट्टराई कागज बोकेर फर्किए ।

घटना ५

आफ्नो कमजोरी प्रमाणित भएपछि उपभोक्तालाई क्षतिपुर्ति दिएर फकाएको जगदम्बा कम्पनीले अहिले गल्ती देखाउन चुनौतीसहित विज्ञप्ति सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो गुणस्तरहीन स्टिल बजारबाट उठाएको दाबी गरेपनि झन्डै २० वटा घर बन्ने डन्डी बिक्रि भईसकेका छन्। उसले बिक्रि गरेका ति गुणस्तरहिन डण्डीले बनेका घर सम्भवत यति बेला भत्कने पर्खाईमा छन्।   

यस्ता कयौँ गल्ती प्रमाणित भएपछि गल्ती ढाकछोप गर्न शंकर ग्रुपका मालिक शंकर अग्रवाल संविधान दिवसका दिन तक्मा पाउने सूचीमा पनि परे । आफ्नो गल्ती लुकाउन अग्रवालले मोटै रकम बुझाएर संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित हुनेको सूचीमा परेको आरोप लाग्दै आएको छ । 

‘गल्ती थिएन भने विभागबाट कसरी गुणस्तरहीन प्रमाणित भयो, हामीलाई बोलाएरै क्षतिपुर्ति किन दिन्थ्यो’ पीडित श्रीकृष्णको घर बनाएका ठेकेदार भन्छन्, ‘एउटा डण्डी मात्रै भाँचिएको भनेर विज्ञप्ति छाप्न कसरी सकेको होला ? जबकी, हामीले ल्याएका सबै डण्डीहरु मर्काउँदा पट्याङ पट्याङ भाँचिएका थिए ।’

ठगीका श्रृङ्खला

शंकर ग्रुपका मालिक शंकर अग्रवालका जेठा छोरा सुलभ अग्रवाल लकडाउनका समयमा थर्मल गनमा कालोबजारी गर्दैगर्दा रंगेहात समातिए । जगदम्बा स्टिल्स प्रा.ली. का सञ्चालकसमेत रहेका सुलभ अग्रवाल ६७ थान थर्मल गनसहित समातिएका थिए । प्रतिगोटा ३ हजार पर्नेे थर्मल गन १५ हजार रुपैयाँमा बेच्दै गर्दा पक्राउ परेका अग्रवालमाथि अहिले पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन छ । 

यही प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागले पनि चासो दिएर शंकर गु्रपका सबै कम्पनी तथा उसको सबै लगानीमाथि नै अनुसन्धान गरिरहेको छ। 

२०६८ सालमा पनि भ्याट छलीको मुद्दा लागेको शंकर ग्रुपले त्यतिबेला मोटो रकम घुस खुवाएर सफाइ पाएको आरोप अहिले पनि लाग्दै आएको छ। नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फेडरमा सबैभन्दा बढी शुल्क भुक्तानी गर्न बाँकी कम्पनीको पहिलो नम्बरमा शंकर ग्रुप छ ।

शंकर अग्रवालले आफ्नै लगानीमा करिब ४ वर्ष अघिबाट सुरु गरेको मंगला सिमेन्टमा खराबी भेटीएपछि विभागले कारबाही गरेको छ। विभागले मंगला ब्राण्डको पीपीसी सिमेन्टको बिक्रि वितरण बन्द गर्न र गुणस्तर कम भेटिएको ब्याचको सबै सामान फिर्ता गर्न निर्देशन दिएको छ।

काठमाडौँको नक्सालस्थित हिल्टन होटेल बनाउँदा बाटो भासिएपछि महिनौसम्म बाटो बन्द गराएको शंकर ग्रुपमाथि अहिले गुणस्तरमा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय चेन हिल्टनले फ्रेन्चाइज सम्झौता तोडेको बजारमा चर्चा छ।

शंकर ग्रुपको लगानी रहेको युनियन लाइफ इन्स्यारेन्सले हुँदै नभएको नाफा देखाएपछि बिजपाटीले 'युनियन लाइफको नाफा २२ नभई ८ करोडमात्रै' शिर्षकमा  समाचार लेखेको थियो । समाचार प्रकाशन भएपछि कम्पनीले प्राविधिक त्रुटी भएको भन्दै पछि वासलात (ब्यालेन्स सिट) नै सच्याएको थियो । कम्पनीले ८ करोड नाफालाई २२ करोड भनेर प्रचार गरेको थियो ।

कहिले गुणस्तरमा, कहिले कालोबजारीमा, कहिले ठगीमा राज्यका बिभिन्न निकायबाट कारबाही तथा सजाय भोगिरहेको शंकर ग्रुपले आफ्ना कर्तुतबारे लेख्ने बिजपाटी लगायतका मिडियामाथि 'चरित्रहत्या' को आरोप लगाउनु 'पानी माथिको ओभानो' बन्नु जस्तै देखिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved