‘बिग हाउस’ले महासंघलाई ‘पेवा’ ठानेको उद्योगी व्यवसायीको आरोप, ‘गेट’मै ताला लगाइदिने चेतावनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2022 | 03:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभरका उद्योगी व्यवसायीहरु बैंकको बढ्दो ब्याजदरलाई लिएर आन्दोलित छन् । पूर्वको झापादेखि पश्चिमको सुर्खेत र धनगढी सम्मका उद्योगी व्यवसायीहरु ब्यानर नै लिएर सडकमा उत्रिएका छन् । 

बैंकले कर्जाको ब्याजदर मनोमानी रुपमा बढाएको, राष्ट्र बैंक आफैँले ब्याजदर बढाउने नीति लिएको, औद्योगिक व्यवसायिक वातावरण बिग्रिदै जाँदा पनि राष्ट्र बैंकले बैंकहरुमाथि कुनै हस्तक्षेप नगरेको र चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन उद्योगी व्यवसायीमैत्री नभएको विरोधमा उद्योगीहरु आन्दोलित छन् । 

यतिसम्म की, नवलपरासीको परासी बजारमा त उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाका शाखा नै बन्द गराए भने सुर्खेतमा बैंक बहिष्कार लेखेको ब्यानरसहित प्रदर्शन गरे ।

महासंघप्रति नै गुनासो

जिल्ला जिल्लाका उद्योगी व्यवसायीहरु समस्यामा परेर आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँछन् । विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य रहेका जिल्ला नगर उद्योग वाणिज्य संघहरु आफूहरु पीडामा रहेको बताउँछन् । तर, आफूहरुको समस्यामा महासंघले कुनै ऐक्यवद्धता नजनाएको र आन्दोलनमा समेत साथ नदिएको उनीहरुको गुनासो छ ।

नेपालगन्ज, वीरगन्ज, झापादेखि सुर्खेत सम्मका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले महासंघले साना मझौला उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्न नसकेको गुनासो गरेका छन् । जिल्ला नगरमा समस्यामा परिरहेका उद्योगी व्यवसायीहरुसँग महासंघको नेतृत्व (शेखर गोल्छा र पदाधिकारी)ले एक पटक पनि छलफल नगरेको र देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरु आफ्नो क्षमताले भ्याएसम्म आन्दोलनमा निस्कदा पनि महासंघले कुनै मार्गनिर्देश नगर्दा र ऐक्यवद्धता पनि नजनाउँदा आफूहरुलाई दुःख लागेको उनीहरुको दुःखेसो छ ।

महासंघमा ‘तालाबन्दी’को चेतावनी

जिल्ला नगर र बस्तुगत उद्योग वाणिज्य संघहरुले कर्जाको ब्याजदरविरुद्द र ब्याज बढ्ने नीति लिएको राष्ट्र बैंकविरुद्द आन्दोलनको नेतृत्व गर्नुपर्ने महासंघ चुपचाप रहँदा आफूहरुलाई शंका लागेको आरोप लगाउन थालेका छन् । महासंघको नेतृत्व र पदाधिकारीहरु कतै आफू अनुकुल नीति ल्याउने लविङमा मात्रै केन्द्रित त छैनन् भन्ने शंका आफूहरुलाई लाग्न थालेको जिल्ला नगर उद्योग वाणिज्य संघहरुले बताउन थालेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल मन्सुरीले जिल्ला जिल्लामा आन्दोलन हुँदा पनि महासंघ चुपचाप बसेको भन्दै महासंघ विरुद्द नै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले देशैभरका उद्योगी व्यवसायी मर्कामा परेर सडकमा उत्रिँदा समेत महासंघ मौन बस्नु आपत्तिजनक भएको भन्दै देशैभरबाट उद्योगी व्यवसायी जम्मा भएर महासंघको गेटमै आन्दोलन गर्ने चेतावनी दिए ।

‘हाम्रो आन्दोलनको नेतृत्व गर्नुपर्ने महासंघ नै चुपचाप छ, महासंघ चुपचाप बस्नु भनेको जिल्ला नगर उद्योग वाणिज्य संघलाई बेवास्ता गर्नु हो’ अध्यक्ष मन्सरीले भने, ‘तिहारपछि पनि महासंघ यसैगरी चुप बसिरहे महासंघको मूल गेटमै ताला लगाउँछौँ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपालले बैंकहरुले सेवा शुल्क अत्याधिक लिने गरेको र राष्ट्र बैंकले पनि बैंकहरुप्रति उदार भएर सर्कुलर जारी गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले आधार दरमा ५० प्रतिशत प्रिमीयम थप गर्दा कालोबजारी ऐन अनुसार बैंकहरुलाई किन कारबाही नहुने भन्दै प्रश्न पनि गरे । 

उनले महासंघले ७ वटै प्रदेशका जिल्ला उद्योग वाणिज्य संघहरुलाई काठमाडौँमा बोलाएर भेला गर्नुपर्ने र महासंघले जिल्ला उद्योग वाणिज्य संघहरुको अभिभावक भएको अनुभूति दिलाउन सक्नुपर्ने बताए ।

महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी व्यवसायी उमेश डालमियाले महासंघले ‘अल्टिमेटम’ दिएर राष्ट्र बैंकविरुद्द आन्दोलन गर्नुपर्ने बताएका छन् । 

‘महासंघले नेतृत्व गरोस्, हामी जिल्ला जिल्लाबाट उद्योगी व्यवसायी उताछौँँ, गर्भनरलाई घेर्छौँ’ उनले भने ।

धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्रीले देशैभरका उद्योगी व्यवसायीहरुले सामूहिक रुपमा एकैठाउँमा आन्दोलन गर्नुपर्ने बताएका छन् । 

‘महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई तताउन सकेन, आफैँ तातेका उद्योग वाणिज्य संघहरुलाई पनि बेवास्ता गरियो’ खत्रीले भने, ‘साना उद्योगी व्यवसायीलाई महासंघले हेर्छ भन्ने सन्देश दिन महासंघले सक्नुपर्छ ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्यमण कँडेलले अब तिहारपछि व्यवसायी र उद्योगीसँगै आम सर्वसाधारण पनि सडकमा आउनुपर्ने बताए । अहिले उद्योगी व्यवसायीलाई ब्याजदर र चालु पूँजी कर्जाको मार्गदर्शनले समस्या पारिरहेको र यसले रोजगारी र मजदूरको बेहाल बनाउने भन्दै यस समस्या समाधानका लागि केवल उद्योगी व्यवसायी मात्रै नभई सर्वसाधारण पनि आन्दोलनमा सहभागी हुने गरी महासंघले नेतृत्व लिनुपर्ने उनको भनाई छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले सडकमा नआई समस्या समाधान नहुने देखिएको भन्दै महासंघलाई सबै खाले उद्योगी व्यवसायीको आन्दोलनको नेतृत्व लिन सुझाव दिएका छन् । तर, लामो समयदेखि उद्योगी व्यवसायीहरु मर्कामा परिरहँदा पनि महासंघले समस्या समाधानका निम्ती कुनै अगुवाई नगरेको उनको आरोप छ ।

‘महासंघले कुनै अगुवाई गरेन, अब प्रदेश महासंघले भएपनि लिड गर्नुपर्यो’ उनले भने ।

यो पनिः
बैंकविरुद्द उद्योगी व्यवसायी सडकमाः बैंकर्स संघ भन्छ, ‘चिन्तित छौँ’, राष्ट्र बैंक भन्छ, ‘नआत्तिनु’

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले व्यवसायिक हकहितको विषयमा महासंघ बोल्दै नबोलेको गुनासो गरे । उनले महासंघले जिल्ला नगरका व्यवसायीहरुको समस्यालाई समस्या नै होइन जसरी कानमा तेल हालेर बसेको आरोप पनि लगाए ।

‘महासंघ आफूले नेतृत्व नलिने हो भने हामीलाई आफैँ अग्रसर भएर आन्दोलन गर भन्नुपर्यो, हामी यो क्षेत्रका उद्योगी व्यवसायीहरु मिलेर पृथ्वी राजमार्ग बन्द गर्नुपरे पनि बन्द गर्न तयार छौँ’ उनले भने ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले ‘महासंघका ‘लिडर’हरु आफैँ बैंकिङ क्षेत्रको लगानीकर्ता भएकाले साना मझौला उद्योगी व्यवसायीको पक्षमा बोल्न नसकेका हुन् की’ भन्दै सन्देह समेत प्रकट गरेका छन् । उनले जिल्ला तहमा आन्दोलन भएपनि अन्तिममा राष्ट्र बैंक वा सरकारी पक्षले वार्तामा बोलाउँदा संवादको टेबलमा बस्ने भनेको महासंघकै नेतृत्व भएकाले सुरुमा महासंघको नेतृत्वलाई दबाब दिनुपर्ने आवश्यकता औल्याएका छन् ।

उदयपूर उद्योग वाणिज्य संघकी उपाध्यक्ष मुना कटुवालले पनि महासंघले अहिलेको समस्या समाधानका लागि जिल्ला जिल्लाका उद्योगी व्यवसायीले गरिरहेको आन्दोलन र प्रदर्शनमा ऐक्यवद्धता जनाएर तिहार लगत्तै आफैँले आन्दोलनको नेतृत्व नलिए जिल्ला नगरका उद्योगी व्यवसायीहरुले महासंघमै ताला लगाउने चेतावनी दिइन् । 

व्यवसायी सन्जय कुमार साहले पनि मधेश प्रदेश महासंघको नेतृत्वमा वीरगञ्जमा उद्योग व्यवसायको क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि दबाब स्वरुप निकालेको र्यालीमा पनि महासंघले कुनै चासो नदेखाएको गुनासो गरे ।

‘वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष बैंकर भएर महासंघले उद्योगी व्यवसायीको समस्यामा चासो नदेखाएको हो ?’ साहले प्रश्न गर्दै भने, ‘अब प्रश्न महासंघतिरै सोझिएको छ ।’

प्रदेश अध्यक्ष भन्छन्, ‘बिग हाउसले महासंघलाई निजी संगठन ठाने’

महासंघको प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल जिल्ला र प्रदेशका गतिविधिमा महासंघले कुनै चासो नदेखाएको आरोप लगाएका छन् । उनले अहिले पनि आफूलाई कर्पोरेट हाउस भन्ने ‘बिग हाउस’हरुले सहजै कर्जा पाइरहेको र बैंकमा उनीहरुकै लगानी रहेकाले साना मझौला उद्योगी व्यवसायीहरु झन झन पीडित बन्नु परिरहेको गुनासो गरे ।

‘महासंघका कुन पदाधिकारीले के भन्छन् भन्ने भन्दा पनि आम व्यवसायीहरुका कुरा सुनौँ’ उनी भन्छन्, ‘बिग हाउसहरुले त अहिले पनि लोन (कर्जा) पाइरहेकै छन्, उनीहरु आफूलाई समस्या नपरी बोल्ने वाला छैनन् ।’

मधेश प्रदेशका अध्यक्ष गणेश लाठले चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन र निरन्तर बढिरहेको बैंकको ब्याजबारे ‘स्ट्रङ’ आन्दोलन गर्नुपर्ने आवश्यकता औल्याए । उनले यस विषयमा महासंघको आवाज कमजोर भइरहेको पनि आरोप लगाए ।

‘हामी प्रदेश अध्यक्षहरुलाई जिल्ला नगरका अध्यक्षहरुबाट प्रेसर छ, जिल्ला नगरका अध्यक्षहरुलाई उद्योगी व्यवसायीहरुबाट प्रेसर छ, तर महासंघ कमजोर भइदियो’ अध्यक्ष लाठ भन्छन्, ‘महासंघले कुनै आन्दोलनको अगुवाई, नेतृत्व गर्दैन भने सबै जिल्ला नगरबाट एउटै ब्यानर बनाएर भएपनि अब स्ट्रङ आन्दोलन गर्नुपर्छ, हामी र्याली निकाल्न, परेड खेल्न जे जे गर्नुपरे पनि तयार छौँ ।’

यसअघिः
निजी क्षेत्रका ३ ठूला संगठनका अध्यक्षलाई बोलाएर गर्भनर अधिकारीले ब्याजदर बारे के भने ?

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved