एउटा साबुनले चिनाएको 'ओखती', अहिले अमेरिकासम्म हुन्छ निर्यात

सीता बुढाथोकी

सीता बुढाथोकी

Mar 18, 2024 | 11:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ओखती’ नाम हामी सबैले सुनेका हुन्छौँ । सुनेका मात्र छैनौँ, कुनै न कुनै रुपमा उपभोग पनि गरेका छौँ । आज हामीले पनि जडिबुटीजन्य उत्पादनका लागि ख्याती कमाएको ओखतीकै चर्चा गर्न खोजेका छौँ ।

हामीले ओखती साबुन बजारमा धेरै देख्छौँ । कतिपयले यसको उपभोग पनि गरिरहेका छौँ । यसको उत्पादन कसले गरेको होला ? यसमा के के चिजहरु मिसाइन्छ होला ? यसको प्रयोग गरेपछि के हुन्छ ? लगायतका जिज्ञासामा मानिसहरुमा छ । यी जिज्ञासाको सम्बोधन हुने गरि आज हामी ओखती ब्राण्डको उत्पादक कम्पनी श्री जयकाली जडिबुटी उद्योग प्रा.लि.को विषयमा चर्चा गर्दैछौँ ।

ओखती साबुन सन् २००९ मा स्थापित श्री जयकाली जडिबुटी उद्योग प्रा.ली.को उत्पादन हो । जयकाली जडिबुटीले ओखती ब्राण्डको हर्बल साबुन, स्याम्पु र फेस वासको उत्पादन र वितरण गर्दै आएको छ । 

जयकाली जडिबुटी उद्योग शोभाकान्त बस्याललले २०६५ सालबाट सञ्चालन गरेका हुन् । सुरुमा यो कम्पनी सञ्चालन गर्दा यसको नाम जयकाली जडिबुटी उद्योग मात्र थियो । पछि अरु पनि साझेदारहरु थपिएपछि कम्पनीको नाम श्री जयकाली जडिबुटी उद्योग प्रा.ली. राखिएको शोभाकान्त बताउँछन् । 

‘२०६५ सालमा जयकाली जडिबुटी उद्योग सञ्चालन गरेको थिएँ, विस्तारै अरु पार्टनर पनि यसमा जोडिन थाल्नु भएपछि २०७१ सालमा यसको नाम फेरेर श्री जयकाली जडिबुटी उद्योग प्रा.ली. राखिएको हो’ उनले स्मरण गरे ।

श्री जयकालीले विभिन्न प्रकारका साबुन, चिया, दाँत माझ्ने मञ्जन, लिपबाम, भिक्स वयल, हेयर वयल, पेन्टिलिफ वेयल र टिमुरको वेयल उत्पादन गरिरहेको छ । 

विभिन्न रोग निको पार्न सफल कम्पनी

श्री जयकालीका सामान बनाउन शुद्ध र प्राकृतिक सामग्रीहरू मात्र प्रयोग गरिन्छ । मानिसले यसका उत्पादनलाई छालासम्बन्धी रोगहरू निको पार्न प्रयोग गर्दै आएका छन् । साथै, छालालाई मुलायम राख्न, चम्किलो बनाउन पनि जयकाली जडिबुटीका सामानहरु प्रयोग हुँदै आएका छन् । 

प्रयोगकर्ताहरुले यसका उत्पादन प्रयोग गरेपछि शुद्धता र ‘शून्य साइड इफेक्ट’को प्रशंसा पनि गर्दछन् । जसका कारण यसका जडीबुटीजन्य उत्पादनहरू छाला रोग निको पार्न, छालाको स्वास्थ्य र मानवीय ऊर्जा बढाउन प्रयोग भइरहेका छन् ।

अन्र्तराष्ट्रिय बजारमा निर्यात 

यसका उत्पानहरु डिलर, किराना पसलहरु, कस्मेटीक पससहरुबाट त बिक्रि हुन्छ नै, भाटभटेनी जस्ता सुपर मार्केटमा पनि उपलब्ध छन् । साथै, मलेसिया, दुबई, कतार, अमेरिका, चीन जस्ता ठूला अर्थतन्त्र भएका देशमा समेत निकासी हुँदै आएको छ । 

कोरोना भाइरसको महामारी सुरु हुनुपूर्व चीनमा जयकालीका सामानहरुको माग उच्च थियो । अहिले चीनबाट आउने माग केही कम भए पनि अन्य देशमा यसको निकासी बढिरहेको छ । 

‘लकडाउन हुनुभन्दा अगाडीसम्म चीनबाट धेरै राम्रो माग आउने गरेको थियो, लकडाउनपछि त्यहाँबाट आउने माग केही घटेको छ’ शोभाकान्त भन्छन्, ‘अहिले अमेरिकाबाट धेरै माग आउने गरेको छ ।’

नेपालका विभिन्न ठाउँबाट कच्चा पदार्थ आयात

उद्योग भन्नसाथ कच्चा पदार्थमा विदेशबाट ल्याएर यहाँ केवल प्याकिङ मात्रै गर्ने हो भन्ने मानसिकता छ । नेपालको अधिकांश क्षेत्र ग्रामिण भएकाले ग्रामिण भेगबाट कच्चा पदार्थ संकलन गर्न समस्या भएकाले उद्योग चलाउनेहरु विदेशबाटै कच्चा पदार्थ ल्याउने गर्दछन् । तर, श्री जयकालीले जडिबुटीले भने नेपालका विभिन्न ठाउँबाट कच्चा पदार्थ ल्याउने गरेको छ । 

सञ्चालक शोभाकान्तका अनुसार जयकाली जडिबुटीले साबुन, स्याम्पु लगायतका वस्तु उत्पादन गर्न चिउरीको घिउ, सिटोनेला, लेमन ग्रास, रोजमेरी, अदुवा, बेसार, मेन्था, तुलसी, मसलाको तेल, इन्टर लेवल ग्रास, टिमुरको तेल, दालचिनी, तेजपत्ता आदिको प्रयोग गर्दै आएको छ । धेरै जस्ता कच्चा पदार्थ पश्चिमबाट आउने गरेका छन् । यी सबै नपाली जडिबुटीहरु हुन् । 

नरिवलको तेल भारतबाट र ल्वाङको तेल मलेसियाबाट आउने गरेको शोभाकान्तले बताए । 

‘नेपालमा धेरै नरिवल नपाउने भएकाले नरिवलको तेल भारतबाट आयात गरिरहेका छौँ,’ उनले भने । 

परिवारले सरकारी जागिर खानु भन्थे तर भए उद्यमी

चितवनका शोभाकान्त सानैदेखि पढाइमा अब्बल थिए । उनको सानैदेखिको सपना थियो उच्च शिक्षा आर्जन गरेपछि सेनामा भर्ती हुने । यसै अनुरुप कक्षा १२ सम्म गाउँमा नै पढेर आफ्नो सपना पुरा गर्न उनी २०५१ सालमा काठमाडौँ छिरेका थिए । काठमाडौँ आएपछि उनले जागिर खानेहरुको जीवन कष्ठकर देखे । त्यसपछि उनी सेना बन्ने सपना पाल्न छोडे र केही न केही उद्यम व्यवसाय गर्नुपर्छ भनेर सोच्न थाले । 

जयकाली सञ्चालन गर्नु भन्दा पहिला शोभाकान्त अरुबाट सामान किनेर नेपालभर बिक्रि गर्न जान्थे । यसलाई यसरी पनि भनौँ, सामान बिक्रि गर्ने बहानाले उनी देशभरीका बजार बजारमा डुल्थे र बजारमा के चिजको माग बढी छ भन्ने अनुसन्धान गर्थे । यसरी देशभरी डुलेपछि उनले बजारमा हर्बलका समानको आवश्यक्ता देखे । यसपछि नै नले आफ्नै कम्पनी खोल्ने सोच बनाएका हुन् । 

‘व्यवसाय गर्नको लागि मसँग केही ज्ञान थिएन, मैले मार्केटिङमा व्यासलर्स सम्मको अध्ययन गर्नेबारे सोचेँ, र गरेँ पनि । त्यसपछि मार्केटमा के को माग बढी छ भनेर बुझ्नको लागि मैले होेलसेलबाट कस्मेटिक समानहरु किनेर बेच्न बजारमा हिड्न थालेँ’ उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘बजारमा हर्बलको माग धेरै भएकोले मेले साबुनको उद्योग खोल्ने बारे सोचेँ ।’

व्यवसाय त गर्ने भए तर उनलाई आमा, बुबाले सरकारी जागिर खानुपर्छ भन्न छोड्नु भएन । मध्यम वर्गको परिवारको सपना हुन्छ, छोरो बढेर पढेर सरकारी जागिरे भइदेओस् । उनका आमा बुबाको पनि चाहना यहीँ थियो । तर, उनी व्यवसाय गर्नुपर्छ भन्ने अन्तिम निष्कर्षमा पुगिसकेका थिए । उनको निष्कर्षमा श्रीमतीले साथ दिइन् । 

‘म बुवा आमासँग सल्लाह लिन्थेँ, उहाँहरुले भनेका कुराहरु सुन्थेँ पनि तर, आफूलाई मन लागेको कुरा गरिहाल्थेँ’ उनी भन्छन्, ‘यसकारण मलाई उद्यम व्यवसाय गर्ने सोच पलाइसकेको थियो, मैले सुरु पनि गरिहालेँ । यसकारण मलाई व्यवसायमा प्रवेश गर्न धेरै गाह्रो भएन ।’ 

सुरुमा २ लाख लगानीमा शोभाकान्तले जयकाली उद्योग सञ्चालन गरे । उद्योग सञ्चालन गर्दा ५ जना कामदार राखे । सुरुमा चुनैतीहरु धेरै भए पनि बजारको ज्ञान भएकोले उनले खासै ठूला र उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने तहका समस्याहरु भोग्नु परेन ।

उद्योग सञ्चालन गरेपछि उनले सुरुमा बजारमा आफैँ हिडेर सामान बिक्रि गरे । काम गर्दै जाँदा एकदिन अमला साबुनका संस्थापक विष्णु पाण्डेसँग शोभाकान्तको भेट भयो । पाण्डेको अमला साबुन उद्योग बन्द भइसकेको थियो । त्यसपछि शोभाकान्त र विष्णु मिलेर सँगै काम गर्ने निर्णयमा पुगे । यसपछि दुबै जना मिलेर श्री जयकाली उद्योग प्रा.ली. सञ्चालनमा ल्र्या । 

उत्पादनमा विष्णुको आईडीयाले काम हुन थाल्यो । मार्केटिङमा शोभाकान्त छँदै थिए । कामकै शिलशिलामा श्री जयकाली जडिबुटी उद्योगमा राजिब पाण्डे पनि जोडीए । 

ओखती नामले चिनिएको कम्पनी 

काम गर्दै जादा ओखती नामक एउटा साबुन बनाएका थिए । त्यो साबुन धेरैले मन पराए । त्यसपछि श्री जयकालीबाट उत्पादन हुने हरेक सामानमा ओखतीको लोगो राख्न थाले ।

यसपछि २०७२ सालमा उनीहरुले ओखती नेपाल नामक कम्पनी दर्ता गरे । तर, अहिलेसम्म यसका उत्पादन बजारमा आएका छैनन् । ओखती नेपालका धेरै सामानहरु बजारमा आउने क्रममा छन् । २०८१ सालको नयाँ वर्ष भन्दा अगाडी यसका सामानहरु बजारमा ल्याउने लक्ष्यमा रहेको शोभाकान्त बताउँछन् । 

‘नयाँ वर्षभन्दा पहिला हामीले ओखतीका उत्पादनलाई बजारमा ल्याउने छौँ, विस्तारै श्री जयकालीलाई हामीले ओखती नेपालमा नै परिणत गर्दै छौँ’, उनले भने, ‘अब आउने ४० प्रकारका सामानहरु सबै ओखती नेपालबाट नै आउन लागेका छन् । विस्तारै नयाँ तरिकाले चलिरहेका छौँ ।” 

श्री जयकालीका सामानहरु बजारमा गए पनि उपभोक्ताले ओखती नेपाल भनेर नै चिन्ने गरेको उनी बताउछन् ।

२ लाखबाट सुरु भएको जयकालीमा पुग्यो ३ करोड लगानी 

शोभाकान्तले जयकाली स्थापना गर्दा २ लाख रुपैयाँ लगानी गरेका थिए । सुरुमा उनले साबुन बनाए । यो उद्योग स्थापना भएको १६ वर्ष भइसकेको छ । १६ वर्षसम्म यसमा लगानी थपिदै अहिले ३ करोड पुगेको छ । 

यो उद्योको उत्पादन क्षमता भने मासिक १० टन रहेको छ । कारोबार पनि राम्रो नै भइरहेको शोभाकान्तले बताए । 

‘उत्पादन जति पनि गर्न सकिन्छ, बजार अनुसार घटबढ भइरहन्छ,’ उनले भने, ‘तर, कममा पनि १० टन त उत्पादन हुन्छ नै, त्यति चाहीँ बजारमा माग आइरहन्छ । हामीले आम्दानीलाई भन्दा पनि क्वालीटीलाई ध्यानमा राखेर काम गर्ने गरेका छौँ ।’

महिलालाई पनि व्यवस्थापकीय र नेतृत्वदायी भूमीका दिनुपर्छ भन्ने मान्यता राख्ने शोभाकान्तले व्यवहारमा पनि आफ्नो मान्यता स्थापित गराएका छन् । हाल कम्पनीको अध्यक्ष पनि शोभाकान्तकी श्रीमती चाँदनी तिवारी छिन् । कम्पनीमा ९० प्रतिशत कामदारहरु पनि महिला नै छन् । 

उपभोक्ताले प्रयोग गरेपछि दिने प्रतिक्रियाले पनि सकारात्मक उर्जा मिल्ने शोभाकान्तको अनुभव छ । उच्च गुणस्तरको सामान दिएपछि उपभोक्ताले पनि सोही अनुसारको प्रशंसा गर्दा उनी खुशी छन् ।

‘क्वालीटी राम्रो भएर पनि उपभोक्ताले हामीलाई माया गरेका हुन् जस्तो लाग्छ, किनकी एउटा उद्योग चल्नको लागि एक दुई दिनको मायाले मात्र पनि हुँदैन, तर एक चोटी हाम्रो सामान प्रयोग गर्ने मानिसले सयौ चोटी हाम्रो सामान प्रयोग गर्नु भएको छ, यो नै हामीप्रतिको विश्वास हो’ उनी प्रफुल्ल मुद्रामा उपभोक्ताहरुलाई साधुवाद भन्छन् ।

उनका अनुसार अहिले नेपालीहरुले स्वदेशी उत्पादनको प्रयोग गर्न थालेका छन् । नाकाबन्दी पछाडी बाहिरबाट सामान नआएपछि नेपाली उत्पादन धेरैले प्रयोग गरेका थिए । त्यसपछि नेपाली सामानप्रति उपभोक्ताको विश्वास बढेको उनको अनुभव छ । 

श्री जयकालीमा १० रुपैयाँदेखि १२५ सम्मका साबुनहरु रहेका छन् । कम्पनीले २० प्रकारका साबुनहरु उत्पादन गर्छ । यीमध्ये उपभोक्ताले ओखती फेस सोप नामक साबुन धेरै मन पराएका छन् । यी सबै सामानहरु काठमाडौँमा नै बन्ने गरेका छन् । 

५ जना कामदारबाट सुरु भएको जयकाली श्री जयकाली हुँदासम्म ८० जना पुगेका थिए । तर, कोरोनाका कारण लकडाउन भएपछि घर गएकामध्ये आधा जति फर्किएनन् । अहिले ४० जनाले उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन् । 

सरकारले अन्तःशुल्क लगाएपछि व्यापारमा परेको असर

कोरोनाले पनि व्यापारमा धेरै असर गरेकै थियो । अहिलेको आर्थिक मन्दीले पनि व्यापारमा असर पारिरहेको छ । तर, यस्तो मर्काकै बीचमा सरकारले अन्तःशुल्क लगाइदिएको छ ।

‘राज्यले साना उद्योगहरुलाई अन्तःशुल्क हटाईदिए काम गर्न सहज हुने थियो’ उनी भन्छन् ।

आफ्नै उच्च स्तरीय प्रयोगशाला

निकै परिश्रमी स्वभावका शोभाकान्त र उनको टिम बजारमा प्रतिस्पर्धा बढ्यो भने मात्रै उपभोक्ताले गुणस्तरीय सामान पाउने कुरामा विश्वास गर्छन् । अहिले बजारमा बढिरहेको प्रतिस्पर्धाले आफूहरुलाई पनि बढीभन्दा बढी गुणस्तरीय वस्तु उत्पादन गर्न प्रेरित गर्ने उनको बुझाई छ ।

‘जति धेरै प्रतिस्पर्धा भयो त्यतिनै  धेरै मानिसले त्यसको गुणस्तर पनि ख्याल गरेका हुन्छन्’, उनी भन्छन्, ‘आफु पनि मजबुद हुँदै गइन्छ । एउटा मात्र भयो भने मानिसलाई थाहा हुँदैन, जस्तो भए पनि खरिद गर्छन् । यसकारण जति धेरै प्रतिस्पर्धा हुन्छ, त्यति नै धेरै गुणस्तरीय सामान उत्पादन हुन्छ ।’

श्री जयकालीले आफ्ना उत्पादनहरू सम्बन्धी विभिन्न अनुसन्धान गर्न उच्च स्तरीय सूक्ष्म जीवविज्ञान प्रयोगशाला निर्माण गरेका छ । यो ल्याबमा विशेषज्ञ अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान तथा परीक्षण गर्दछन् । जसले उत्पादन प्रोटोकलहरू पूरा गर्न र नसबंदी प्रक्रियाहरू मान्य गर्न मद्दत गर्दछ । 

‘अनुसन्धान बाहेक प्याकेजिङले हर्बल उत्पादनहरूमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ, हामी उत्पादनहरू लपेट्न मेडिकल ग्रेड र गैर–विषाक्त सामग्रीहरू प्रयोग गर्छौँ’ शोभाकान्तले भने ।

नेपाली सामान प्रयोग गर्न अनुरोध

शोभाकान्तका अनुसार श्री जयकालीले गर्मी महिनामा धेरै सामानहरु बिक्रि गर्छ । नेपालीलाई नेपाली उत्पादन खरिद गर्न पनि उनले अनुरोध गरेका छन् । नेपालीले नेपाली वस्तु प्रयोग गर्ने हो भने नेपाली युवाले विदेश जानै नपर्ने र रोजगारीका अवसरहरु यहीँ सिर्जना हुने शोभाकान्तको भनाइ छ । 

कृषिसँग जोडिएको उद्योग भएकाले गाउँ गाउँमा जडिबुटीजन्य खेतीका लागि कृषि कर्जा नपुगेकोमा उनी चिन्तित पनि देखिए । गाउँका किसानहरुले कृषि कर्जा पाउने हो भने कृषि उपज र यस्ता जडिबुटीजन्य उद्योगलाई चाहिने कच्चा पदार्थहरुको उत्पादन बढ्ने थियो भन्ने उनलाई लागिरहन्छ । तर, बैंकका ठूला पदका मानिसले कृषि कर्जालाई आफू र आफन्तका फर्ममा लगाउने गरेको उनको आशंका छ । सरकारले यस्तो कुरामा ध्यान नदिएको पनि उनको गुनासो छ ।

‘सरकारबाट केही अपेक्षा छैन, किनकी देशको नेतृत्व गर्ने मानिस नै राम्रा छैनन्, मान्छे राम्रा नभए पछि युवाहरु विदेशिनु परेको छ’ उनी आफ्ना भनाइ बिट मार्दै भन्छन्, ‘नेताले गरेको भ्रष्टाचारले देशको विकास बजेट सिधिन्छ, रोजगारी सिर्जना नहुँदा बेरोजगारीको संख्या बढ्छ, दिन प्रतिदिन् देशको लोन बढ्दै गएको छ । त्यसैले राज्यको आश गर्नु भन्दा पनि आफ्नो खुट्टामा उभिन सिक्नुपर्छ ।’ 

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

उद्यमशीला एपिसोड ६ : २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

उद्यमशीला एपिसोड ७  : नेपालमा नेपाली जुत्ताको जग बसालेका होमनाथ

उद्यमशीला एपिसोड ८: जसले नेपाली चियालाई अमेरिकामा चिनाए, विश्वभर पुर्याउने लक्ष्य

उद्यमशीला एपिसोड ९: बुबाले सुरु गरेको ‘राइनो लेदर्स’ हाँकिरहेकी अलिशा, ७ देशमा बेच्छिन् नेपाली उत्पादन

उद्यमशीला एपिसोड १०: हाइलाइफ सफल पारेर ४ युवाको 'पहाडी' यात्रा, पहाडमा उत्पादन हुने सबै कृषि उपज बिक्रीको लक्ष्य 

उद्यमशीला एपिसोड ११ : कोक्रोमा: अपरिचित व्यक्तिको ५ हजार डलरले 'यु टर्न' लिएको एउटा स्टार्टअप


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved